“त्यही नौ सय पर्ने रहेछ, अब हजुर आफ्नो मान्छे । त्यही नौ सय दिएर लग्नुस न सर ।” – बील हेर्दै गार्हो माने जसरी बोले कपडा पसलको साहुजी । मेरा गाउँले पनि अनि उनको भाई मेरो मिल्ने साथी । बेलाबेलामा भाईको साथमा नयाँ डीजाईनका कपडा आयो भनेर पठाईदिन्थेँ त्यो पनि अफिसमै । म खुशीसाथ स्वीकार्थेँ र भनेको जति पैसा पठाईहाल्थेँ किनकी मलाई बिश्वास थियो कि उनले मलाई पक्कै ठग्दैनन् ।
“ब्यापार गर्ने मान्छेले नाफा नराखेर कहाँ हुन्छ र ? ल नौ सय पचास कटाउनुस् ।”– मैले हजार रुपैँयाको नोट दिएँ । मैले किनमेलको लागी पसल देखाउन लगेको साथी मुसुक्क हाँस्यो । मैले उस्लाई पनि पसल र साउजी चिनाईदिएँ । साथीले अब देखि सधैँ त्यही पसलमा सामान किन्ने बाचा गर्यो । हामी छुट्टीएर पसल नजिकै रहेको साथीको घरमा गयौँ । बाटोमा पसले र मेरो बिश्वासको निकै तारिफ गरेँ मैले ।
खाना खानु अगाडी मैले भर्खरै खरिद गरेर ल्याएको पाईन्ट साथीको भाईले पनि मन परायो । यसपटक पसलेको तारिफ र बिश्वासको पुल बाँध्यो मेरो साथीले । खाना खाएपश्चात उनीहरु पनि मेरै जस्तो पाईन्ट किन्न जाने निश्चीत भयो । म खाना खाएर एकछिन आराम गर्न बसेँ । साथीका दाजुभाई पसलमा गए ।
“दाई हजुरको बिश्वासीलो साहुकोमा कति तिरेको रे पाईन्टलाई ?” – केहि बेरमा तलबाटै बोल्यो भाई, केहि ब्यङ्ग्यात्मक भावमा । मिलाएर नदिएर महङ्गो पो गर्यो कि भन्ने शंका पश्चात “किन र भाई, मिलाएर दिएन र ? मेरो साथी भन्नु पर्थ्यो नि ?” – मैले तत्कालै जवाफ दिएँ । त्यतीबेला सम्म दुवैजना मेरो नजिकै आईसकेका थिए ।
“खै तेरो पाईन्ट देखा त ।” – साथीले भने पश्चात मैले झोलाबाट निकालेर देखाएँ । छामेर, तानेर अनि माडेर दुबै दाँजियो उस्तै – उस्तै सबै उस्तै ।
“किन र महङ्गो भन्यो भने, म भन्दीन्छु नी । मेरो साथी भनेनौ ?” – मैले बिश्वासपुर्वक भनेँ ।
“ह्या मुला ! त किन अर्कालाई त्यती धेरै बिश्वास गर्छस्, भन् त ?” – साथीले केहि असन्तुष्ट हुँदै भन्यो । “ल हेर, त यहि पाईन्ट भाईले बार्गेनिङ गरेर पाँच सय पचहत्तरमा ल्यायो । मैले बार्गेनिङ गर्नु पर्दैन भनेको एकपटक कोशिस गर्छु भन्यो अनि त साहुजीले हजार पचास भनेका पाईन्ट त ......।” – साथीले मेरो कुममा हात राख्दै भन्यो । “कति ठग्यो होला त तलाईँ अहिलेसम्म ? हेर, पैसाको अगाडी बिश्वासको दाउ नलगा ।” – यस्तै – यस्तै सम्झाउँदै थियो मेरो साथी ।
म दाँज्दै थिएँ पैसा अनि बिश्वास................. ।
समाप्त
पैसाले विश्वास किन्न सकिन्न नि त ।।
ReplyDelete