आज गुरु पुर्णिमा, जानी नजानी प्रत्यक्ष अनि अप्रत्यक्ष धेरै जनाबाट धेरै कुरा सिकिएछ जिवनमा । ट्वीटरमा एउटा साथीले भनेझैँ हस्तरेखा देखि हस्तमैथुन सम्मका गुरुहरु थिए मेरो जिवनमा पनि । हात समाएर लेख्न सिकाउने यमुना मिस, गुलेली चलाउन सिकाउने कैले, रुख चढ्न सिकाउने राजन दाई, पौडी खेल्न सिकाउने श्री दाई, काठमाडौँको रात्रि जिवनमा घुलाउने यम दाई, काठमाडौँ वरिपरि र राजमार्गका यौनालय घुमाउने हरि दाई आदि आदि । जस्ले जे सिकाए पनि मैले के के जानेँ भन्ने कुरो जिवनमा महत्वपूर्ण हुँदोरहेछ ।
समाप्त
झुक्केरै सहि एउटा चरा मारेपछि जिन्दगी भर गुलेली चलाईन मैले, शायद त्यो चराले छट्पटिएर आफ्नो ज्यान दिएरै पनि मलाई केहि सिकाएर गयो । त्यसपछिका बर्षमा म कुनै पनि जीव जनावरलाई पिडा दिएको देख्न सक्दिन । राजन दाईले कहिले हौसला दिदैँ त कहिले प्रतिस्पर्धा गराउँदै रुख चढाउने बानी नलगाएको भए निकै कुरामा म काँतर नै हुनेथिएँ । डुबेर पानी खाँदा पनि डिलबाट चुपचाप हेरेर नबसेका भए म कहिल्यै पनि पौडीन सक्दैन थिएँ होला तसर्थ पनि श्री दाईले जे गरे ठीकै गरे । काठमाडौँको रात्री जीवनबाट अनभिज्ञ मलाई काठमाडौँको सबैजसो रात्री जीवनमा घुलाएर वास्तवीक काठमाडौँ देखाए यम दाईले, हुन त म त्यसपछी बिग्रन पनि सक्थेँ तर त्यसैबाट सिको लिएर अगाडीको बाटो तय गरेँ मैले । मान्छेलाई मान्छे भन्दा अरु बर्गीकरण गर्न नजान्ने मलाई भक्तपुरको जगाते, कोटेश्वर, ठमेल, सामाखुशी, रानीवन, बानेश्वर लगायतका यौनालयसँग परिचीत गराएर हरि दाईले ठुलो गुन लगाए । त्यसपछि मैले मान्छे मान्छेको भिन्नता महशुस गर्न पाएँ र त्यही ज्ञान सदुपयोग गर्दै त्रीभुवन विश्वबिद्यालय अन्तर्गत डिप्लोमा तेस्रो बर्षको पर्यटन बिषयमा नेपालमा यौन पर्यटन भन्ने बिषयमा फिल्ड रीपोर्ट तयार पारेँ । परिणाम आज पनि म मान्छेलाई कम बिश्वास गर्छु र रुपको भ्रममा पर्दिन ।
माथिका अप्रत्यक्ष गुरुहरुबाट फरक्क फर्किएर हामीले भन्ने र जान्ने गरेका वास्तवीक गुरुहरुलाई हेर्दा मनमा कतै पनि सन्तुष्टि पलाउँदैन । स्कुले जिवनमा कक्षामा जो जान्ने छ त्यसैलाई बढि ध्यान दिएर कमजोरहरुको आत्मसम्मानमा ठेस पु र्याउने गुरुहरु आज पनि सबैतिर छन् नै । जान्नेलाई झनै जान्ने तुल्याउने र नजान्नेलाई झन झन कमजोर बनाउने गुरुहरुलाई दया भन्दा अरु के नै गर्न सकिन्छ र < राम्री केटीहरुलाई कोठामा एक्लै बोलाएर सिकाउने केहि गुरु अझै मनको कुनै कुनामा दानवी चेहरा लिएर उभिएकै छन् । बिभिन्न बहानामा केटीहरुको अङ्गप्रत्यङ्ग समाउने गुरुहरु बेलाबेला मनको कुनामा झुल्कीन्छन् नै । कलेज जिवनमा पनि जवसम्म हाम्रा पाखुरा बढेनन् तबसम्म बेवास्ता नै हुन्थ्यो गुरुहरुबाट । पद, शक्ति, रुप र लक्ष्मीकै पछि लागेका भेटिन्थे प्रायः गुरुहरु जव हाम्रा साथमा ती कुरा भए गुरु असल थिए जव थिएनन् गुरु खराबै रहे ।
पढाएको नबुझेर सोध्दा सिधा झापड लगाउने कैयन मुर्ख गुरुहरुले अझै पनि मन खिन्न पार्छन । हामीलाई नै तास ल्याउन लगाएर तास खेल्ने, हाम्रै अगाडी चुरोट दन्काउने, कक्षाकोठामा मातेर खुट्टा लडखडाउँदै प्रबेश गर्ने, छेउमा आएर बोल्दा गाजाँको वास छोड्ने, खैनी खाएर झ्यालबाट थुक्ने, दुई चारवटा श्रीमतीका धनी अचम्म अचम्मका गुरुहरु आए हाम्रो जिवनमा । नैतीक शिक्षा पढाउने गुरु कै नैतीक शिक्षा नभएको पनि देखियो । बरु सट्टामा वुवाआमा, हजुरबा हजुरआमा लगायतले सहि गलत छुट्टयाउने परख थपे ममा र त अहिले म म भएको छु ।
त्यसो भन्दैमा सबै गुरुहरु उस्तै हुन् भन्ने पनि होईन, जिवनमा यस्ता गुरुहरु पनि थिए जस्लाई र जस्ले गरेका कार्यहरुलाई भरजन्म सम्झना गरिन्छ । कक्षा ८ मा पढ्दा म भन्दा बलियो केटाले जवरजस्त धम्क्याएर सहपाठीको किताब चोर्न लगाएर गाता फेरेर मेरो झोलामा राखेको भेटाउँदा पनि एक शब्द केहि नभनी कक्षालाई नै गाली गर्ने प्रधानाध्यापक । एस एल सीमा एक बिषयमा अनपेक्षित रुपमा फेल भएर फर्म भर्न नजादाँ कतैबाट पुरानो फोटो खोजेर फर्म भरेर परिक्षाको लागी डाक्ने गुरु । लगभग जिवनभर सम्झिन लायक गुरुहरुको संख्या दुई जना मात्रै रहेछ ।
नृत्य सिकाउने गुरु, अभिनय सिकाउने गुरु, फिल्मी फाईट सिकाउने गुरु, कलेज पढाउने गुरु, कराँते सिकाउने गुरु, कम्प्युटर सिकाउने गुरु, उद्घोषण सिकाउने गुरु प्रत्यक्ष अप्रत्यक्ष कैयन गुरुहरु भए पनि उनीहरुबाट सिक्ने कुरा केहि पाएको जस्तो लाग्दैन । पैसाले किनेको भन्ने तथ्य उनीहरुले सम्झाईरहे बरु सधैँ ।
साँच्चै श्रद्धा गर्नै पर्ने गुरुहरु कमै भएपनि सबै जसो गुरुहरुबाट केहि न केहि सिकेको छु । उनीहरुको खराबीबाट पनि मैले असल सिकेको छु तसर्थ पनि अप्रत्यक्ष र प्रत्यक्ष सबै गुरुहरुमा आज गुरु पुर्णिमाको शुभ अवसरमा शुभकामना शुभकामना शुभकामना ।।
समाप्त
Great posting. Teachers shape our life, and they come in different shape, size and forms. I think you had opportunity to realize them in each.
ReplyDeleteCheers!