Thursday, January 16, 2020

हो, म सबैको प्यारो हुनेछु : दैनिकी

              उमेर र अनुभवले खारिएका, समृद्धीको शिखर र असफलताको मैदान दुवै भोगीसकेका । अमेरिकामा निकै बर्ष बसाईँ गरेर अझै बर्षको कम्तिमा एक पटक बिदेश घुमिरहन उमेरले बासमान उमेरका साथीले चिया बसाईँको क्रममा भने 

             – तपाईँको एउटा बानी नराम्रो छ नी । 

            अप्रत्याशीत रुपमा उहाँबाट आएको कुराले मलाई केहि बेर मौन बनायो । मैले जानेसम्म र बुझेसम्म मेरा बानीहरु मलाई अग्रजहरुले सिकाए बमोजिमै थियो । अर्थात सरल भाषामा मैले अँगालेको बानी राम्रैमा गनिन्छ भन्ने मलाई बिश्वास थियो । 

            – के छ सर, त्यस्तो ? 

         अमिलिएको मन अनुहारमा नदेखियोस भन्ने सकेसम्म प्रयास गर्दै प्रतिप्रश्न गरेँ । मनले कता कता मानिरहेको त थिएन ।

           – तपाईँ योङ्ग हुनुहुन्छ, धेरै अध्ययन गर्नुहुन्छ । जिज्ञाशा राख्नुहुन्छ । त्यसैले पनि धेरै क्षेत्रको बारेमा ज्ञान छ । तपाईँसँगै भएको बेलामा साथीहरुले कुनै बिषयमा कुरा गर्दा हरेक पटक तपाईँले उनीहरुको कुरा भन्दा माथि बढेर आफ्ना कुराहरु राख्नुहुन्छ भलै ती सत्य र तथ्यमा आधारीत होलान् तर त्यसले अरु साथीलाई नराम्रो फिल गराउँछ । तपाईँ जान्ने हुनुभयो भने साथीभाईहरु बाट झन् टाढा हुनुहुन्छ । साथीभाई आफुभन्दा जान्ने भएको शायदै कसैलाई मन पर्छ । अहिलेको जमानामा नजान्ने मान्छेलाई सहानुभुती मिल्छ........ । 

         –भनेपछि मैले के गर्नुपर्छ त ? कसैले गलत बोल्यो भने पनि चुपचाप सुनिरहने त ? आफुलाई गलत भन्ने थाहा भएपछि पनि चुप लागेर........

            मैले बिचमै टोक्न खोजेँ । 

          – हो यहि बानी त नराम्रो नी । पहिले मेरो कुरा सुन्नुस न । निर्मला हत्याकाण्डमा ठुलो मान्छेको हात छ भनेर साथीहरु गफ दिरहेको बेलामा तपाई आएर हैन भन्ने तथ्य दिनुहुन्छ । रवी काण्डमा सबै साथीहरु उसको सपोर्टमा बोलिरहेको बेलामा तपाई आएर रवीको पनि गल्ती छ भन्नुहुन्छ । के पी को सरकारलाई गाली गरिरहेको बेलामा आएर काम गर्दै छ त भन्नुहुन्छ । अनि त्यहाँ रहेका साथीहरुलाई त्यो सह्य हुँदैन । 

             हेर्नुस, कसैले सोधे मात्र आफ्नो ज्ञान बाँड्नुस । नत्र सरकारले राम्रो गरेको छ भनेर साथीहरु गफ गर्दैछन् भने हो गज्जब गरिरहेको छ भनिदिनुस् । सरकार खत्तम छ भने भने हो हो खत्तम छ भन्दिनुस् । तपाईसँग भएको मान्छेले के सुन्न खोजेको छ त्यही कुरा गरिदिनुस् । कसैले यौनको बारेमा कुरा गरेर मज्जा लिईरहेको छ भने त्यहाँ गएर छाडा कुरा नगर नभन्नुस् । कोहि नाङ्गै हिनेको छ भने लुगा लगाईदिन नखोज्नुस, हिन्न दिनुस् । बरु त्यो ठाउँबाट कुनै निहुँ पारेर भाग्नुस् । कसैले शेयरको बारेमा चासो राख्छ भने त्यही कुरा निकालनुस्, कसैलाई गाडीको बारेमा कुरा गर्नुछ भने त्यसैको कुरा गर्नुस् । जस्तै : मैले नयाँ घर किनेँ भने मेरा आफन्त र साथीभाईलाई सुनाउँदा मज्जा आउँछ । कोहि खुशी होलान् ? कोहि जल्लान् ? तर यता कफि सपमा, उता खाजा घरमा भन्दै हिँडे भने कस्लाई के मतलब र ? घर कीनौँ की दरबार उनीहरुलाई के सरकार ?  ...............   

           उनले मलाई बिचमै रोक्दै ठूलो आवाजले निरन्तरता दिए ।
      
       निकै बेर तितै मानेर भए पनि निरन्तर सुनेँ । अझै दोधारमै छु तै पनि उनले भनेअनुसार गर्दा राम्रो भन्ने निष्कर्षमा पुगेको छु । 

        घरमा श्रीमती र सन्तान भएरै पनि बाहिर अर्कीसँग बढि समय र माया दिने साथीलाई त्यसो गर्नुहुन्न भन्दा टाढिएको सम्झदैँ अब देखि ओहो कस्तो गज्जब गरेछौ भन्ने प्रयास गर्नेछु । 

         ट्विटर फेसबुक जस्ता सामाजीक संजालमा आफुभन्दा साना नानीहरुलाई बिभिन्न बहानामा नजिक ल्याउँदै कुविचार साँध्ने साथीहरुलाई कस्तो राम्रो गरेको भन्न प्रयास गर्नेछु । 

        सानातिना काम गर्ने मान्छेहरुलाई बोल्दा हेपेर बोल्ने साथीहरुलाई वा भन्ने प्रयास गर्नेछु । 
  
       जथाभावी सार्वजनिक र निजी स्थानहरुमा फोहोर गर्ने र हानी पुर्याउनेहरुलाई कत्रो आँट हजुरको भन्ने प्रयास गर्नेछु । 

       सबै चोर, ठग, ब्यभिचारी, भ्रष्टाचारी साथीहरुलाई हजुर कस्तो महान भन्ने प्रयास गर्नेछु ।

      गलत बाटोमा हिन्नेहरुलाई कस्तो राम्रो बाटो भन्दै हौसला दिनेछु । 

      हो, 
           म अब सबैको प्यारो हुनेछु, सबैको सहानुभुतीको पात्र बन्नेछु । 
                                                                                                            अस्तु

No comments:

Post a Comment

Thank You very much. Raj