Wednesday, January 15, 2020

तिलान्जली : नैतिक शिक्षा


            सत्य बोल, चाहे सत्य तीतो नै किन नहोस् । 
            ईमान्दारीता मानिसको गहना हो, त्यसैले ईमान्दार बन । 
            मेहनत गर्ने मान्छे कहिल्यै असफल हुँदैन । 
            मेहनतले मानिसलाई सफल बनाउँछ । 
            घुस लिन र दिन हुँदैन । 

                भन्ने गरेका, हामीले पढ्ने गरेका, बाआमा, गुरु, हजुरबाआमा लगायत ठूला मान्छेले भनेका  र मैले करिब दुई दशकबाट साना नानीबाबुहरुलाई पढाउँदा भन्ने गरेका वाक्यहरु हुन् । अझै पनि भन्ने गरेको छु तर आफ्नै मनलाई ढाँटेर । हजुरबा हजुरआमा, ठुलाबा र बाले जानी नजानी धेरै कुरा सिकाउनु भयो । सिकाएका कुरा जानेको बेलामा पाएको स्याबासीले मखलेल पनि भईयो । जस्तै :
                          १) आपतमा पर्दा भन्ने मन्त्र 
                         २) डर लाग्दा भन्ने मन्त्र 
                         ३) दुख निवारण मन्त्र 

                        ४) नराम्रो सपना देख्दा जप्ने मन्त्र 

                       ५) पढ्न आउने मन्त्र आदि आदि । 
               शायद बाआमा वा हजुरबाआमाले भनेजस्तो सिपाहीमा नोकरी लागेको भए माथिका मन्त्रहरुले जिन्दगी चल्थ्यो होला की ? तर एउटा व्यबसाय शुरु गरेकैले होला कैँयन बर्ष कुर्दा पनि ती मन्त्र काम लागेनन् । न उहाँहरुले रटाउने गरेको नैतिक शिक्षाका सुत्रहरुले :
                          -सत्य बोल, चाहे सत्य तीतो नै किन नहोस् । 
                                  - ईमान्दारीता मानिसको गहना हो, त्यसैले ईमान्दार बन । 
                                  -मेहनत गर्ने मान्छे कहिल्यै असफल हुँदैन । 
                                  -घुस लिन र दिन हुँदैन । 
        व्यवसाय राम्रो नचलेर घरधनीलाई भाडा तिर्न नसकेर आपत पर्दा कैँयन पटक आपतमा पर्दा भन्ने मन्त्र रट्दा पनि घरधनीको आपत कहिल्यै कम भएन । कैँयन चाडपर्वमा हातमा पैसा नभएर अनेक निँहु पार्दै राजधानीको खाली सडक नाप्दै गर्दा पढेको दुख निवारण मन्त्रले पनि पटक्कै काम गरेन । धेरै पटक काम बिग्रिएर त्यही बिग्रीएको कामले रातभर सपनामा लखेटिरहँदा पटक पटक उठेर पढेको  सपना नराम्रो देख्दा भन्ने मन्त्रले पनि काम गरेन । राम्रै पढेर पनि १५०० रुपैँया नपुगेर परिक्षामा समावेश हुन नपाउँदा दिनभर एक्लै बसेर पढेको पढ्न आउने मन्त्र र दुख निवारण मन्त्रले काम गरेन । अँह हरेक दुख, आपत र समस्याहरुसँग ती मन्त्रहरु कहिल्यै लड्न र भिड्न सकेनन्, पटक्कै सकेनन् । 
अचेल त मन्त्रहरु सबै बिर्सिसकिएछन् ब्यबसायका पहिलो दशकको समस्या, दुख र पीडा जस्तै । 
  एकपटक मिहिनरुपमा फर्केर हेर्दा बिद्यालय र बाल्यकालमा रटिएका, सुनिएका र जानिएका अधिकांश नैतिक शिक्षाका श्लोक र वाक्यहरु तिलान्जली दिईसकिएको रहेछ । र त सानोतिनो व्यबसायी बनिएछ । 

                  जस्तैः १) सत्य बोल चाहे त्यो तितो नै किन नहोस् बदलिएर अरुलाई तितो लाग्ने गरेर नबोल चाहे त्यो सत्य नै किन नहोस् भएछ । बिद्यालयमा पढाउँदा बदमाश र नपढ्ने बच्चालाई जस्ताको तस्तै भन्दा वा परिक्षाफल देखाउँदा बच्चाको बाआमाको गाली खाँदा होस् वा बिद्यालय राम्रो भएन भनेर परिवर्तन गर्दा होस् । साथीभाईका कमजोरी देखाइदिएर टाढा बनाउँदा होस् । यस्ता धेरै सत्य बोलहरुले जिन्दगी र व्यबसाय पछाडि मात्रै धकेल्दो रहेछ ।  
                          २) ईमान्दारीता मानिसको गहना हो, त्यसैले ईमान्दार बन बदलिएर ईमान्दारीता मानिसको यस्तो हत्कडी हो जस्ले हामीलाई अगाढी बढ्न दिदैँन । चाहे त्यो अरु कोहिबाट काम लिँदा होस् या कसैको काम गर्दा नै इमान्दार मान्छे सँधै पछाडि नै रहन्छ । बिशेष गरेर हाम्रो जस्तो देशमा । ईमान्दार रहेर करिब एक दशक खेर फ्याँके पछि बल्ल थाहा भो - सरकारी काम गर्न कैयौँ दिन किन धाउनुपरेको रहेछ ? ब्यबसाय किन राम्रो चलेको रहेनछ् ? साथी भाई किन भएनन् वा टाढिए ? सामाजीक रुपमा किन अगाढी बढ्न सकिएन ? जस्ता रहस्यहरु । निष्कर्ष यो निकालियो की, ईमान्दार मान्छे साहुको मात्र प्यारो हुने रहेछ । 
                          ३) मेहनत गर्ने मान्छे सँधै सफल हुन्छ भन्दै रातो दिन नभनी काम गरियो । मेहनत गर्ने मान्छेहरु त सँधै पछाडी पर्ने रहेछन् । मेहनतको कुनै मुल्य रहेनछ् । जति अल्छि त्यती ठुलो मान्छे भन्ने र बन्ने रहेछन् । तसर्थ अचेल मेहनत गर्न भन्दा अरुबाट काम लिने प्रयास गरिदैँछ र जानिदैँछ ।
                                ४) घुस लिन र दिन हुँदैन : भन्ने मन्त्रले यति पिरल्यो की भनी साध्य छैन । घुस लेनदेन नै नगर्ने भएपछि घुस दिने तरिका र काईदा जानिएन । अनेक काम अड्किए वा असाध्यै अप्ठेरोका साथ मात्र भए । साथीभाईहरुको लागि जुन काम मैदान थियो मेरो लागि हिमाल रहे । त्यसले पाएको पिडा र समयको नाशको लेखाजोखा छैन । तर बितेका केहि बर्षबाट घुस लिन पनि हुन्छ र दिन पनि हुन्छ भन्ने लागेपछिको कुरा बेग्लै सबै कार्य सहज, जता पनि सजिलो ।   
    लाग्छ, नैतिक शिक्षाका केहि अध्यायहरु परिवर्तन हुनुपर्छ । मन्त्रका बलहरु त कम भएर गए नै होलान् । 




No comments:

Post a Comment

Thank You very much. Raj