कहिलेकाहीँ जिन्दगी कति रमाईलो लाग्छ त कहिले अनौठो अनि कहिले नरमाईलो पनि । हुन त अतित सम्झेर के नै गर्न सकिन्छ र ? तर कति कुरा अनौठा लाग्छन् अलिकती लाज अलिकती पश्चाताप अनि अलिकती गर्व । आहा ! ती दिनहरु न चाहेर बदलिन्छन् न नचाहेर सम्हालिन्छन् ।
आज एउटा दैनिक पत्रिकाको मोबाईल भर्सन खुसुक्क हेर्दा हेर्दै एकैपटक हुत्याएर केहि बर्ष अगाडी पुर्याईदियो मलाई । पहिलो दिपक राज गीरीको छोरी हिरोईन बन्ने अनि दोश्रो नायक अर्जुन कार्की सगरमाथा चढ्न हिँडे भन्ने समाचार ।
त्यसबेला नाचेरै हिरो बनेका दिलिप रायमाझि र शुसील क्षेत्रीको लोकप्रियताले काठमाडौँका गल्ली गल्लीमा नृत्य र अभिनय स्कुल हरु च्याउ सरि उम्रदै थिए । नरेशले चलाउने आँगन भन्ने नृत्य कार्यक्रम नेपाल टेलिभिजनको चल्तिको कार्यक्रम थियो ।
भर्खरै एस एल सी सकेको एउटा अल्लारे केटो एकदिन घुम्दै बागबजार गयो । बागबजारको मध्यभागमा रहेको एउटा घरको पहिलो तल्लामा छिरेर संगीत सिक्ने फारम भरेर फर्कियो रु ५० तिरेर । अर्को दिन बिहानै गार्मेन्टमा कपडाका कार्टुन बोकेर कमाएको रु ५०० बोकेर संगीत सिक्न गएको त्यसलाई आफु ठुलो गायक भएको भ्रम भइसकेको थियो । एयरपोर्टको कालिमाटीडोल देखि लुखुर लुखुर हिडेँर बागबजार पुगेको त्यो संगीत सिकाउने शिक्षकसँगै सारेगमको तालमा कराउन थाल्यो, उस्को छेउमा हाल संगीतको दुनियाँमा केहि नाम कमाईसकेकी काभ्रेपलाञ्चोककी श्वेता उप्रेती लगायतका साथीहरु थिए । अरुको त याद गरेन तर ऊ भने सारेगमको एक जप लगाउँदा बसेको मान्छे थाहै नपाई उठ्नै लागेको पोजिशनमा पुगीसकेको हुनेरहेछ ।
पहिलो दिन त त्यतीकै बित्यो तर उसलाई थाहा भईसकेको थियो संगीत मेरो लागी भएपनि म संगीतको लागी होईन भनेर । पैसा तिरीइसकेको थियो फिर्ता हुने सम्भावना थिएन । अत त्यही दिन संगीतको समुहबाट नाम कटाएर नृत्यको समुहमा नाम समाबेश भयो । नृत्य सिकाउने मुख्य प्रशिक्षक थिए राजेश के सी अनि सहायकहरुमा राजेश जी कै धर्मपत्नी लक्ष्मी के सी लगायत रत्न र अर्को एकजनाको नाम भुलेछ थिए ।
ढुङ्गा जस्तो अररो शरिर लिएर खुब पसिना बगायो । त्यती बेला नै होला चलचीत्र क्षेत्रका धेरै भन्दा धेरै कलाकारहरुलाई चिनेको देखेको र भेटेको पनि । उनीहरुको सान, मान र ब्यबहार देखेर शुरुको दिनमा त खुबै प्रभावीत भयो तर जति जति नजिकबाट चिन्दै र जान्दै गयो । सान र मानका सबै जलपहरु खुईलिदैँ गए ।
आँगन भन्ने नाच्ने कार्यक्रमको सुटीङ हप्तै पिच्छे नाचघरमा हुने गर्दथ्यो । त्यस कार्यक्रमको सहयोगी संस्था नेपाल आर्टस एण्ड कलिउड कला केन्द्र पनि थियो जहाँ हामी नृत्य सिक्ने गर्दथ्यौँ । त्यसैकारण पनि हामी त्यो आँगन भन्ने कार्यक्रममा सजिलै छिर्न सक्ने हैसियत राख्थ्यौँ । नाच्न सिकाउने गुरुहरु खुशी भए वा उनीहरुको नजरमा परे केहि पास पनि हात लाग्थ्यो । त्यो कार्यक्रमको क्रेज यस्तो थियो की जो कोही पनि त्यहाँ जान चाहन्थे । पास हात परेको बेलामा त्यो कार्यक्रम नै आफ्नै हातमा भएको जस्तो अनुभव हुन्थ्यो हामीलाई । यसो दायाँ बायाँ खोजेरै भएपनि आफ्नो पास राम्रा राम्रा केटीहरुलाई दिएर ठुलो पल्टन्थ्यौँ हामी । सबै साथीहरु एकै ठाउँमा जम्मा भएर नाचेर बस्थ्यौँ प्रतियोगीसँगै, क्यामेराम्यान सँग पहिल्यै सेटीङ्ग मिलाएको हुन्थ्यो जस्को कारण बेला बेलामा हाम्रो तीर क्यामेरा फर्काउँथ्यो । अनि आँगन हेर्नेहरुले तिमीलाई पनि देखाको थियो नी भनेर भन्दा म सातौँ आकाशमा तैरिरहेको हुन्थेँ । त्यतीखेर मलाई नृत्य सिकेको र अझ त्यो पनि नेपाल आर्टस एण्ड कलिउड कला केन्द्रबाट सिकेकोमा भयंकर अभिमान जाग्थ्यो ।
अब त यहाँहरुलाई पनि थाहा भईसक्यो होला त्यो गलत बाटोमा हिँडेको बबुरो म नै थिएँ भनेर ।
करिब करिब दुई बर्ष पसिना बगाईयो हाल बागबजारको एन सी सी बैक सँगै जोडिएको घरका तल्लाहरुमा । जिउका अररा माँसपेसीहरु भर्खर भर्खर खुल्न लागेका थिए । बल्ल नाच्न आउला कि जस्तो लाग्दै थियो आफुलाई । कलेजबाट पिकनीक जाँदा होस वा छरछिमेकमा पुजा लाउँदा होस कुनै पनि समयमा नाच्न तयार भईहालीन्थ्यो । मान्छेहरुको वाहवाही पाएर आफुलाई अर्कै ग्रहको सम्झन पुग्थेँ बेला बेलामा । समाचारमा पनि नाचुँला झै जोस थियो ।
बजारमा भर्खरै दिलीप रायमाझीको लक्ष्मण रेखा भन्ने चलचित्र आएको थियो । भानुभक्त भन्ने चलचीत्रपछि दिलीपको दोस्रो चलचित्र थियो क्यारे त्यो । खै कता कताबाट प्रिमीयरको पास पाइयो । भएसम्मको राम्रा कपडा लगाएर र राम्रो बनेर कपालको स्टायल त दिलीपकै जस्तो नै थियो म प्रिमीयरमा गएँ । हामी सबैको प्रीय भएको कारण र धेरैलाई चिन्ने गरेकोले गर्दा पनि राम्रै ठाउँमा सीट ओगटेर बस्यौँ । चलचित्र सकिएपछि हामी शिब श्रेष्ठको पछि पछि लागेर निस्कदै गर्दा केहि युवायुवतीहरुले मेरो अगाढी झुम्मिएर अटोग्राफ माग्न थाले । म अलमल्ल परेँ उनीहरुले मलाई नै दिलीप ठानेछन् । पछि पछि पनि केहि कार्यक्रममा नाच्न जाँदा सुगम पोखरेल ठानेर झुक्किएका उदाहरणहरु पनि छन् । त्यसपछि त के चाहियो र ? म आफुलाई दिलीपको हजुरबाउ ठान्न थालेँ । राजीब श्रेष्ठको फोटो स्टुडीयोमा गएर खाइनखाइ जम्मा गरेको पैसा लगाएर केहि फोटा खिचियो । राम बाटै शुरु हुने नाम भएका पत्रकारको चाकडी गरेर महानगर भन्ने सन्ध्याकालिन पत्रिकामा अन्तवार्ता छपाईयो । शिर्षक थियो – म शाहरुख खानसँग काम गर्न चाहन्छु । शिर्षक भन्दा पनि तल सोधिएका प्रश्न र उत्तर बकवास थिए ।
अन्तवार्ता र फोटा अरु केहि पत्रिकामा पनि अनेक उपाय लगाएर छपाईयो । गाउँले र आफन्तको लागी त म हिरो नै बनिसकेको थिएँ त्यतीखेर । साथीभाईहरु माझ पनि म सानो तिनो सेलीब्रेटी बनिसकेको थिएँ । पेट रित्तो भए पनि साँच्चै भन्दा पेट त हरदम रित्तो नै हुन्थ्यो हाम्रो तर पोशाक र स्टायलमा सम्झौता गरिएन । कहिले काही पैसा हुँदा विर अस्पतालको पछाडी गएर १० रुपैया र अलिक पछि १५ रुपैया प्लेट भएको ममः खान्थ्यौँ, कलंकी स्युचाटारको साथी नयन र म ।
साझाको पसल थियो महाँकालको मन्दिर अगाडी त्यहाँ जागीर खान्थे सँगै नृत्य सिक्ने साथी बसन्त । उनले बेलाबेलामा मिठाई पसलमा लगेर खाजा खुवाउँथे अनि नयनकै दाजु राजेन्द्र पनि हामीलाई बेलाबेलामा खाजा ख्वाउँथे । उनी त मान्छे ज्यानले लुरे र साना भएपनि हिरो थिए हाम्रा लागी साईकल पनि महंगो भएको बेलामा उनी मोटरसाईकल चढेर नृत्य सिक्न आउँथे अनि जागीर पनि राम्रै खान्थे क्यारे ।
समय बित्दै गयो हिरो बन्ने सपना बिस्तारै टुट्दै गयो । एउटा गीतमा मोडलिङ्ग गर्न नै आठ दश हजार लगानी गर्नु पथ्र्यो । त्यतीबेला पैसा भएका र निकाल्न सक्नेहरु मोडल बने त कति हिरो पनि बने । हामी नर्तक को नर्तकमा सिमीत हुन थाल्यौँ । सपना, रहर, ईच्छा र आकांक्षाहरु अटेस मटेस थिए तर खाली खल्तीले ती डाईनोसर जस्तै आकारका लाग्दथे ।
वागबजारले प्रशस्त समय खान्थ्यो । सुकुल गुण्डो तालले जिन्दगी कति चल्थ्यो र ? अलिअलि अभिनय सिकियो सुभाष गजुरेलसँग अनि काम खोज्न जताततै धाउन थालियो । कहिले धापासी हाईट तिर सन्तोष पन्तको घरको आँगन कुर्न गईन्थ्यो त कहिले सानोगाउँ तिर दिन बित्थ्यो । एकदिन सन्तोष पन्तलाई के दया लाग्यो कुन्नि हिजो आजको कुरामा एउटा रोल दिए । घरबाट अलिक पर खिच्न पर्ने दृश्यमा मलाई केहि अभिनय गर्न लगाए । दुई चार पटक बिगारे पनि अन्तमा राम्रै गरे जस्तो लाग्छ किनकी पछि पनि केहि पटक अनुहार देखाउने मौका दिए सन्तोष पन्तले । अब त घर छिमेकहरुको नजरमा पनि नजर जुधाउन सक्ने भएँ म । घर र आफन्तले सहयोग गर्न थाले जसको कारण म एकैपटक अभिनय र फिल्मी फाईट सिक्न थालेँ । अभिनय सुभाष गजुरेलले सिकाउँथे र माया पनि गर्थे तर फिल्मी फाईट सिकाउने गुरु भने मुटु नै नभाको जस्तो क्रुर लाग्थ्यो ।
हाम्रा फिल्मी गुरु त्यतीबेला नायकसँग भिड्थे खलनायकको पछि पछि लागेर अर्थात साईड फाईटर थिए र अलि अलि स्टन्ट पनि गर्थे । ज्यान ढुङ्गा जस्तो थियो जति हाने पनि दुख्दैन भन्थे पछि हिरो बने उनी अर्थात अर्जुन कार्की । फिल्मी फाईट सिक्ने हामी १० जना जति थियौँ । याद भएका केहि नाम मध्य म, साथी नयन, दिपक त्रिपाठी, एक नजर भन्ने फिल्म बनाउने अनि खेल्ने हिरो आदि आदि । ढाडका छाला खुईलिएर काला भएका थिए । टाङ फार्न लगाएर तिघ्रामा टेक्थे अर्जुन कार्की हामी तुरुक्क आँशु चुहाउँथ्यौ । सबैभन्दा बढि सकस त दिपक त्रिपाठीलाई पथ्र्यो भर्खर मुनामदन भन्ने फिल्ममा हिरो बनेका उनको सर्बत्र चर्चा थियो । अभिनयमा जब्बर मानिन्थ्यो उनलाई लामा लामा डायलग पनि सजिलैसँग बोल्न सक्थे भनिन्थ्यो त्यतीखेर । हाम्रो तुलनामा निकै उमेर खाईसकेका उनी खुब मेहनत गर्थे तर उनको हालत अत्यन्तै खराब हुन्थ्यो ।
अब घर परिवारमा पनि केहि गर्ला की भन्ने आश पलाउन लागीसकेको थियो । फिल्म कर्मीहरु साथी थिए कति हिरोसँग अगाडी पछाडी हिड्ने हैसियत बनाईसकेको थिएँ । हिरो बने लालशा बेस्सरी टुसाउँदो थियो ।
...........
...........To BE CON........................
...........To BE CON........................
WOW!!SUPERB!!EAGERLY waiting for next
ReplyDelete