Thursday, March 17, 2011

एउटा बन (शायद..................) को कथा !!

           

;                                   सुनियो हल्ला अनौठो अचम्मको !! हुनसक्छ तिल पहाड बन्यो वा पहाड तिल । यो जङ्गलमा ब्वाँसोहरुको कमी छैन, जस्ले आफ्नै स्वार्थअनुसार पहाड लाई तिल वा तिललाई पहाड बनाउन सक्छन । तीनलाई सघाउने प्रशस्त कागहरु छन् जो टावर चढी घरघर गाउन सक्छन,चाहे अनुसारको दृश्य बनाउन सक्छन । आँफै कालो भए पनि यिनीहरु कालोलाई सेतो अनी सेतोलाई कालो देखाउन सक्छन, सुनाउन सक्छन । ब्वाँसो र काग मिले बाघ लाई बिरालो अनी बिरालोलाई बाघ बनाउन सक्छन ।



                                              त्यसै जंगलको कथा हो, एउटा अनौठो चिज भेटियो रे ! एउटा भेडाको समुहले त्यो हेर्ने र त्यसको बारेमा अनुसन्धान गर्ने भनेर त्यही समुहको नाइकेको इशारामा जुटे । स्मरण रहोस् त्यो जंगलमा भेडाको अनेकौँ जत्था थियो जो आफ्नो स्वामी, आफ्नो नाइके (प्राय ब्वाँसो हुन्थयो,नत्र पनि स्याल सम्म पक्का) को पछि आँखा, कान सबै बन्द गरि लाग्थे । यो समुह त झन त्यो मामलामा धेरै कडा थियो। तिखा तिखा सिङ भएका भेडाको जत्था जो आफुप्रती असहमत राख्ने जत्थाहरुलाई तत्काल खत्तम गर्न तम्सन्थे । यो समुह बडो अनौठो थियो नाइके भन्थियो-"बाघको सिङ हुन्छ ।" भेडाहरु थप्थे "हो बाघको सिङ हुन्छ ।" त्यो खबर एकैछिन मा बनभरी फैलिन्थ्यो , माध्यम काग । तिनै कागले त्यो खबर टपक्क टिपेर सुनाए-देखाए,कुनै कागले त दिन्भर त्यही खबर फुक्थे । असहमत भेडाहरु धेरै हुन्थे तर एकजुटताको अभावमा चुपचाप मुर्मुरिरहन्थे । बिस्तारै असहमत भेडाहरुको असहतिमुलक क्रन्दन त्यो शक्तिशाली भेडानाइकेको कानमा पुग्थ्यो । तब भोली फेरी भन्थ्यो " सिङ हैन,यो बाघको सुँढ छ ।" तब फेरी समुह कुर्लन्थ्यो "हो हो हो !! सुँढ छ तर सिङ हुनुपर्छ भन्ने हाम्रो समुह अनी नाइकेदेव को मान्यता हो ।

                                            अनुसन्धान गर्ने क्रममा त्यो समुहले निष्कर्ष निकाल्यो "त्यो टाउको र पुच्छर नभाको हरेउ हो,जुन उनीहरुको बिरुद्धमा षडयन्त्र गरि नजिकैको बन बाट पठाइएको हो ।"


                                          क्रमशः बिभिन्न चस्मा लाएका र बिभिन्न खोल ओढेका भेडाको समुह त्यो अनौठो बस्तुलाई हेर्न आए। कसैले त्यसलाई प्रभुको (जादुको) छडी देखे, कसैले बन्दुक देखे, कोहीले कोर्रा देखे सबैले फरक फरक देखे । जसले जे देखे पनि कागहरुले त्यसको खबर तत्कालै फिजाउँथे फरक यती थियो कहीले धेरै-थोरै /सत्य वा बङ्याएर / तिल वा पहाड बदलेर ।
                                          बिस्तारै कागले सुनाउने वा देखाउने खबर कागैपिच्छे फरक हुन लाग्यो, काग पनि बिभिन्न समुहमा लागे जस्तै ।


                                                केही समय पछि केही भेडाको झुन्ड कुनै समुहको चस्मा नलगाइ, खोल नओढी त्यो अनौठो बस्तु हेर्न जान्छन । दृश्य साह्रै अनौठो हुन्छ, वरिपरि गुटगुटका भेडा सिङ उध्याउँदै , खुर तिखार्दै एक अर्कालाई सिध्याउने दाउमा बसिराछन । केही पर भेडाका नाइके ब्वाँसो र स्यालहरु चौतारीमा खाइपीइ आरामले निदाइराछन एकै लहरमा, त्यहाँ हेर्दा प्रस्टिन्थ्यो उनिहरुका सिकार पनि तिनै भेडा नै थिए । शायद ती भेडा हरुजति जुधेर मर्थे, त्यतीनै नाइके हरु मोटाघाटा र बलिया हुन्थे । ढुक्क थिए ती नाइकेहरु आफ्नो राज्य र शिकार प्रति, बेला बेलामा कुनै ब्वाँसो आँखा चिम्लेर टाउकै नउठाइ कराउँथ्यो "नछोड! नछोड!! सब षडयन्त्र छ।" आदि आदि ।

                                        जब ती सानो भेडाको झुन्डले कुनै समुहको चस्मा नलगाइ, खोल नओढी त्यो अनौठो बस्तु हेरे तब देखे त्यो डोरी थियो मात्र डोरी त्यो पनि मक्किसकेको, बिना कामको !!!!!!!????




(प्रस्तुत कथा कुनै ब्यक्ती, समुह आदि सँग मिल्न गएमा संयोग हुने छैन । )

1 comment:

Thank You very much. Raj