प्रीय तिमी,
निकै दिनपछि म तिमीलाई सम्बोधन गर्न गैरहेको छु । बिर्सेको त हैन तर किन किन सम्झन पनि मन लाग्दैन । सम्झना आए पनि म तिम्रो सम्झनालाई नजर अन्दाज गर्न अभ्यस्त भईसकेको छु ।
खै किन किन आज म बिल्कुल एक्लो महशुस गर्दैछु । भीडको बिचमा पनि एक्लो, फगत एक्लो । आज बिहान नराम्रो सपना देखिएछ, बितिसकेका हजुरबा सपनामा पनि बितिसकेका थिए तर अन्तिम सद्गत गर्नु अगाडी बिउँझेर सँगै घर फर्के । मलाई टड्कारै याद छ, हतार हतार हजुरबाको मलामी गएको थिएँ म सपनामा । एउटा समुद्रजस्तो ठाउँमा सफा पानीमा डुबाएर राखिएको थियो हजुरबाको लास । हेर्दा हेर्दै हलुका आँखा खुले अनि मुख पनि । केहि बेरमा हजुरबा डुबेको पानीबाट फुत्तै उठे र किनारमा आएर बसे । ‘बाबु मेरो त कमिज पनि सबै हिलो भएछ । हिँड घर जाउँ ।’ भनेर डोर्याएर हिँडे ।
सपनाबाट बिउँझे निकै बेर सोचेँ । खै किन किन डर लाग्यो र अनौठो पनि । त्यतीखेरबाट नै मेरो कान भित्र र टाउकोको भित्री भाग नराम्रोसँग दुख्न शुरु भयो । सकेसम्म सहेर बसेँ, दिनभर दुखाई सहेर दुई दुईवटा महत्वपुर्ण मिटिङ सकेँ । दिनभर मलाई कसैको सहारा चाहिएको थियो । म कसैलाई मेरो पीडा सुनाउन चाहन्थेँ । दिनभर तिम्रो फोन लगाएँ अनेक प्रयास गरेँ तर एउटा फोन अफ थियो अनि अर्कोमा धेरै प्रयासका बाबजुद पनि उठेन, सन्देश पठाएँ जवाफ आएन ।
एक्लो जिवन कति बिबश अनि पीडा दायक हुँदो रहेछ महशुस गर्दैछु म । रुन चाहन्थेँ सकिँन, हाँस्न र बोल्न दुखाईको लहरले रोक्यो । अस्पताल जान चाहन्थेँ रीत्तो खल्तीले छेक्यो । हातमा पैसा नहुनु पनि कति पीडादायक हुँदो रहेछ ?
जिन्दगी पीडाको ईँटमा अडिएको हुने रहेछ खुशी त सिर्फ पील्लर मात्र कतै कतै देखिएजस्तो । तर त्यही खुशी अनि त्यही पिल्लरले भर दिएको जिन्दगी, नत्र त जिन्दगी कहिले ढलिसक्ने थियो ।
ए, गुनासो त बाँकी नै रह्यो । दिनभर डराएको अनि निर्बल भएको म एक्लो एक्लो भौतारीरहेँ । केहि हराएजस्तो अनि धेरै डराएजस्तो, डरलाई भर दिन बेलुकी पख अर्को घटना घट्यो । साँढे सात बजे कोटेश्वरबाट घर फर्केर आउँदा बाटोमा एउटा कुकुर जत्रै ठुलो बिरालो मेरो अगाडी बाट बाटो काट्यो अनि फर्केर मेरो मोटरसाईकलमा ठोक्कियो । बाटोमा निकै साहस गरेर होसियार साथ घर फर्केर त आईपुगेँ तर बिहान देखिको घटनाक्रमले डर लागीरहेको छ ।
हिजो सम्म ढोका खुल्लै राखेर सुत्ने म आज खुला झ्याल देखेर बल्ल तल्ल डराउँदै बन्द गरेँ । ग्याँस देखि डराएर रेगुलेटर झिकेर राखिदिएँ । टि भी पो पड्कीएला की भन्ने डरले टीभी हेर्नै सकेको छैन आज, मोबाइल पड्केला भन्ने डरले मोबाईल बाहिरको कोठामा टेबलमाथि राखेको छु । पानी पिउन डर लाग्दै छ अड्केला कि भनेर । अनि कम्प्युटर बन्द छ डरले । हुने भए रातभर कुनै खुल्ला चौरमा उभिएरै काटिदिन्थेँ ।
डरले र आशंकाले भित्रै देखि कमजोर पार्दो रहेछ मान्छेलाई ।
अँध्यारो देखि डर लाग्दैछ अनि उज्यालो देखि पनि । यो डर भन्ने कुरोले पनि मान्छेको कमजोर मनलाई आक्रमण गर्ने रहेछ । डर यस्तो लाग्दैछ आमाको काखमा शीर अड्याएर ढुक्क भएर बसुँ वा बाबाको छेउमा लुटपुटिएर डरलाई भगाउँ । अथवा जिवन सङ्गिनी वा प्रेमीकाको आलिङ्गनमा बाँधिएर सबै कुरा बिर्सिदिउँ । तर जिवनसँग लड्दा लड्दै सबै बाट टाढा भईएछ, धेरै टाढा ।
प्रीय, चिन्ता नगर म फेरि पनि जित्नेछु यो डरलाई जसरी जिन्दगीलाई घाईते भएरै पनि जितिरहेछु । अझ सपाट भन्दा म घाईते अवस्थामा पनि लडिरहेछु जिन्दगीसँग । भिड्नुको परिणाम ? म हार्छु अनि जिन्दगी पनि हार्छ अनि एकदिन हजुरबाकै बाटोमा समर्पीत हुनेछु ।
अस्तु
राज
No comments:
Post a Comment
Thank You very much. Raj