Wednesday, April 10, 2024

कस्तो विद्यालय छान्ने ?

     अचेल बिहान, दिउँसो अथवा साँझ आउने धेरै फोनहरु साथीभाइका हुन्छन् । कतिपय साथीभाइहरु त लामो समयदेखि देखभेट नभएकैले पनि मानसपटलबाट ओझेल परिसकेका हुने रहेछन् । अलिकति लाज, अलिकति अप्ठेरो र धेरै खुशी समेटेर कुराकानी हुँदै गर्दा साथीहरुको एउटै साझा जिज्ञासा हुन्छ : बच्चालाई कहाँ भर्ना गर्ने होला यार ? जिवनको युवाकाल अर्थात दुई दशकभन्दा बढि विद्यालय प्रिन्सिपलको भुमिका निभाएको मैले सहि निर्देशन दिन सक्छ भन्ने साथीहरुलाई विश्वास लागेको हुन सक्छ । म मनैबाट जानेसम्मको प्रयास गर्छु तर साथीहरुलाई ठ्याक्कै चित्त बुझाउन सकेको जस्तो भने लाग्दैन । 

मलाई लाग्छ धनि र प्रशस्त पैसा भएका परिवारले आफ्नो बच्चाहरुलाई महंगो भन्दा महंगो विद्यालयमा पढाउनुपर्छ, महंगो रहेनछ भने शुल्क बढाउन लगाएर भएपनि महंगो बनाएर अनि पढाउनुपर्छ । म ती सम्पन्न र धनी परिवारहरुलाई ससम्मान यहिसम्म छोड्दै बाँकी अभिभावकहरुलाई जोड्ने प्रयत्न गर्नेछु । 



म केहि प्रसंगहरु सहित जानेसम्मको कुराहरु जोड्छु :


प्रसंग १)

यसमा एउटा रमाइलो प्रसंग छ, म कार्यरत रहेको विद्यालयको छेउमा एउटा मन्टेश्वरी भनिने विद्यालय छ : विद्यालयले यसपटकको अभिभावक दिवस नजिकैको रिसोर्टमा लगेर भव्यताका साथ मनायो । मसँग एकदिन सोहि विद्यालयका अभिभावक र मेरो विद्यालय अभिभावक दुवैको एकैपटक भेट भयो । रिसोर्टमा भोज खाने अभिभावकले आफ्नो बच्चा पढ्ने विद्यालयको खुब तारिफ गर्नुभयो र अर्कोपटक फाइभस्टार होटलमा कार्यक्रम गर्ने योजना भएको सुनाउनुभयो । मसँग बस्नुभएको अभिभावकले पछि परेको अथवा असहज मानेको भाव ब्यक्त गर्नुभयो । 

मैले मेरै अभिभावकलाई प्रश्न गरेँ– ‘हामीले अभिभावक दिवसमा के ख्वाएका थियौँ रे ?’

उत्तर – ‘चिया कुकीज ।’

म लामो हाँसे – ‘कति पैसा लिएका थियौँ कार्यक्रमको लागि भनेर ?’

उत्तर – ‘थिएन ।’ अभिभावकको उत्तरमा नमिठोपन सुनिइरहेकै थियो ।

सोधखोज गरेपछि थाहा भयो अर्को विद्यालयले प्रति विद्यार्थी १५०० रुपैँया उठाएको रहेछ र  ३०००–४००० रुपैँया उठाउँदा स्टार होटलमा खाने र कार्यक्रम चलाउन पुग्छ भन्ने योजना रहेछ ।

ठिक छ पैसा भएका मानिसलाई रमाइलै होला तर धेरै बच्चा भएका र आम्दानिको स्रोत मध्यम हुनेहरुको लागि .............. ? त्यती धेरैले रुपैँयाले त एउटा परिवार सबै जना सानोतिनो रेष्टुरेन्टमा गएर मज्जाले खान पुग्छ । 

प्रसंग २)

साथीभाई अर्थात संस्थागत विद्यालयका संचालकहरुको भेटमा मैले भने – मेरो विद्यालयमा यसपटक म TVS मोडल प्रयोग गरेर पठनपाठन गराउन लागेको छु । यो संसारभर चलेको पुरानो पठनपाठनको प्रविधि हो । साथीहरु अचम्म मानेर मुखामुख गरे शायद नयाँ योजना ल्याउन लाग्यो भनेर होला । कसैले कुन देशबाट ? कसैले कुन कम्पनीको ? भनेर सोधे । लामै समय कौतुहल कायम गराउन सफल भएपछि TVS को पुरा अर्थ बताएँ टीभी र साउण्ड सिस्टम प्रयोग गरेर पढाउने । मज्जाले हाँसो गुन्जियो । 

LRPA, DIGI सबै कुराहरु यसैगरि प्रयोग हुने हुन् । विद्यालयमा पढाउने पुस्तक, समय, स्रोत साधन सबैको  सिमितता  हुन्छ । पाठ्यक्रम विकास केन्द्रले तोकेको सीमा हुन्छ, पढाउने विषय, पाठ सबै बनाइदिएको हुन्छ । विद्यार्थीको उमेर अनुसार बुझ्ने र जान्ने क्षमता हुन्छ । त किन अनावश्यक कुराहरुको बोझ बढाइदिने साना नानीबाबुहरुलाई ? 

राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड र विशेषताहरु: 

काउन्टर र कार्यालयसँगैको कोठा बाहेक कक्षाकोठा भन्नै नमिल्ने कोठा भएको विद्यालयले ISO पाइरहेको हुन्छ । फर्म भरेर निश्चित पैसा तिरेर कुनै देशमा गएपछि पाउने अन्तराष्ट्रिय अवार्ड विद्यालयको बोर्ड र परिचय पुस्तिका बाहेकमा कतै काम लाग्छ र ? दिनेहरुले विद्यालय रहेको देश र विद्यालयको नाम पनि राम्ररी सुनेका हुँदैनन् । त्यसले के नाप्छ होला ? नेपाल भित्र पनि पैसा तिरेपछि अनेकन अवार्ड पाइन्छ । केहि हजार तिर्नुस राष्ट्रिय नाम जोडिएका प्रमाणपत्रहरु मन्त्रीका हातबाट बाँडिन्छन् । ती अवार्ड, प्रमाणपत्रहरुले अभिभावकहरुले तिर्ने शुल्क मात्र थपिने हैनन् र ?

शिक्षामा संस्कार र सीप आदि

हरेक परिवारको आ–आफ्नो संस्कार, आ–आफ्नो तरिका हुन्छ । त्यसै पनि हाम्रो देश धेरै संस्कृती र परम्पराको फुलबारी हो । संस्कार सिकाउने निहुँमा विद्यालयमा भएका कुनै शिक्षकको संस्कार हुबहु नक्कल गर्न लगाउनु कस्तो होला ? कुनै पनि मानिस आफूमा पूर्ण हुँदैन । संस्कार घर परिवार, समाज र समयबाट सिक्नुपर्छ । संस्कार सिकाउने नाममा सोह्रश्राद्धमा टिका लगाएर दक्षिणा र पैसा दिएर घर पठाउने विद्यालय र त्यसमा खुशी हुने अभिभावकहरुले त संस्कारको स पनि उच्चारण नगर्दा हुन्छ । कुनै निजी विद्यालयमा संस्कार सिकाउने नाममा कुनै खराब कुरा सिकाइयो भने को जिम्मेवार ? मेहन्दी दिवस रे ? क्रिसमस डे ? अनेकन उदाहरण त छँदैछ । आज दशैँ भन्दा क्रिसमस बढि मनाइन्छ किन ? हाल चलिरहेको केक संस्कृतीमा संस्थागत विद्यालयको योगदान कति होला ? 

दिनको औसत ६ घण्टा र बर्षमा २५० दिन जति बिताउने विद्यालयमा एउटा बिद्यार्थीले कति र के सीप सिकाउन सक्छ ? अभिभावकहरुले आँफै विचार गर्न सक्नुहुन्छ । 

विद्यालयमा संस्कार र सीप सिकाउनै नहुने भन्ने पक्कै हैन ? तर संस्कार र सीपका नारा लगाउने विद्यालय बाहेकका विद्यालयले संस्कार र सीप नै सिकाउँदैनन् त ? यदि बच्चाहरुले पढाएको, घोकाएको भन्दा देखेर बढि सिक्न सक्छन् र संस्कार र सीप पढाउने कुरा मात्र हैन भन्ने मान्न सकिन्छ भने हरेक विद्यालयका सबै शिक्षक र कर्मचारीहरुले संस्कार वा सीप सिकाइरहेकै हुन्छन् र सिकाउनु अनिवार्य छ । तर संस्कार के हो भन्ने रटेर ओकल्न मात्र जानेकाहरुबाट संस्कार पढाएरै पनि प्राप्त हुन्छ र ? 

अनि संस्कार भनेको के हो ? कति अभिभावकहरुले आफैँलाई प्रश्न गर्नुभएको छ । संस्कृतका दुई चार श्लोक भट्टयाउन जान्नु संस्कार हो की ? भेटेजति सबैलाई नमस्कार गर्नु संस्कार हो की ? वा कुकुरले खाना खाइस्यो भन्नु संस्कार हो ? मेरो विचारमा त संस्कार अन्य सानासाना कुराहरु पनि हुन् : 

खुल्लै रहेको वा प्रयोग गरेको धारो बन्द गर्नु 

घरको गेट खोलेपछि बन्द गर्न जान्नु 

लेनदेनमा धन्यवाद भन्न सक्नु 

खाना नपोखी खानु 

सबैसँग हाँसेर बोल्नु 

दुख सुख बुझ्न र महशुस गर्न सक्नु 

ओछ्यानमा बसेर नखानु 

समयमा आफ्नो काम गर्नु 

सामान जतन गर्नु 

अरुलाई अप्ठ्यारो नपार्नु 

चाडपर्वको बारेमा बुझ्नु जान्नु 

सामाजिक हुनु

समय र स्थान अनुसार व्यवहार गर्न सक्नु आदि आदि । जुन कुराहरु एउटा असल अभिभावकले  देखाउन सक्छ र त्यही देखेर बच्चाले सिक्न सक्छ । 



) प्रसंग ३ः 

एउटा कामले नयाँ बानेश्वर तिर बैँकमा गएको थिएँ । म विद्यालय संचालक र प्रिन्सिपल भएको थाहा पाउनुभएका बैँकका केहि कर्मचारीहरुसँग मेरो कुरा भयो । उहाँहरुले आफ्ना बच्चाहरुको लागि बिद्यालय खोज्दै गरेको र बिद्यालय धेरै महंगो भएको तथ्यहरु सुनाउनुभयो । कुराकानीको क्रममा उहाँहरु घर नजिकैको मध्यम शुल्क भएको विद्यालय पढाउन इच्छुक देखिनुभएन । केहि जनाले त बच्चालाई पढाउनकै लागि बिहान बेलुका अन्य काम गरिरहेको समेत बताउनुभयो । निकै बेर कुराकानी सुनेपछि मेरो सुझाव यस प्रकार रह्यो । 

–स्कुलका पेजमा राम्रा फोटाहरु देखिएको, विभिन्न अतिरिक्त क्रियाकलापहरुका प्रशस्त राम्रा फोटा देखिएको कारण तपाइहरुले तिर्नुभएको मोटो शुल्क नै हो ।   

–बच्चाको पठनपाठनमा महंगो शुल्क तिर्न अतिरिक्त काम गर्नुभन्दा थोरै पैसा तिरेर घर नजिकैको विद्यालयमा पढाउनुहोस् र धेरै शुल्क तिर्न लगाउनुभएको समय बच्चामा लगानी गर्नुहोस् । बच्चालाई विद्यालयले तोकेको वा बनाउन चाहेको जस्तो हैन आफूले चाहेको जस्तो बनाउनुहोस् ।

विद्यालय क्रमशः पार्टी प्यालेस वा होटल जस्तो बन्दै गइरहेका छन् । विद्यालय भनेको शैक्षिक वातावरण भएको हुनुपर्छ । विद्यालयमा भोज भतेर लगाउने र घुमाएर मात्र राख्न हुन्न । 


क्रमशः 


Monday, February 6, 2023

किसान, तरकारी र म

किसानले सडकमा तरकारी फ्याँके ।

न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।

 तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।

‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’

‘बिचरा !

लौन !

हेर !

खत्तम मेयर ।

खत्तम सरकार ।

खत्तम देश । 

Photo : From google 


चिया पसल देखि घर–घरको जमघटमा सुनियो । 

सभ्य समाजको पहिचान लैगिंक हिँसा बिरुद्धको अभियान’

                                          ‘संसार बदल्नु छ, शुरुवात आँफैबाट गर्नुछ ।

                                  हामी र हाम्रा सन्ततीको लागि सभ्य समाज बनाउनु छ ।’

आदरणीय महानुभावहरु !

सर्वप्रथम त म ‘लैङ्गिक हिंसा’ शीर्षकलाई परिभाषीत गर्न चाहन्छु । लैङ्गिक हिंसा भनेको लिङ्गका आधारमा हुने हिंसा हो । यो बिश्वका धेरै समाजमा प्राचिनकाल देखि नै विकराल समस्याको रुपमा देखिँदै आएको छ । सामान्यतया लिङ्गका आधारमा हुने हिंसा भन्नेबित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरुष वा तेस्रो लिङ्गी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा या कुनै पनि ठाउँमा घृणा गर्नु, कुटपिट गर्नु, समान अवसर प्रदान नगर्नु, यौनजन्य दुराचार गर्नु, डर त्रास धम्कि दिनु, पारिश्रमीक नदिनु वा कम दिनु, अश्लील शब्द बोल्नु, अश्लील तस्वीर देखाउनु, अश्लिल इशारा गर्नु आदि सबै लैङ्िगक हिसां हो । हाम्रो देश लगायत संसारका धेरै समाजहरुमा पुरुष भन्दा महिलाहरु विभिन्न प्रकारका हिंसाबाट बढि पिडित भएका कारण लैङ्गिकताका आधारमा हुने हिंसा महिला माथि हुने हिंसाबारेको छलफलमा केन्द्रित रहन्छ ।  त्यसैले आजको बिषयबस्तुलाई महिला हिंसा बिरुद्धको अभियानको रुपमा केन्द्रित गर्न चाहन्छु ।

Friday, April 17, 2020

अहिलेको परिस्थितीमा के अनलाईन कक्षा जरुरी छ ?

                नेपाल लगायत बिश्वकै सबै देशहरु अदृश्य शत्रुको सामना गर्दैछन् । शत्रु अप्ठेरो छ, शत्रु असजिलो छ, शत्रु परिवर्तनिय छ । बम, बारुद, बन्दुक, अस्त्र, शस्त्र त हामीले आफैँ आफैँ लड्न र मर्नको लागि मात्र तयार गरेका रहेछौँ । सैनिक, प्रहरी त हामीले आफ्नै डर हटाउन मात्र तयार गरेका रहेछौँ । नत्र त अहिलेको समयमा काम लाग्नु पर्ने हो ? लागेन पटक्कै लागेन ।

                 प्रकृतीबाट उत्पत्ती भएको शत्रुलाई जित्न नसकेर मानव जाती हायल कायल छ । हामीले आर्जेका ज्ञान बिज्ञान, धन सम्पत्ती कुनै काम आएको देखिन्नन् । संसार त्यही कोरोना नाम गरेको शत्रुसँग भिड्न जोड तोडले लागेको छ । प्रकृती र जीवजनावर हजारौँ बर्ष पछाडि नै होला स्वतन्त्रतापूर्वक रमाएर बाँच्न पाएका छन् ।
Pic source: Google
              पर्यटन, हवाई यातायात, यातायात, मनोरन्जनका क्षेत्र, बिद्यालय, कलेज, शेयर बजार, केहि बाहेक निर्माण क्षेत्रहरु सबै बन्द छन् । लाखौँको रोजगारी गुमेको छ । निश्चीत संख्यामा खाद्यान्न, तरकारी पसलहरु तथा मेडिकलहरु मात्र संचालनमा छन् । केन्द्र, प्रदेश र स्थानीय सरकार कोरोनाको कहरसँग जेनतेन लड्न प्रयास गदैैछन् । हप्तौँ पहिले युरोप र अमेरिकाका कतिपय देशहरुले अस्विकृत गरेको चीनमा निर्मीत किटले भइरहेको कोरोनाको जाँचले आमजनतामा भ्रम सिर्जना गरिरहेको छ । 

Tuesday, April 14, 2020

बजाउँ सरकार बजाउँ

सरकार
ए सरकार
थाहा छ सरकार ?
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप हेरिरही
अक्कनबक्क परेर हेरिरहेकी मेरी छोरी
पुनः रुन नपाउँदै
pic : copied
भान्छामा बजेका खाली भाँडाहरुको आवाजले
आँखा भरी आशा बोकेर मुख मिठ्याउँदै पर्खिरही
एउटा असहाय गरीब अध्याँरो छिँडीमा बसेर
लकडाउन डाउन हुने दिन पर्खेजस्तै
र लक डाउनका लकहरु झन झन कसिलो भएपछि
सुँक्कसुँक्क आफ्नो लकलाई सराप्दै
घोप्टे अँधेरोमा कुम्लो र कुटुरो च्यापेर
बेजोडी चप्पल भिरेर अनिश्चीत यात्रामा हिँडेजस्तै
मेरी छोरी रोदनको यात्रामा निस्कन मात्रै लागेकी थिई
नजिकै घरमा बजेको
सयौँ फुलका थुँगा हामी आवाज सुनेर चुप लागी
थाहा छ सरकार,
अभाव र भावले चिथोरीरहेको मानसपटलमा
हजुरको बजाउने सिद्धान्त नबुझेको म अबुझले

Thursday, January 16, 2020

हो, म सबैको प्यारो हुनेछु : दैनिकी

              उमेर र अनुभवले खारिएका, समृद्धीको शिखर र असफलताको मैदान दुवै भोगीसकेका । अमेरिकामा निकै बर्ष बसाईँ गरेर अझै बर्षको कम्तिमा एक पटक बिदेश घुमिरहन उमेरले बासमान उमेरका साथीले चिया बसाईँको क्रममा भने 

             – तपाईँको एउटा बानी नराम्रो छ नी । 

            अप्रत्याशीत रुपमा उहाँबाट आएको कुराले मलाई केहि बेर मौन बनायो । मैले जानेसम्म र बुझेसम्म मेरा बानीहरु मलाई अग्रजहरुले सिकाए बमोजिमै थियो । अर्थात सरल भाषामा मैले अँगालेको बानी राम्रैमा गनिन्छ भन्ने मलाई बिश्वास थियो । 

            – के छ सर, त्यस्तो ? 

         अमिलिएको मन अनुहारमा नदेखियोस भन्ने सकेसम्म प्रयास गर्दै प्रतिप्रश्न गरेँ । मनले कता कता मानिरहेको त थिएन ।

Wednesday, January 15, 2020

तिलान्जली : नैतिक शिक्षा


            सत्य बोल, चाहे सत्य तीतो नै किन नहोस् । 
            ईमान्दारीता मानिसको गहना हो, त्यसैले ईमान्दार बन । 
            मेहनत गर्ने मान्छे कहिल्यै असफल हुँदैन । 
            मेहनतले मानिसलाई सफल बनाउँछ । 
            घुस लिन र दिन हुँदैन । 

                भन्ने गरेका, हामीले पढ्ने गरेका, बाआमा, गुरु, हजुरबाआमा लगायत ठूला मान्छेले भनेका  र मैले करिब दुई दशकबाट साना नानीबाबुहरुलाई पढाउँदा भन्ने गरेका वाक्यहरु हुन् । अझै पनि भन्ने गरेको छु तर आफ्नै मनलाई ढाँटेर । हजुरबा हजुरआमा, ठुलाबा र बाले जानी नजानी धेरै कुरा सिकाउनु भयो । सिकाएका कुरा जानेको बेलामा पाएको स्याबासीले मखलेल पनि भईयो । जस्तै :
                          १) आपतमा पर्दा भन्ने मन्त्र 
                         २) डर लाग्दा भन्ने मन्त्र 
                         ३) दुख निवारण मन्त्र 

                        ४) नराम्रो सपना देख्दा जप्ने मन्त्र 

Friday, January 3, 2020

एकछिन : भक्तपुर पर्यटन र हामी

                 देश भ्रमण बर्ष २०२० को रन्कोमा छ । पर्यटकहरुलाई धेरै दिन अल्मल्याउन सक्ने आधारहरु अत्यन्त कम छन् । जति छन् ती पनि अधिकांश प्राकृतीक छन् । पर्यटकहरुलाई एकै दिन सबै तिर घुमाउनु भन्दा पनि एकै ठाउँमा दिनभर अल्मल्याउन सक्ने संरचना र जनशक्ति बनाउनु जरुरी छ । जस्तै : पर्यटकले एकै दिन स्वयम्भु, पशुपतीनाथको मन्दिर, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र घुमाउनु भन्दा हरेक दिन एउटा क्षेत्र घुम्न पुग्ने संरचना बनाउँदा पर्यटक अलि धेरै दिन बस्ने वा अर्को पटक बाँकी संरचना हेर्न आउने सम्भावना रहन्छ । 
यी त भए पर्यटनका सामान्य कुराहरु,
                  भर्खरै भक्तपुर दरबार क्षेत्रमा जान पर्ने सानो काम परेर त्यहाँ पुगेर केहि बेर पर्खदाँ देखेका भोगेका घटनाले देशको पर्यटन, पर्यटकहरुको चासो र चाख देखिने केहि घटनाहरुले चकित खाईयो । हामी नेपाली अझै हाम्रो गरिबि र विवशता बेच्न लालायित रहेछौँ र पर्यटकहरु हाम्रो गरिबि र विवशता किन्न कति आतुर रहेछन् भन्ने त्यो घटनाले प्रष्ट देखियो ।   


घटना नं १ :

Thursday, November 15, 2018

आधा अझै बाँकी छ ।

            सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी । 
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ? 
    – तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।

Monday, August 6, 2018

याैनहिँसा - जिम्मेवार काे ?

                    म कुनै विशेषज्ञ, अध्ययनकर्ता, चिकित्सक वा अजासु केहि पनि हैन । एउटा सामान्य शिक्षक जो बितेका १६ बर्ष देखि साना नानीबाबुहरुलाई पढाइरहेको छु । साना साना नानीबाबुहरु पढाउनु भनेको अभिभावक बन्नु हो अर्थात दोस्रो बाआमा बन्नु हो (भलै अचेल नानीबाबुका बाआमाले पैसा तिरेर पढाउन पठाएकैले दोस्रो बाआमा बन्ने अधिकार संकुचीत भएको छ । यसको बारेमा पछि कुरा गरम्ला ।) । अभिभावक बन्न सजिलो पक्कै छैन, थिएन र हुनेछैन । बितेका तीनै १६ बर्षहरुमा अनेकन घटना देखियो र भोगियो पनि । ती भोगाई र देखाईहरुको मेरा नितान्त ब्यक्तिगत सम्पती हुन, ईच्छा र समय मिलेमा बाँडौला पनि ।   

          तीनै मैले पढाउने जस्तै सानासाना नानीहरु बलात्कारको शिकार बनेको समाचार दिनरात सुन्दा असह्य हुन्छ । समाचारहरुबाट भागेर कतै टाढा जाउँजस्तो लाग्छ । सक्दिन र त यो लेख्ने जमर्को गर्दैछु । हाम्रो सामाजीक संरचना, समाजको सेरेफेरोमा रहेर मेरा नितान्त ब्यक्तिगत बिचारहरु पोख्दैछु, कोहि सहमत हुनुहोला भने असहमत हुने अधिकार पनि छ किनकी मैले भनिसकेको छु म सामान्य शिक्षकमात्र हुँ, सामान्य शिक्षकले भनेको कुरा ठीक हुनुपर्छ भन्ने छैन । 

समाजमा बलात्कार जस्तो घृणित कार्य बढ्ने कारणहरुः