हुन त यो गन्थन लेखिरहनु जरुरी थिएन । तर भोलीका दिनमा आँफैलाई फर्केर हेर्दा हुने रमाइलो र मनका गुनासाहरु रित्याउने माध्यम यो लेख हुनसक्छ भन्ने लागेर आफ्नै गन्थनहरु लेख्ने जमर्को गरेको छु । यसपटक अर्थात २०८२ को तिहार हजुरआमा बित्नु भएको कारण मनाउन मिल्ने थिएन । तिहार ः विशेष लक्ष्मीपूजा र भाइटीका । केटाकेटीमा देउसी भैलो, लक्ष्मीपूजा र भाइटिका सबै रमाइलै जस्तो लाग्थ्यो । आफ्नै दिदीबहिनी नभएको कारणले पनि आमाले कतै न कतैबाट टीका लगाउने जोहो गरिदिनुहुन्थ्यो । सहजता र समयअनुसार फुपु, ठूलोबाको छोरी, सानीमाको छोरी कता कता टीका लगाएको याद छ सानोमा । तर कहिले कसको त कहिले कसको स्वार्थ नमिलेर टीका लगाउने क्रमहरु भंगजस्तो भयो । अलिक ठूलो भएपछि केहि पटक अन्य दिदीबहिनीहरु पनि बने बनाइए । कतै एकै बर्ष त कतै लामो समयसम्म टिका लगाएपनि दाजुभाई वा दिदीबहिनीमा हुने खालको लगाव भएन धेरैपटक लेनदेन वा करमा परेर टिका लगाउने र लगाईमाग्ने जस्तो अलिनो अनुभव भयो ।
आखिर जसो नै भएपनि यसपटक तिहार नभएकोले परिवार नै तिहारभर घुम्ने निश्चय गरियो । बुढाबुढी दुईजना र सानी ५ बर्षकी छोरी झोला कसेर गाडीमा घुम्न निस्कने भयौँ । गाडी आँफै चलाउने भएको र आमाछोरीलाई (पवित्रा र राजुल) अगाडीको एक सिट भए पुग्ने भएकोले पछाडीको सीट खाली राखेर कार्तिक २ गते बिहान ७ बजे घरबाटै निस्क्यौँ । टाटाको पन्च नामको इलेक्ट्रीक गाडीमा दुई पटक दोलखा भन्दा अन्त टाढाको यात्रा नगरेको मलाई मनमा अलिकती डर, अलिकती उमंग र अलिकती कौतुहलता थियो ।
यसपटकको यात्रामा एउटा कुरा तय भएको थियो : सकेसम्म स्थानीय स्वाद र खानाहरु खोजेर खाने ।




