Sunday, June 23, 2013

मेरो अस्तित्व

                                                                           – राजु दाहाल
                             
मभित्र आगो छ
जसले पलपल 
तताइ रहन्छ मेरा सम्पूर्ण अवयवहरुलाई
र त, 
कहिले समाज देखि चिढिन्छु
कहिले आफैंदेखि मुर्मुरिन्छु
जब,
सुस्तामा घाउ लाग्छ
मेरो रगत तात्छ ।
बिमास्थलमा सुरक्षाकर्मि कुटिन्छन्
मेरो रगत उम्लन्छ 
मेरो देशलाई जव मैदानको भकुण्डो बनाउँछन् ठालुहरु
मेरो रगत बाफिन्छ........ 
×××
मभित्र पानी पनि छ 
जुन हरपल बगिरहन्छ 
यहि पानी,
पसिना भएर बग्नु पर्ने हो 
देशका कुना–कुनामा 
जीवन भएर लहलहाउनु पर्ने हो 
सृष्टिका मुना–मुनामा 
तर,
कलिला सपना र अनिश्चित गन्तव्य बोकेर 
काठमाडौं नै नटेकि बिदेशिएका पालुवाहरुको 
पीडाहरुले गिजोल्छ
दबाइएका आवाजहरुको मर्मले चिमोट्छ
तब,
म भित्रको पानी, हररात आँशु भएर बग्छ 
जब नेपालीलाई सपनाले पनि ठग्छ.......
×××

मभित्र वायु पनि छ
रमाउने आयु पनि छ 
र त, 
रंगीन पखेँटा चाल्दै संसार डुल्छु
शान्ति आएको कल्पना गर्छु
देश बनिएको सपना देख्छु
कल्पनामा हराउँछु
सपनैमा रमाउँछु.......
×××
मभित्र माटो पनि छ
जिवनको बाटो पनि छ
जसरि धर्तीले सहन्छ 
म पनि सहन्छु
कहिले बाबु भएर, कहिले छोरो भएर
कहिले नागरिक भएर, त कहिले मान्छे भएर
साँच्चै,
धर्तीजस्तै सहनशिलताको पराकाष्ठा ममा पनि छ
हो,
ममा पक्कै माटो छ........
×××
आगो छ तातो छु,
हावा छ चलायमान छु
पानी छ बगिरहन्छु
माटो छ सहिरहन्छु........
×××
कहिलेकाँही प्रश्न गर्छु आत्मासँग
सहन त सहन्छु नै
तर अर्कै दिशाबाट आएको
यो प्रदुषित वायुलाई
कहिलेसम्म चुपचाप सहिरहने ?


समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj