“गोपाल आज बौलाहा यात्रामा निस्कम् ।” – मैले गोपाललाई फोन गरेँ । चलचित्रको कार्यशालाबाट भर्खरै घर फर्किएका गोपालको लागि यो प्रश्न अस्वाभाविक थियो ।
“लौ कता जाने यार ।” – गोपालले सोध्यो ।
“ठेगान छैन यार, जे जे पागलपन गर्न सकिन्छ गर्ने गरि जाउँ । भिजौँ, अझै गाडीमा होईन मेरै स्कुटीमा जाने । शायद दोलालघाट तिर गइन्छ की ।” – मैले योजनाको हलुका खाका तेस्र्याएँ ।
“ल मेरो क्लास छ यार ।”
“ह्या गोली मार्देउ क्लास स्लास ।”
“हैन यार बरु क्लास सकाएर जाने । म साँढे दुई बजे स्वयम्भुबाट हिड्न सक्छु । म कक्षा सकिने बित्तीकै फोन गर्छु नि ।”
म दोधारमा र बिना योजना चुपचाप बसिरहेको छु घरमै ।
“केहि बिशेष छ कि त्यतीकै हो बुढा मान्छे ? मलाई अलिक अप्ठेरो छ यार ।” – मोबाईलको अनुहारमा सन्देश देखियो दिउँसो १:२३ मा ।
“ठिकै छ पछि जाउँला नी त ।” – मेरो योजना तुहियो ।
“म एक घण्टामा कल गर्छु है ।” – गोपालको सन्देश पढेपछि म चुपचाप ओछ्यानमा ढल्किएँ ।
करिब तीन बजे मोबाईलको आवाजले ध्यान तान्यो । गोपाल आउने भएछन् । म उठेर तयार भएँ त्यही बिचमा गोपालले सातदोबाटो आईपुगेको सन्देश पठाए । हतार हतार म कोटेश्वर निस्केँ । चोकमा गएर पर्खेँ तर झण्डै आधा घण्टा कुराए गोपालले मलाई । भन्थे उनी पनि अर्को तर्फ अर्थात पारी आधा घण्टा नै कुरे रे ?
पछाडी ल्यापटप सहितको झोला बोकेर लामालामा गुन्द्रुके कपालका धनि गोपाल सबैको ध्यान तान्दै चोकमा आईपुगे ।
हामी बाटो लाग्यौँ करिब करिब सूर्यबिनायक पुगेपछि याद भो सवारीका कुनै कागजपत्र थिएन न त सवारी अनुमतिपत्र नै अनि हामी बन्यौ कुनै परिचय पत्र बिनाका । हाम्रो परिचय फगत हाम्रो अनुहार । पागलपनको यात्रा शुरु भइसकेको पत्तो पायौँ हामीले ।
“जहाँ समाउँछ त्यहीँ छोड्ने पछि गएर ल्याउने । अब के गर्नु त ?” – आपदलाई हलुकासँग लिदैँ बोलेँ म ।
बाटोमा पानी परेको छ साथमा रेनकोट छ तर ओढेका छैनौँ । भक्तपुरमा पेट्रोल भरेर हामी साँगा हुँदै बनेपा कटेर धुलिखेल पुग्यौँ । साँच्चै भन्दा बिपी राजमार्गको बारेमा धेरै सुनेर पनि नमोबुद्ध जानेबाटोबाट नकटेको म नेपालथोकसम्म पुग्न चाहन्थेँ । नयाँ ठाउँ नया यात्रा, नयाँ मान्छे मेरो यात्राको उदेश्य थियो । गोपाललाई नेपालथोक र भकुण्डेबेशींको बारेमा बताउँदै गएको थिएँ । गोपालको मन दोलालघाट जुन शुरुको योजना थियो त्यतै जाने थियो । म यात्रालाई बिना योजना सनकको यात्रा बनाउन चाहन्थेँ त्यसैले पनि नेपालथोक रोजेको थिएँ ।
