“गोपाल आज बौलाहा यात्रामा निस्कम् ।” – मैले गोपाललाई फोन गरेँ । चलचित्रको कार्यशालाबाट भर्खरै घर फर्किएका गोपालको लागि यो प्रश्न अस्वाभाविक थियो ।
“लौ कता जाने यार ।” – गोपालले सोध्यो ।
“ठेगान छैन यार, जे जे पागलपन गर्न सकिन्छ गर्ने गरि जाउँ । भिजौँ, अझै गाडीमा होईन मेरै स्कुटीमा जाने । शायद दोलालघाट तिर गइन्छ की ।” – मैले योजनाको हलुका खाका तेस्र्याएँ ।
“ल मेरो क्लास छ यार ।”
“ह्या गोली मार्देउ क्लास स्लास ।”
“हैन यार बरु क्लास सकाएर जाने । म साँढे दुई बजे स्वयम्भुबाट हिड्न सक्छु । म कक्षा सकिने बित्तीकै फोन गर्छु नि ।”
म दोधारमा र बिना योजना चुपचाप बसिरहेको छु घरमै ।
“केहि बिशेष छ कि त्यतीकै हो बुढा मान्छे ? मलाई अलिक अप्ठेरो छ यार ।” – मोबाईलको अनुहारमा सन्देश देखियो दिउँसो १:२३ मा ।
“ठिकै छ पछि जाउँला नी त ।” – मेरो योजना तुहियो ।
“म एक घण्टामा कल गर्छु है ।” – गोपालको सन्देश पढेपछि म चुपचाप ओछ्यानमा ढल्किएँ ।
करिब तीन बजे मोबाईलको आवाजले ध्यान तान्यो । गोपाल आउने भएछन् । म उठेर तयार भएँ त्यही बिचमा गोपालले सातदोबाटो आईपुगेको सन्देश पठाए । हतार हतार म कोटेश्वर निस्केँ । चोकमा गएर पर्खेँ तर झण्डै आधा घण्टा कुराए गोपालले मलाई । भन्थे उनी पनि अर्को तर्फ अर्थात पारी आधा घण्टा नै कुरे रे ?
पछाडी ल्यापटप सहितको झोला बोकेर लामालामा गुन्द्रुके कपालका धनि गोपाल सबैको ध्यान तान्दै चोकमा आईपुगे ।
हामी बाटो लाग्यौँ करिब करिब सूर्यबिनायक पुगेपछि याद भो सवारीका कुनै कागजपत्र थिएन न त सवारी अनुमतिपत्र नै अनि हामी बन्यौ कुनै परिचय पत्र बिनाका । हाम्रो परिचय फगत हाम्रो अनुहार । पागलपनको यात्रा शुरु भइसकेको पत्तो पायौँ हामीले ।
“जहाँ समाउँछ त्यहीँ छोड्ने पछि गएर ल्याउने । अब के गर्नु त ?” – आपदलाई हलुकासँग लिदैँ बोलेँ म ।
बाटोमा पानी परेको छ साथमा रेनकोट छ तर ओढेका छैनौँ । भक्तपुरमा पेट्रोल भरेर हामी साँगा हुँदै बनेपा कटेर धुलिखेल पुग्यौँ । साँच्चै भन्दा बिपी राजमार्गको बारेमा धेरै सुनेर पनि नमोबुद्ध जानेबाटोबाट नकटेको म नेपालथोकसम्म पुग्न चाहन्थेँ । नयाँ ठाउँ नया यात्रा, नयाँ मान्छे मेरो यात्राको उदेश्य थियो । गोपाललाई नेपालथोक र भकुण्डेबेशींको बारेमा बताउँदै गएको थिएँ । गोपालको मन दोलालघाट जुन शुरुको योजना थियो त्यतै जाने थियो । म यात्रालाई बिना योजना सनकको यात्रा बनाउन चाहन्थेँ त्यसैले पनि नेपालथोक रोजेको थिएँ ।
“नेपालथोकमा कोशी छ नी ?” –गोपालको प्रश्नको उत्तरमा मैले छ भन्ने पक्का गरेँ । संकल्पको कार्यक्रममा समिर दाजु र राजेश दाजुसँग पोखरा जाँदा फेवामा हामफाल्न लुगा बोकेर गएका गोपाल फेवाको अनुहारसम्म नदेखि आउनु पर्दा दुखित थिए । अर्कोपटक जाँदा सुरज अर्याल, झलक पौडेल लगायतका पोखरेली साथीहरुलाई पनि फेवामा डुबाउनु पर्छ अनि साँवा ब्याज दुवै उठ्छ नी । कि कसो गोपाल ?
डुब्न पाउने भएपछि गोपाल बदलिएछन् वा यीनलाई पनि सनक नै चढ्यो । दोलालघाट वा नेपालथोक कहाँ जाने भनेर निश्चित हुन टस गर्नको लागी धुलिखेलको चोकैमा बिसियौँ । गोपालले सिक्का निकाल्यो, मैले हेड र नेपालथोक भनेँ गोपालले पनि टेल र नेपालथोक नै रोज्यो । सिक्का हावालाई चुमेर गोपालको हातमा खस्यो ।
हामी बाटोमा गीत गाउँदै, चिच्याउँदै, हल्ला गर्दै र भिज्दै बिल्कुल अन्जान पथमा अगाडी बढ्यौँ कुनै राम्री साहुनी भएको पसलमा गएर दुध चिया खाने अभिलाषा बोकेर । जब पात्लेखेतबाट अगाडी बढ्यौँ बाटोको बनावट देखेर नतमस्तक भयौँ । काटेको कम भरेको बढि त्यो घुमाउरो बाटोले मोहनि लगायो हामीलाई । धेरै ठाउँमा अडिएर आखाँभरि हेर्यौँ ती तरेलि परेका बाटोका दृश्यहरु । गोपाल डराएछ कि के हो बाटो मुनिका ठाडा भीरहरुदेखि वा मेरो चालक्याँई देखि भन्न थाल्यो – “बरु भित्ता तिर जोतम् तर छेउतिर नजाम है ।”
गोपालको एउटा गज्जबको बानी छ बाटोमा कोहि तरुनी देखेपछि आँखा जुधाएर झिम्काईदिने । बाटोमा देखे र भेटेको ठाउँमा त्यो कार्यक्रम लागु भई नै रह्यो । कोहि हाँसे, कोहि लजाए, अनि कतिले त धारे हात पनि लगाए । उफ् ! धारे हात लगाउनेहरुको नखरा त कसरी बिर्सनु ? रमाउँदै हामी भकुण्डे पुगेछौँ । मैले स्कुटर साईड लगाएँ गोपालको सातो उड्यो कारण मात्रै केहि अगाडी एउटीलाई आँखा मारेको रहेछ त्यसले आएर पीट्ली की भन्ने डर ।
भकुण्डेमा यसो अगाडी हेरेको टन्न कटहर राखिएको रहेछ मिलाएर एउटा निकालेर जोख्न लगाएँ ५ किलो भयो । लिएर हातमा तेल घसेर फोरेँ बाठा गोपालले हातमा प्लाष्टिक बाँधेर खाए भने म खाली हात चोपेर कटहरको चोपले चोपिलो भएँ । रमिता बनाएर चोकमा बसेर कटहर बुत्याइयो । कोटेश्वरबाट ४:०० बजे हिँडेको हामी ६:०० बजे भकुण्डे पुगेका थियौँ ।
पाँच किलोको कटहर र मेरो हात |
भकुण्डेका केहि सहृदयी स्थनियबासीहरुसँगको भलाकुसारी पछि हामी त्यहाँबाट ३० किलोमिटर टाढा रहेको नेपालथोकको यात्रामा लम्कियौँ । बाटो करिब करिब खाली र राम्रो थियो । कालढुङ्गाकै आसपासमा बाटो बिग्रेर बनाइदैँ रहेछ । साँझको बेलामा शितल हावाको आलिंगनमा बाधिँएर एकातर्फ रोशी र अर्कोतर्फ बस्ति हेर्दै नेपालकै सबैभन्दा राम्रो बाटोमा बत्तिनुको मज्जा शब्दहरुले कसरी बर्णन गर्लान र ?
भकुण्डेबेशीं |
रोशीको बारेमा सम्झँदा एउटा रमाइलो कुरा भएको थियो । गोपालजीलाई भ्रम भएछ क्यारे बाटोमा निकै बेर गलफत्ती चल्यो । गोपालको अनुसार बाटोमा पर्ने खोला शालीनदि हो र त्यसमा उनी सम्झौता गर्न तयार देखिएनन् भने म पक्का थिएँ शालीनदि त्यो होईन भनेर तर मलाई थाहा थिएन त्यो कुन खोला हो भन्ने ? हाम्रो निकै बेरको गनगनलाई मत्थर पार्दै गोपालको जिद्दीलाई कुनै बटुवाले समाप्त पारिदियो ।
रात बढ्दो छ, सवारीको बत्तीप्रती आकर्षीत किराहरुको हुल अनुहार भरि ठोकिन्छ बिशेष आँखा त खोल्नै भएको छैन । जसरी तसरी हामी अगाडी बढ्दै छौँ । सडकलाई तलबाट उठाईएको पर्खालको बिचमा सिचाइको लागी बनाईएको कुलो कम्ता आकर्षक थिएन । वर्ल्ड कप ईन नेपाल भन्ने चलचित्रको नायक गोपाल खोलाको दायाँबायाँ बनेका अनेकन फुटबल मैदान देखेर फुलेल थिए । हुन पनि गोलपोष्टमा जाली समेत हालिएको ती मैदानका नजिक बस्ती पनि देखिन्न थियो ।
एकैछिनमा सिमसिम पानी अर्कोछिनमा सुख्खा मौसम भोग्दै हामी करिब आठ बजे नेपालथोक पुग्यौँ । सडक किनारमा लहरै देखिने कटहरको बोट र खस्यो भने टाउकै फुटाऊलान लाग्ने ठुला ठुला कटहर, लस्करै ठड्याईएका ढोडका कुन्युहरु अनि भर्खरै रोपाईं सकिएका सुकुमार खेतहरु अझ हरेक घरको अगाडी जम्मा गरिएका बिभिन्न तरकारीहरु र खाली खाली चिल्ला सडकहरु । वा ! कसरी बयान गरुँ म ।
रातले झपक्कै छोप्यो, सडकको छेउमा निकै संख्यामा बसहरु देखेपछि हामीलै थाहा पायौँ हामी नेपालथोक आईपुगेछौँ । तातो हावा महशुस गर्दै सडकमै एकजनालाई समातेर सोधपुछ गरेपछि थाहा भयो अलिकती पर दुम्जा भन्ने ठाउँमा नेपालथोकको भन्दा राम्रो बस्ने र खाने सुबिधा रहेछ । त्यतै लाग्यौँ र एउटा अलिक राम्रो देखिने कुशेश्वर नामको होटलमा छिर्यौँ । खाने बस्नेबारेमा राम्ररी सोध्नु अगावै साउजीको – “पैसा भएर पनि खान नपाईने भो, मासु किन्न गाको कतै पाएन ।” भन्ने गुनासोले हामी आहत भयौँ । खाना त जे पनि ठोसिएला तर गर्मिमा कम्तिमा पंखा त होला अनि लामखुट्टे भगाउने उपाय त केहि होला भन्ने आशामा पनि साउजीले तुषारापात गरिदिए ।
पारीतर्फ रामेछाप जिल्लामा बत्ती बल्ने रहेछ । अलिक पर काभ्रेपलाञ्चोकमा पनि बल्ने रहेछ तर यहि दुम्जा र नेपालथोक जुन सिन्धुली जिल्लामा पर्छ बत्तीको सुविधा रहेनछ बरु फ्रीज थियो तर चिसा पेय पदार्थ ठुला डेक्चीको पानीमा डुबाएर राखिएको थियो । सौर्य बत्तीको उज्यालोमा केहि खानेकुरा खाएर हामी फिर्ता भयौँ भकुण्डेबेशींको लागी । दुम्जा मै करिब साँढे आठ भईसकेको थियो ।
आक्कल झुक्कल बाहेक बाटो सुनसान छ । कहिलेकाहीँ बेमौकामा धोका दिने स्कुटरदेखि मलाई ठुलो डर छ तर त्यो डर गोपाललाई बाँड्दिन म । परसम्म देखिने टाउकोबत्ती (हेडलाईट) बालेर सडकमै करिब करिब २५ किलोमिटर प्रतिघण्टाको दरले बत्तिदै छौँ हामी । बाटोमा देखिने घरहरुमा अलिक गती कम गरेर – “काका, हामी गएम है । राम्ररी बस्नुस ।” – भन्छु म ।
“अहिले उठेर आउलान पछि पछि ।” – गोपालको आशंका ।
“गाउँमा को भतिज आएछ भनेर सोच्दा सोच्दै हामी डाडाँ कटिसक्छौँ ।” – मैले जवाफ फर्काएँ ।
आँपटारीबाट अलिकती अगाडी बढेपछि होला सडकको छेउको एउटा पोलमा बसेको कुनै जिवको एकजोडी टल्कने आँखा देखेर मन ढक्क फुल्यो । डरमै हो कि म उ उ उ भन्दै कराएँ । त्यो उड्यो, भयंकर ठुलो आकारको हुचिल रहेछ ।
अब दुध चियाको आशा मारिसक्यौँ, राम्री साहुनीको हातबाट चिया खाने त सपनै भयो । रातको नौ बज्नै लागेको छ, हामी चिउरीबासको एउटा होटलमा बसेर साउजीले बनाएको चिनी र नुन मिसाएको कालो चिया पिउँदैछौ सँगसँगै गोपाल सूर्य नामको क्यान्सर पाईप तान्दैछ । हैन नाम पिन के राखेका त ? चट्याङ्ग, बारूद, पहिरो, सावधान, मृत्यु राख्नु नी ।
क्यान्सर पाइप |
पारीतर्फ केहि अजंगका लाईटहरु बनमा घुम्दैछन् शायद कालिजको शिकार गर्न लागेका होलान् कि ? भकुण्डे १८ किमी टाढा रहेछ त्यहाँ अर्थात चिउरीबासबाट ।
“गोपाल सलाई त छ नी ?” – बाटोमा म सोध्छु । गोपाल लाईटर भएको उत्तर दिन्छ । म मनमनमा अर्को आपतकालिन योजना बनाउँछु । यदि स्कुटरले बनकै बिचतिर धोका दिएमा आगो सल्काउन पाईने भो । आगो भएसम्म त मरिदैँन है ।
“ल अब चैँ त्यही हो भकुण्डे ।” – गोपाल बोल्यो । गोपालका सम्भावीत भकुण्डेहरु पछाडी नै तीनवटा छोडिसकिएको छ ।
हो रहेछ, भकुण्डे नभए पनि नजिकैको अर्को बजार आयो र एकैछिनमा भकुण्डे पनि । मैले गोपालको आँखा छलेर स्कुटीलाई एक उड्ने चुम्बन (फ्लाईग किस) दिएँ ।
अघिनै दिउँसो कटहर ख्वाउने साउजीको पसल खुल्ला रहेछ । उनले केहि होटलमा फोन गरे तर कोठा पाईएन । नजिकै संजय होटल एण्ड लजमा गएर कोठा मिलाईयो अनि जिन्दगीमा कमै खाईएको किसिमको खाना खाईयो जस्को असर गोपाललाई राती देखिएछ अर्थात बेलुकी खाएको खाना मुखबाट निष्कासन हुन बल गरेछ ।
हामी बसेको लजको सबैभन्दा राम्रो कोठामा बसेर हामी भोलिपल्ट बिहानै साँढे पाँचै बजे काठमाडौँको लागी प्रस्थान ग–यौँ ।
साँगा र शाहरूख |
पहिले त कुहिरोको शीत झैँ लागेको थियो तर निथ्रुक्कै भएपछि थाहा भो सिमसिम पानी नै परेको रहेछ । हिजोको रहर मरेको थिएन त्यसैले आज पनि राम्री साउनीको हातबाट दुध चिया खाने रहर उमार्दै अगाडी बढ्यौँ । पात्ले खेतमा एकजना राम्री साउनी देखेर स्कुटर साईड लगाएर सोध्यौँ – “चिया खान पाईन्छ कि ?”
“पाईन्छ हजुर पाईन्छ ।” – साहुजीले पो उत्तर दिए । आवाजको पछि पछि साहुजीको गोरो अनुहार देखियो । गोपालको र मेरो मुखबाट जोरदार हाँसो खुस्कियो मैले जसोतसो रोकेँ गोपालले धर्मराज थापाको गीत गाउन थाल्यो ठुलो ठुलो स्वरमा – “म त त्यस्तो हैन है पीरतीले जोगी बनायो ।” गोपालको यो गितीक्रन्दन त्यहाँ बसुन्जेलसम्म रह्यो । जे होस चिया चैँ साहुनीले नै बनाएर ख्वाईन् ।
साउजीले उनको भन्ज्याङ्ग रिसोर्ट दर्शन गराए सुविधाजनक नभए पनि रमाईलो रहेछ र साउजी पनि फरासिला रहेछन् । केहि साथीभाई मिलेर गए रमाइलै होला भन्ने ठहर गरेँ मैले ।
पात्लेखेतका साउजी र कुलंगार गोपाल |
भिज्दै भिज्दै घर आईपुगियो । चिसोले बिरामी हुने डर थियो भईएन राम्रै भो ।
म कन्फरम गरेर भन्न सक्छु की, हाम्रो यात्राले देशको लागी केहि योगदान त गरेकै छ । अरु नभए पनि डाडाँकाँडाका बोटबिरुवामा मल र जल त प्रशस्त सिंचन गरियो ।
ए अँ,
मसँग छुटेर चलचीत्र कार्यशालामा भाग लिन गएका गोपालले दिउँसो सपनामा कोदोको पानी खाईरहको देखेछन् जुन उनको ठुलो रहर यो यात्रामा पुरा हुन सकेन ।
अस्तु
Ramro chha 'sanak'
ReplyDelete