Wednesday, April 10, 2024

कस्तो विद्यालय छान्ने ?

     अचेल बिहान, दिउँसो अथवा साँझ आउने धेरै फोनहरु साथीभाइका हुन्छन् । कतिपय साथीभाइहरु त लामो समयदेखि देखभेट नभएकैले पनि मानसपटलबाट ओझेल परिसकेका हुने रहेछन् । अलिकति लाज, अलिकति अप्ठेरो र धेरै खुशी समेटेर कुराकानी हुँदै गर्दा साथीहरुको एउटै साझा जिज्ञासा हुन्छ : बच्चालाई कहाँ भर्ना गर्ने होला यार ? जिवनको युवाकाल अर्थात दुई दशकभन्दा बढि विद्यालय प्रिन्सिपलको भुमिका निभाएको मैले सहि निर्देशन दिन सक्छ भन्ने साथीहरुलाई विश्वास लागेको हुन सक्छ । म मनैबाट जानेसम्मको प्रयास गर्छु तर साथीहरुलाई ठ्याक्कै चित्त बुझाउन सकेको जस्तो भने लाग्दैन । 

मलाई लाग्छ धनि र प्रशस्त पैसा भएका परिवारले आफ्नो बच्चाहरुलाई महंगो भन्दा महंगो विद्यालयमा पढाउनुपर्छ, महंगो रहेनछ भने शुल्क बढाउन लगाएर भएपनि महंगो बनाएर अनि पढाउनुपर्छ । म ती सम्पन्न र धनी परिवारहरुलाई ससम्मान यहिसम्म छोड्दै बाँकी अभिभावकहरुलाई जोड्ने प्रयत्न गर्नेछु । 



म केहि प्रसंगहरु सहित जानेसम्मको कुराहरु जोड्छु :


प्रसंग १)

यसमा एउटा रमाइलो प्रसंग छ, म कार्यरत रहेको विद्यालयको छेउमा एउटा मन्टेश्वरी भनिने विद्यालय छ : विद्यालयले यसपटकको अभिभावक दिवस नजिकैको रिसोर्टमा लगेर भव्यताका साथ मनायो । मसँग एकदिन सोहि विद्यालयका अभिभावक र मेरो विद्यालय अभिभावक दुवैको एकैपटक भेट भयो । रिसोर्टमा भोज खाने अभिभावकले आफ्नो बच्चा पढ्ने विद्यालयको खुब तारिफ गर्नुभयो र अर्कोपटक फाइभस्टार होटलमा कार्यक्रम गर्ने योजना भएको सुनाउनुभयो । मसँग बस्नुभएको अभिभावकले पछि परेको अथवा असहज मानेको भाव ब्यक्त गर्नुभयो । 

मैले मेरै अभिभावकलाई प्रश्न गरेँ– ‘हामीले अभिभावक दिवसमा के ख्वाएका थियौँ रे ?’

उत्तर – ‘चिया कुकीज ।’

म लामो हाँसे – ‘कति पैसा लिएका थियौँ कार्यक्रमको लागि भनेर ?’

उत्तर – ‘थिएन ।’ अभिभावकको उत्तरमा नमिठोपन सुनिइरहेकै थियो ।

सोधखोज गरेपछि थाहा भयो अर्को विद्यालयले प्रति विद्यार्थी १५०० रुपैँया उठाएको रहेछ र  ३०००–४००० रुपैँया उठाउँदा स्टार होटलमा खाने र कार्यक्रम चलाउन पुग्छ भन्ने योजना रहेछ ।

ठिक छ पैसा भएका मानिसलाई रमाइलै होला तर धेरै बच्चा भएका र आम्दानिको स्रोत मध्यम हुनेहरुको लागि .............. ? त्यती धेरैले रुपैँयाले त एउटा परिवार सबै जना सानोतिनो रेष्टुरेन्टमा गएर मज्जाले खान पुग्छ । 

प्रसंग २)

साथीभाई अर्थात संस्थागत विद्यालयका संचालकहरुको भेटमा मैले भने – मेरो विद्यालयमा यसपटक म TVS मोडल प्रयोग गरेर पठनपाठन गराउन लागेको छु । यो संसारभर चलेको पुरानो पठनपाठनको प्रविधि हो । साथीहरु अचम्म मानेर मुखामुख गरे शायद नयाँ योजना ल्याउन लाग्यो भनेर होला । कसैले कुन देशबाट ? कसैले कुन कम्पनीको ? भनेर सोधे । लामै समय कौतुहल कायम गराउन सफल भएपछि TVS को पुरा अर्थ बताएँ टीभी र साउण्ड सिस्टम प्रयोग गरेर पढाउने । मज्जाले हाँसो गुन्जियो । 

LRPA, DIGI सबै कुराहरु यसैगरि प्रयोग हुने हुन् । विद्यालयमा पढाउने पुस्तक, समय, स्रोत साधन सबैको  सिमितता  हुन्छ । पाठ्यक्रम विकास केन्द्रले तोकेको सीमा हुन्छ, पढाउने विषय, पाठ सबै बनाइदिएको हुन्छ । विद्यार्थीको उमेर अनुसार बुझ्ने र जान्ने क्षमता हुन्छ । त किन अनावश्यक कुराहरुको बोझ बढाइदिने साना नानीबाबुहरुलाई ? 

राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड र विशेषताहरु: 

काउन्टर र कार्यालयसँगैको कोठा बाहेक कक्षाकोठा भन्नै नमिल्ने कोठा भएको विद्यालयले ISO पाइरहेको हुन्छ । फर्म भरेर निश्चित पैसा तिरेर कुनै देशमा गएपछि पाउने अन्तराष्ट्रिय अवार्ड विद्यालयको बोर्ड र परिचय पुस्तिका बाहेकमा कतै काम लाग्छ र ? दिनेहरुले विद्यालय रहेको देश र विद्यालयको नाम पनि राम्ररी सुनेका हुँदैनन् । त्यसले के नाप्छ होला ? नेपाल भित्र पनि पैसा तिरेपछि अनेकन अवार्ड पाइन्छ । केहि हजार तिर्नुस राष्ट्रिय नाम जोडिएका प्रमाणपत्रहरु मन्त्रीका हातबाट बाँडिन्छन् । ती अवार्ड, प्रमाणपत्रहरुले अभिभावकहरुले तिर्ने शुल्क मात्र थपिने हैनन् र ?

शिक्षामा संस्कार र सीप आदि

हरेक परिवारको आ–आफ्नो संस्कार, आ–आफ्नो तरिका हुन्छ । त्यसै पनि हाम्रो देश धेरै संस्कृती र परम्पराको फुलबारी हो । संस्कार सिकाउने निहुँमा विद्यालयमा भएका कुनै शिक्षकको संस्कार हुबहु नक्कल गर्न लगाउनु कस्तो होला ? कुनै पनि मानिस आफूमा पूर्ण हुँदैन । संस्कार घर परिवार, समाज र समयबाट सिक्नुपर्छ । संस्कार सिकाउने नाममा सोह्रश्राद्धमा टिका लगाएर दक्षिणा र पैसा दिएर घर पठाउने विद्यालय र त्यसमा खुशी हुने अभिभावकहरुले त संस्कारको स पनि उच्चारण नगर्दा हुन्छ । कुनै निजी विद्यालयमा संस्कार सिकाउने नाममा कुनै खराब कुरा सिकाइयो भने को जिम्मेवार ? मेहन्दी दिवस रे ? क्रिसमस डे ? अनेकन उदाहरण त छँदैछ । आज दशैँ भन्दा क्रिसमस बढि मनाइन्छ किन ? हाल चलिरहेको केक संस्कृतीमा संस्थागत विद्यालयको योगदान कति होला ? 

दिनको औसत ६ घण्टा र बर्षमा २५० दिन जति बिताउने विद्यालयमा एउटा बिद्यार्थीले कति र के सीप सिकाउन सक्छ ? अभिभावकहरुले आँफै विचार गर्न सक्नुहुन्छ । 

विद्यालयमा संस्कार र सीप सिकाउनै नहुने भन्ने पक्कै हैन ? तर संस्कार र सीपका नारा लगाउने विद्यालय बाहेकका विद्यालयले संस्कार र सीप नै सिकाउँदैनन् त ? यदि बच्चाहरुले पढाएको, घोकाएको भन्दा देखेर बढि सिक्न सक्छन् र संस्कार र सीप पढाउने कुरा मात्र हैन भन्ने मान्न सकिन्छ भने हरेक विद्यालयका सबै शिक्षक र कर्मचारीहरुले संस्कार वा सीप सिकाइरहेकै हुन्छन् र सिकाउनु अनिवार्य छ । तर संस्कार के हो भन्ने रटेर ओकल्न मात्र जानेकाहरुबाट संस्कार पढाएरै पनि प्राप्त हुन्छ र ? 

अनि संस्कार भनेको के हो ? कति अभिभावकहरुले आफैँलाई प्रश्न गर्नुभएको छ । संस्कृतका दुई चार श्लोक भट्टयाउन जान्नु संस्कार हो की ? भेटेजति सबैलाई नमस्कार गर्नु संस्कार हो की ? वा कुकुरले खाना खाइस्यो भन्नु संस्कार हो ? मेरो विचारमा त संस्कार अन्य सानासाना कुराहरु पनि हुन् : 

खुल्लै रहेको वा प्रयोग गरेको धारो बन्द गर्नु 

घरको गेट खोलेपछि बन्द गर्न जान्नु 

लेनदेनमा धन्यवाद भन्न सक्नु 

खाना नपोखी खानु 

सबैसँग हाँसेर बोल्नु 

दुख सुख बुझ्न र महशुस गर्न सक्नु 

ओछ्यानमा बसेर नखानु 

समयमा आफ्नो काम गर्नु 

सामान जतन गर्नु 

अरुलाई अप्ठ्यारो नपार्नु 

चाडपर्वको बारेमा बुझ्नु जान्नु 

सामाजिक हुनु

समय र स्थान अनुसार व्यवहार गर्न सक्नु आदि आदि । जुन कुराहरु एउटा असल अभिभावकले  देखाउन सक्छ र त्यही देखेर बच्चाले सिक्न सक्छ । 



) प्रसंग ३ः 

एउटा कामले नयाँ बानेश्वर तिर बैँकमा गएको थिएँ । म विद्यालय संचालक र प्रिन्सिपल भएको थाहा पाउनुभएका बैँकका केहि कर्मचारीहरुसँग मेरो कुरा भयो । उहाँहरुले आफ्ना बच्चाहरुको लागि बिद्यालय खोज्दै गरेको र बिद्यालय धेरै महंगो भएको तथ्यहरु सुनाउनुभयो । कुराकानीको क्रममा उहाँहरु घर नजिकैको मध्यम शुल्क भएको विद्यालय पढाउन इच्छुक देखिनुभएन । केहि जनाले त बच्चालाई पढाउनकै लागि बिहान बेलुका अन्य काम गरिरहेको समेत बताउनुभयो । निकै बेर कुराकानी सुनेपछि मेरो सुझाव यस प्रकार रह्यो । 

–स्कुलका पेजमा राम्रा फोटाहरु देखिएको, विभिन्न अतिरिक्त क्रियाकलापहरुका प्रशस्त राम्रा फोटा देखिएको कारण तपाइहरुले तिर्नुभएको मोटो शुल्क नै हो ।   

–बच्चाको पठनपाठनमा महंगो शुल्क तिर्न अतिरिक्त काम गर्नुभन्दा थोरै पैसा तिरेर घर नजिकैको विद्यालयमा पढाउनुहोस् र धेरै शुल्क तिर्न लगाउनुभएको समय बच्चामा लगानी गर्नुहोस् । बच्चालाई विद्यालयले तोकेको वा बनाउन चाहेको जस्तो हैन आफूले चाहेको जस्तो बनाउनुहोस् ।

विद्यालय क्रमशः पार्टी प्यालेस वा होटल जस्तो बन्दै गइरहेका छन् । विद्यालय भनेको शैक्षिक वातावरण भएको हुनुपर्छ । विद्यालयमा भोज भतेर लगाउने र घुमाएर मात्र राख्न हुन्न । 


क्रमशः 


No comments:

Post a Comment

Thank You very much. Raj