त्यस्तै ५०–५६ सालतिरको कुरा हो । समयको क्रमसँगै गाउँ अनि शहर दुबै तिर सराबरी जस्तै नै स्कुल पढियो होला । जता पढेपनि एउटा कुरा समान रुपमा लागु भयो त्यो हो कोर्स भन्दा बाहिरका किताब पढ्ने । काठमाडौँको बौद्ध जोरपाटीतिरका दुई चार वटा स्टेशनरी पसलेले त मलाई पसलको छेउछाउ ढिम्कीनै पनि दिदैँनथे तर दुईवटा स्टेशनरीमा भने जति मन लाग्छ पढ्न छुट थियो । अझ उनीहरुले त मलाई बस्न ठाउँ र कहिलेकाहीँ त चिया खाजा पनि उपलब्ध गराउँथे ।
जोरपाटी चोकबाट सुन्दरीजल जाने बाटोको डिलको छाप्रोमा एउटा सानो स्टेशनरी पसल थियो । त्यो पसलको साउजीलाई राम्रा कुराहरु पढेरै सुनाउन पर्ने, म पनि लय हालेर पढेरै सुनाइदिन्थेँ । त्यही तल्लोपटि रहेका छाप्रे पसलका धनी र ग्राहकहरु वरिपरि भेला भईसकेका हुन्थे कथा भन्दा भन्दै त कतिले दोहोर्याउन पनि लगाउँथे । । सबैभन्दा बढि त्यसरी सुनाएको नवयुवाको पहिलो अंङ्कको आवरण कथा हुनपर्छ ।
सहरको त यहि कुरा भयो तर गाउँको अवस्था अझ रमाईलो पो हुने गर्थ्यो । गाउँमा कहाँको स्टेशनरी पाउनु र ? मसँग भएका केहि किताब बिशेष गरी मुना, साप्ताहिक लगायतका केहि किताब साथीहरुलाई बाँड्दै उनीहरुका घरमा भएका पुराना किताब माग्दै पढ्न थालेँ म । त्यसै ताका होला मैले रामायण, महाभारत अनि सुकसागर जस्ता किताब पढेको । सोही समय तिरै कता कता बाट हात लागे युधिर थापाको लुकेको समाज, निलो चोली जस्ता उपन्यास साथमा रातो दरबार, सेतो दरबार अनि अत्यन्तै अश्लिल तथा लेखकको नाम बिहीन सुन्दरी भन्ने उपन्यास पनि ।
म जस्तो सुकै किताब पनि एकै बसाईमा पढिसक्थेँ । त्यतीखेर मलाई सबैभन्दा बढि प्रभाव पारेको पुस्तक थियो प्रकाश कोबिदको “अर्को जन्म” । करिब करिब कण्ठ थियो त्यो उपन्यास, अहिले मैले लेख्ने गरेका कथाको नारी पात्र सुजु पनि त्यसै उपन्यासको पात्र सुजाताबाट प्रभावीत भएको हुनुपर्छ शायद ।
कक्षा ७ तिर “लुकेको समाज” अनि कक्षा ८ तिर “अर्को जन्म” बाईबल जस्तै भएका थिए मेरा लागी, सधैँ साथमा । बिद्यालय घर म सँगसगैँ गरिरहन्थे उनीहरु । त्यसपछि कता कता बाट बेदप्रकाश शर्माका मोटा हिन्दी जासुसी उपन्यास हात पर्यो र बानी नै लाग्यो उसका जासुसी उपन्यास खोजी खोजी पढ्ने ।
पत्रिका भने त्यती पढ्न नपाईने । त्यतीखेर गाउँमा हरेक पत्रिकालाई गोरखापत्र भनिन्थ्यो र एक पानाको एक रुपैयामा किनबेच हुन्थ्यो । पुराना पत्रिकाहरु पढ्ने उदेश्यको लागी नभएर किताब कापीमा गाता हाल्नको लागी प्रयोग हुन्थ्यो । म कक्षाको प्राय सबै साथीहरुको किताबको गाता हेरेर पुराना जानकारी प्राप्त गर्थेँ ।
त्यसबेला शहर तिर एक खालको लाईब्रेरी खुब चलेको थियो । गल्ली गल्लीमा खुलेका त्यस्ता लाईब्रेरीले बच्चा बच्ची र र नवयुवा युवतीलाई खुबै मनोरञ्जन पनि दिएको थियो । केहि पैसा तिरेर भाडामा कमिक्स पढ्न पाईन्थ्यो त्यस्ता पसलमा र प्रायः भिडभाडै रहन्थ्यो त्यहाँ । निकै ब्यक्तिहरुले रोजगारी प्राप्त गरेका थिए त्यो कामले ।
पढाई गाउँमै चलिरहेको अनि कक्षा ८ को अन्तिम परिक्षा नजिकै थियो । बुवा आउनुभएको थियो केहि दिनको छुट्टी लिएर घरमा । एकदिन बुवाको सिरानीको छेउमै एउटा मोटो किताब देखेँ र मौका निकालेर किताब हातमा लिएँ । हार्ड कभर भएको त्यो किताबको कभरमा हेरेँ लेखिएको थियो “अग्निदीक्षा”, लेखकको नाम थियो “निकोलाई आस्त्रोभस्की”, अनुवादकको नाम बिर्सिसकेछु । अनुहार नजिकै लगेर सररर पल्टाएँ किताब, शितल हावा सहितको मिठो बास्ना आयो । खै किन हो मलाई नयाँ किताबको बास्ना सारै मन गर्थ्यो । सानो साईजको त्यो किताबको ३०४ पेज पछि एउटा पेन्टीङ थियो । हातमा लौरो लिएर बेन्चमा बसेको, कपाल जिङ्रीङ्ग परेको अनुहारको भावले केहि खोजिरहे जस्तो लाग्ने एक युवकको पेन्टिङ आकर्षक लाग्यो मलाई ।
तत्कालै पढ्न शुरु गरेँ मैले त्यो किताब । कता कताबाट बुवाले थाहा पाउनुभएछ बोलाएर किताब माग्नुभयो । मैले फिर्ता नगर्ने मनसाय गरेँ तर उहाँले परिक्षा पछाडी पढ्न दिने शर्त राख्दै किताब थन्क्याउनुभयो । परिक्षा सकियो लगत्तै किताब पनि हातमा पर्यो । केहि दिन किताबका पात्रहरुको नाम उच्चारण गर्नै समस्या पर्यो आत्र्योम, सिरातेन्को, कर्चागिन, खार्कोभ, आलशिल्स्की जस्ता कतिपय नाम सारै गार्हो लाग्यो । केहि राम्रोसँग नबुझेर अनि केहि मन परेर नै हुनुपर्छ निकै पटक पढेँ त्यो किताब । मुख्य पात्र पावेल कर्चागिन यति मन पर्यो कि केहि महिना आफ्नो उपनाम नै “पावेल” राखेँ ।
हरेक पटक किताब पढ्दा एउटा बेग्लै शक्ति पलाउँथ्यो म मा । किताबले यति प्रभाव पार्यो कि म आफैलाई पनि क्रान्तिकारी सम्झन थालेँ परिणाम केहि साथीभाई बटुलेर गाउँको हितको लागी सक्दो कामहरु गर्न थालेँ । बाटोघाटो बनाउनु, मठ मन्दिर सफा गर्नु, पानीको मुहान सफा गर्नु यस्तै काम गर्थ्यौ हामी मिलेर । म कसैसँग पनि डराउन छोडेँ त्यही ताका होला मैले आफुभन्दा निकै ठुला दाजुहरुलाई पनि नराम्रोसँग पिटेको थिएँ । एउटा अधिकारी दाजु थिएँ हाम्रो घर भन्दा केहि तलका सारै नै मिजासीला एकदिन गाउँकै एकजना दिदीको बारेमा केहि नराम्रो शब्द भने मैले तत्कालै मुक्का बर्साउँदा उनको नाकबाट निकै रगत बग्यो । खै किन हो उनले म माथि हात उठाएनन् । आजकल उनी दिमाग बिग्रीएर पेप्सीकोला, काँडाघारी तिरको बाटोमा हिँडेको देखिन्छ । एकदिन बाटोमा भेटेर – “दाजु मलाई चिन्छौ ? म राजु भाई के ?” भनेर भनेँ तै पनि ङिचिक्क दाँत देखाएर हात पसारे मैले पनि १० को नोट हातमा राखिदिएँ खुशी हुँदै अगाडी बढे उनी, म निकै बेर त्यही उभिरहेँ । कल्पनामा अतित बोलाउँदै ।
त्यो किताब निकै पढेँ र जतन साथ राखेँ पनि । देशमा संकटकाल लाग्यो गाउँ – गाउँमा सुरक्षाकर्मिहरु आएर छापा मार्न थाले । ताल तालका समाचारहरु सुनिन थाले । सत्य घटनामा धेरै जनाको मनगढन्ते नाटकीयता जोडिएर गाउँसम्म पुग्दा समाचारहरु पनि खिचडी भईसक्थे । हामी त्यही खिचडी पनि स्वाद मानी मानी पचाउँथ्यौँ । पछि – पछि खबर सुनिन थाल्यो माओ, लेनीन लगायतका क्रान्तिका किताबहरु भेट्ने बित्तीकै सुरक्षाकर्मीले माओबादी प्रमाणीत गरी यातना दिदैँ लिएर गयो । अनि कतिपयलाई बर्बरताका साथ मा¥यो भनेर । त्यसताका “अग्नीदीक्षा” लाई माओबादीहरुले धेरै पढ्थे रे भन्ने पनि सुनिन्थ्यो र अग्निदीक्षा साथमा भेटिएका मान्छे माओबादी भनेर प्रमाणीत हुन्थे रे ।
गाउँमा सुरक्षाकर्मीको सक्रियता बढेसँगै मेरो डरको पारो पनि बढ्न थालेको थियो । किताबको बारेमा बुवाले सोध खोज गर्नु भो साथै यो पनि आदेश दिनु भो की किताब छ भने जलाईदिनु । एक साँझ “अग्निदीक्षा” जलाउने उदेश्यले नजिकै बारीमा आगो बालेँ तर धेरै कोशीस गर्दा पनि जलाउन सकिँन । किताब बोकेरै फर्केर आएँ । त्यतीखेरै खबर आयो तल्लो गाउँमा सुरक्षाकर्मीहरुले सर्च गर्दैछन् भनेर । मेरो हंसले ठाउँ छोड्यो । तत्कालै घुर्यान नजिकै एउटा खाडल बनाएर एउटा पलाष्टिकमा पोको पारेँ “अग्निदीक्षा” र त्यही खाल्डोमा हालेँ अनि माथिबाट माटो र झासझुस हालेर पुरेँ ।
समयको रफ्तारसँगै सहर तिर लागीयो क्याम्पस पढ्नको लागी । गाउँ र देशको अवस्था पटक्कै सुध्रिएको थिएन त्यसैले पनि केहि बर्ष गाउँतिर गइएन । ६३ सालमा माओबादी मुलधारको राजनितीमा आएसँगै गाउँ फर्किने वातावरण मिल्यो । गाउँमा जानेबित्तीकै पहिलो कामको रुपमा घुर्यान खन्ने काम गरियो । बिडम्बना किताबलाई मोडेको प्लाष्टिक गलेर सकिएछ अनि किताब धुजा धुजा भईसकेछ । मोटो गाता र बाक्लो किताब भएकोले किताबको केहि भाग सग्लै थियो । किताबको त्यो भाग निकालेर झारझुर पारेर राखेँ सो किताबको बाँकी भाग अझै पनि मेरो साथमा छ नै ।
निकै बर्ष पछि किताब दिवसको उपलक्ष्य पारेर यहि २०६९ बैशाख ११ गते पुन अर्को “अग्निदीक्षा” किनेँ । खै किन किन त्यसलाई पढ्न शुरु नै गर्न सकेको छैन । किताब पनि पहिलेको जस्तो नभएर फरक आकारको भएकैले होला कि ? आकर्षक पटक्कै लाग्दैन । बरु पुरानै सानो टुक्रा प्यारो लाग्छ मलाई, त्यही आकर्षक लाग्छ मलाई । त्यो किताबले दिएको प्रभाव अझै पनि कहिँ कतै बाँकी छ जस्तो लाग्छ ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj