Sunday, June 19, 2011

लघुकथा - “बिदेश र बाध्यता”

by Raju Dahal on शनिबार , जुन 18, 2011 तारिख 9:24बिहान बजे
                                                                                                                     

                                                   राम बहादुर शहरमा मज्जासँग चलिरहेको जुत्ता पसल छोडेर शहरमा जोडेको घडेरी तीन लाखमा बेचेर त्यही पैसाले बिदेशिन्छ । काखमा खेल्ने बामे सर्दै गरेको छोरो र अँगालो भरिको स्वास्नीलाई बिरानो शहरको सानो कोठामा निःसहाय छोडेर ।


                                                     एकछिन पनि ओझेल पर्दा संसारै हराएजस्तो लाग्ने जिबनसाथी र मुटुको टुक्रा भन्दा प्यारो लाग्ने राम्रोसँग तोते बोली पनि नफुटेको छोरा छोड्नुको पिडामा बिदेश जाने तयारीका केहि महिना उ सोचेरै भक्कानिन्थ्यो । धेरै बेरपछि काठमाडौँमा घर, मोटरगाडी, आफ्नो राम्रो ब्यबसाय, छोरा र जिबनसंगीनीको खुशी यस्तै–यस्तै सम्झेर सम्हालिन्थ्यो ।

                                                      एकदिन राम बहादुर सबै चटक्क छोडेर बिदेशियो । जाने दिन जिवन संगीनीको अँगालो र छोराको हात छुटाउदाँ  उस्ले आफुलाई संसारकै सबैभन्दा अभागी महशुस गर्‍यो । कालो चश्मामा भिजेका आँखा लुकाएर खल्तीभित्र कसेको मुठी अझै बलियो पारेर जसोतसो बिदा भयो उ ।

                                                         राम बहादुर चार बर्षको कष्टकर जिवन काटेर फर्क्यो आफ्नै देशमा । उस्को भागको खुशि धेरै लुटिईसकेको थियो, छोराको बालापन, जीवन संगीनीको यौवन माया ईत्यादि जुन उ पैसामा किन्न सक्दैनथ्यो । आफ्नो कमाईमा उ खुशि नै थियो किनकी उस्ले बितेको चार बर्षमा पन्ध्र लाख कमाईसकेको थियो । त्यो पैसाले सानो घरघडेरी जोडेर एउटा ईलम गर्दै आफ्नै देशमा बस्ने सोच बनायो राम बहादुरले ।

                                                           तर, समयको फड्को सँगै आफुले कमाएर ल्याएको रुपैँयाले आफुले बेचेको घडेरीको आधा टुक्रा पनि नआउने देखेपछि आजकल रन्थनिएर फेरि बिदेश जाने तयारी गर्दैछ रे उ ......................।।  

No comments:

Post a Comment

Thank You very much. Raj