हुन त यो गन्थन लेखिरहनु जरुरी थिएन । तर भोलीका दिनमा आँफैलाई फर्केर हेर्दा हुने रमाइलो र मनका गुनासाहरु रित्याउने माध्यम यो लेख हुनसक्छ भन्ने लागेर आफ्नै गन्थनहरु लेख्ने जमर्को गरेको छु । यसपटक अर्थात २०८२ को तिहार हजुरआमा बित्नु भएको कारण मनाउन मिल्ने थिएन । तिहार ः विशेष लक्ष्मीपूजा र भाइटीका । केटाकेटीमा देउसी भैलो, लक्ष्मीपूजा र भाइटिका सबै रमाइलै जस्तो लाग्थ्यो । आफ्नै दिदीबहिनी नभएको कारणले पनि आमाले कतै न कतैबाट टीका लगाउने जोहो गरिदिनुहुन्थ्यो । सहजता र समयअनुसार फुपु, ठूलोबाको छोरी, सानीमाको छोरी कता कता टीका लगाएको याद छ सानोमा । तर कहिले कसको त कहिले कसको स्वार्थ नमिलेर टीका लगाउने क्रमहरु भंगजस्तो भयो । अलिक ठूलो भएपछि केहि पटक अन्य दिदीबहिनीहरु पनि बने बनाइए । कतै एकै बर्ष त कतै लामो समयसम्म टिका लगाएपनि दाजुभाई वा दिदीबहिनीमा हुने खालको लगाव भएन धेरैपटक लेनदेन वा करमा परेर टिका लगाउने र लगाईमाग्ने जस्तो अलिनो अनुभव भयो ।
आखिर जसो नै भएपनि यसपटक तिहार नभएकोले परिवार नै तिहारभर घुम्ने निश्चय गरियो । बुढाबुढी दुईजना र सानी ५ बर्षकी छोरी झोला कसेर गाडीमा घुम्न निस्कने भयौँ । गाडी आँफै चलाउने भएको र आमाछोरीलाई (पवित्रा र राजुल) अगाडीको एक सिट भए पुग्ने भएकोले पछाडीको सीट खाली राखेर कार्तिक २ गते बिहान ७ बजे घरबाटै निस्क्यौँ । टाटाको पन्च नामको इलेक्ट्रीक गाडीमा दुई पटक दोलखा भन्दा अन्त टाढाको यात्रा नगरेको मलाई मनमा अलिकती डर, अलिकती उमंग र अलिकती कौतुहलता थियो ।
यसपटकको यात्रामा एउटा कुरा तय भएको थियो : सकेसम्म स्थानीय स्वाद र खानाहरु खोजेर खाने ।
यात्रा शुरु भयो ।
पहिलो दिन :
साथीभाईहरुको सल्लाह थियो : पहिलो दिन पोखरा सम्ममात्र जानु । म जानेबेलामा नै कुश्माको द क्लिफ रिसोर्टमा कोठा बुक गरेर हिडेँको थिएँ । सजिलै पोखरा पुगेको म अलिकती बाटो झुक्किए पनि गुगल म्यापको सहारामा ४ बजे तिर नै द क्लिफ पुगियो । काठमाडौँमा १ गते फुल चार्ज गरेको गाडी डुम्रेमा थोरै चार्ज थपेर सिधै कुश्मामा पुग्यो । करिब ४० प्रतिशत चार्ज बाँकी राखेर । बेलुकी द क्लीफको वारीपटीको स्लो चार्जमा गाडी राखेर पारीतर्फको रिसोर्टमा गएर बस्यौँ । द क्लीफको सेवा, आतिथ्यता र सहयोग एकदम राम्रो थियो । त्यहीँको एउटा कर्मचारी भाइले रुममा लगेर कार्डले ढोका खोल्ने देखि लिएर बाथरुम प्रयोग गर्ने र चिया पकाउने सम्मको कुरा डिटेलमा सिकाए । होटलमा यस्ता कुराहरु सिकाएको शायद पहिलोपटक भएको कारण दिक्क लागे पनि उसको काम हो भन्ने सम्झेर सबै कुरा सुनिदिएम् । हुन् त पवित्राले उसलाई रोक्न खोज्दा पनि मैले नरोक्न अनुरोध गरेँ ।
पहिलो दिनको खाजा/खानाः
बिहान खाजा खाएर हिनेको हामी मुग्लीन पुगेर खाना खाने योजनामा थियौँ । मुग्लीन पुग्ने बेलामा दाउरा थकालीको बोर्ड देखियो, गुडिरहेको गाडीबाट डिटेल पढ्न नसकेको कारण दाउरा मुग्लीनमै भएको बुझेर खोज्दा खोज्दै मुग्लीन कटेर अगाडी पुगियो ।
त्यसपछि कतै खाना खाने भनेर हेर्दा हेर्दै डुम्रे पुगिएछ । डुम्रेमा कुबेर आयल स्टोरमा गाडी चार्ज गर्दै कफी र खाजा खाने उदेश्यले गाडी चार्जमा हालेर त्यसै स्टेशमा रहेको रेष्टुरेन्टमा छिरेर के पाइन्छ भनेर सोधखोज गर्यौँ । त्यहाँ काउन्टरमा भएको स्टाफले उत्तर दिए : पाइने कुरा त्यहीँ मेनुमा छ त । आहा ! कस्तो मिठो उत्तर । उनको उत्तर र उत्तर दिने तरीकाले त शायद उनी हामीलाई भगाउन पो चाहन्थे की ? आलु जीरा, चिया र एउटा दुनोट खाएर हामी त्यहाँबाट निस्क्यौँ । खानाको स्तर ठिकै थियो ।
बाटोतिर खाना/खाजा खाने प्रयास त गर्यौँ तर भरपर्दो र विश्वासीलो देखिने ठाउँ फेला पारेनौँ । त्यसपछि पोखरा कटेर अलिक परै पुगेपछि नौडाँडा नजिकै भण्डारी खाजा घर पुगेर खसीको मासुको केहि प्रकारहरु खायौँ । स्थानीय र विशेष परिकार नभए पनि दाउरामा पकाएको र फरक स्वादको खानेकुरा थियो त्यहाँ ।
साँझमा द क्लीफ रिसोर्टमा स्थानीय स्तरमा उत्पादित र स्थानीयता झल्काउने कुनै खानेकुराहरु नभएपनि खानेकुरा स्वादिलो र मिठो थियो ।
No comments:
Post a Comment
Thank You very much. Raj