Monday, August 17, 2026

हामी अर्थात हामी नेपाली

चीनको लामो भ्रमणपछि पुनः आफू र आफू हुर्केको समाज र देशप्रति दया र माया लागेर आयो । हुन त अन्य देशहरु घुमेर फर्कदाँ पनि मनमा असन्तोष, दिक्दारी अनि समाज र देश प्रति माया र दया लाग्थ्यो । तर यसपटक सँगै जोडिएको देश, समाजको गति र प्रगति देखेर पहिले भन्दा यसपटक दया माया र दिक्दारीको पारो निकै बढेको थियो । 

यस अवधिमा भेटेका जति साथीभाइहरुसँग हरेक पटक गर्ने कुराकानीमा बाटो छुटेन । पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने रेलवे, काठमाडौँ बाट दोलखा रामेछाप जाने सुरुङमार्ग भए कस्तो हुने थियो होला ? काकडभित्ताबाट काठमाडौँ आइपुग्ने एउटा बुलेट ट्रेनको सिस्टम भइदिए के हुन्थ्यो होला ? राजधानीको नसामा एउटा मेट्रो सिस्टम थपिए के हुन्थ्यो होला ? 


कोटेश्वरबाट कार चढेर रत्नपार्क जाँदै गरेको साथी भन्दा, दोलखाबाट फाष्ट ट्रेन चढेर आउने मान्छे पहिले आइपुग्थ्यो होला । बिहानै पोखराको फेवाताल किनारमा चिया खाएर दुइ तल्ला माथिको राजमार्गमा बस चढेर बतासिँदै दश बजे राजधानीको कार्यालयमा काम भ्याउन आइपुगिने थियो होला । 

दोलखाको जिरीमा सरकारले बनाएको पचासौँ तलाको भवनमा रहेका अपार्टमेन्टहरुको बिक्री एकैदिनमा सकिएर, दमौलीमा अर्को प्रोजेक्ट शुरु हुने थियो होला । गोरखामा रहेको बिशाल नयाँ बजारमा काठमाडौँको भन्दा बढि भिडभाड हुने थियो होला । काडाँघारीबाट कार चढेर बालाजु जानुभन्दा मेट्रो चढेर जाँदा पाँच गुणा कम समय लाग्दो हो । देशका कुनाकुनाबाट ट्रेन र बस चढेर राजधानीको कलेजमा पढेर विद्यार्थीहरु आआफ्ना घर फर्कँदा हुन् । 

राजधानीको विकास  र विनास बाँडिदो हो । राजधानीको जनसंख्या बाँडिदो हो । सपनाहरु सबै तिर पुग्दो हो । 

तर खै त शुरुवात ? काम गर्न आएकाहरुको खै त काम ? विकास गर्न आएका हरुको खै त विकास ? नयाँ पुस्ता भनेर आएकाहरुको खै त नयाँ पन ? 



No comments:

Post a Comment

Thank You very much. Raj