Wednesday, November 23, 2011

यो कस्तो प्रेम भाग १


                                              रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता,  मेरो जिबन, मेरो प्राण, मेरो मुटुको धड्कन आज साक्षात अवतरीत हुँदैथियो मेरै सहरमा ।


                                               हो, केहि बर्ष देखिको फोनको कुराकानी सँगै पलाएको आत्मीयता, भावनात्मक सम्बन्ध र नढाँटी भन्दा हामी दुईको प्रेम आज मिलन सम्मको यात्रामा थियो । कस्ती होलीन् ? मन मनमा उब्जीरहने र उब्जीरहेका प्रश्न थिए । उनको आवाजसँगको मेरो कल्पनामा कहिले कलिउड त कहिले बलीउडका नायीकाहरुसँग उस्को रुपरेखा मिल्थे वा भनौँ मिलाउँथे । पाँच फिट पाँच ईन्चको उचाई, ५० केजीको शरीर, ठीक्ककी गोरी, कम्मरसम्म आईपुग्ने कपाल यस्तै भनेकी थिई उस्ले आफ्नो बारेमा । कम्मर, छातीको साईज सोध्न मन भने नलागेको होईन तर म मा त्यो आँट भएन उस्ले कहिल्यै भनिन् ।

                                             दुबैले तोकेको भन्दा केहि समय अगावै म पुगेँ भेटघाटस्थलमा । अबको प्रतिक्षा झनै अप्ठेरो रह्यो । पहिलो भेट, मन भित्रको ब्यग्रता, उडौँ उडौँ लाग्ने उमङ्ग । पलहरु बर्षौ लाग्दैथे, छटपटीको कुरै बेग्लै ।

                                               “मेरो हातमा हरियो झोला हुनेछ । अनि तिमीलाई मन पर्ने सेतो कुर्तासुरुवालमा आउनेछु म ।” – उनले भनेको सम्झिएँ ।
                                             “म कालो जिन्स र हरियो टीसर्टमा आउनेछु ।” – मैले भनेको थिएँ । तर भेटलाई रोमाञ्चक र अबिष्मरणीय बनाउने योजना गर्दै म बिल्कुलै फरक परिधानमा गएको थिएँ । म उनकै छेउमा गएर उभिनेछु, उस्लाई जिस्काउनेछु । उनी रिसाउने छीन केहि बेरमा फकाउनेछु । वा उनलाई बोलेरै जिस्काउनेछु सोचेर स्वर बदल्न कहिले तालु र ओठ जोडेर त कहिले जिब्रो बटारेर धेरै प्रयास पनि गरेँ  ।

                                           “राज म तिमी बिना बाँच्न सक्दीन । हुन त तिम्रो र मेरो कहिल्यै देखभेट भएको छैन तै पनि तिमी मेरो जिबन बनिसक्यौ । तिम्रा हरेक शब्दहरु मेरा आत्मा हुन तिम्रा हरेक हौसला मेरा जिबनका मार्ग दर्शक हुन । म किन तिमी प्रती यस्तरी हुरुक्क हुन्छु थाहा छैन । म तिमीलाई माया गर्छु, सिर्फ तिमीलाई ।” – उनी बेला बेलामा भन्ने गर्थिन ।

                                                “सुजु, म तिम्रो योग्य नहुन पनि सक्छु नी, हैन र ? कालो ध्वाँसे केही न केहीको ल्वाँठ ..........।”

                                                   “तिमी जे हौ जो हौ अब मेरो हौ । तिमी जस्तो छौ मलाई स्वीकार्य छौ । अब मलाई तिम्रो बन्न कुनै पनि शक्तीले रोक्दैन ।” – उस्ले मेरो कुरा बिचमै काटेर भनेकी थिई ।

                                              म  हाँसेको थिएँ उस्को समर्पण र पागलपनमा । उस्को पागलपन भनौँ मायामा समर्पणले एउटा सिमा नाघिसकेको थियो । उस्को भएको सबै सम्पती बेचेर आएको लाखौँ रुपैया उस्ले मेरो बैँक खातामा जम्मा गरेकी थिई भनौँ सुम्पेकी थिई ।

                                               मैले ख्याल ख्यालमै भनेको थिएँ – “ती सबै सम्पती लिएर भागेँ वा मेरो फोन नं परिवर्तत गरेँ भने के गर्छौ?”

                                               मज्जाले हाँसेकी थिई अनि भनेकी थिई –“मेरो अन्तरआत्मा गलत हुन सक्दैन कहिल्यै । अनि मेरो प्रेम पनि, म आफैँलाई अनि भगवानलाई भन्दा पनि बढ्ता बिश्वास गर्छु तिमीलाई ।” म अवाक् भएको थिएँ र छु पनि । मलाई प्रत्येक पल डर लाग्थ्यो उस्को बिश्वासलाई जिबीत कसरी राख्ने भनेर ? मेरो दुख, मेरो खुशी, निराशा अनि म सामान्य बिरामी भएको पनि उनी सजिलै थाहा पाउँथिन । म सकेसम्म लुकाउन खोज्थेँ, ढाँट्न खोज्थेँ, तर मेरा केहि शब्दसँगै उनी सबै थाहा पाउँथिन् । म छक्क पर्थेँ उ अनि उस्को म प्रतिको ब्यबहारले ।

                                            “हेर, राज म टुहुरी केटी जिबनमा मबाट एउटा ठुलो गल्ती भएको छ । म तिमीलाई त्यो सबै कुरा भन्न चाहन्छु ।” – उस्ले निकै पटक रुदैँ मसँग यो कुरा भनेकी थिई । तर मैले सुन्न चाहिँन । उस्को प्रायश्चीत मलाई काफी थियो ।

                                      “भुलिदेउ ती गल्तीहरु, अब नयाँ जिबनको शुरुवात गर्नुपर्छ तिमी अनि म मिलेर ।” – मैले यस्तै यस्तै भनेको थिएँ उस्लाई ।

                                      ख्याल ख्यालमै शुरु भएको फोन बार्ता क्रमशः सिरीयस मोडमा थियो । म पनि अति नै माया गर्थे उस्लाई तर उस्को जति चाहिँ हैन नै । उ सबै थोक छोडेर मेरो साथ नयाँ जिन्दगी बिताउन आएकी थिई । बालाजु पार्कमा भेट्ने रहर थियो पहिलो पटक उस्लाई अनि सिधा पशुपतीको दर्शन गरेर जिन्दगीको नयाँ यात्रा शुरु गर्ने ।

                                         “हेर राज, अब मेरो तिमी बाहेक संसारमा कोही र केहि छैन । म केहि नभएर पनि परिपुर्ण छु भरिपुर्ण छु । किनकी मेरो साथमा तिमी छौ ।” – उस्ले सबै छोडेर र त्यागेर आउने बेलामा मलाई भनेकी थिई । म केही उत्तर दिने स्थीतीमा नै थिईँन । उस्को माया अनि बिश्वासले मलाई थिचेको थियो । देख न भेट मात्र फोनमा गरेको कुराको भरले जिन्दगी सबे सुम्पिने उसँग मलाई डर लाग्थ्यो उस्को अगाडी म खरो उत्रन सकुँला  त ?

                                          अतितको सोचाईसँगै ब्यग्रता बढ्दो छ, भेट्ने समय घर्किसकेछ । भन्न त बाईसधारा अगाडी नै भनेको हो । कि पार्कमा अन्तै कतै आएर बसेको हो कि ? यस्तै सोचेर बाईसधारालाई एक फन्को लगाएँ । नयाँ पालुवाको आगमनमा आफुलाई बिसर्जीत गरी बाटो र माटो भरि छरिएका पुराना पातहरु जताततै थिए तर ती पात झरेरै पनि सुखी थिएनन् ....................................


                                                                      क्रमशः

No comments:

Post a Comment

Thank You very much. Raj