Monday, August 24, 2026

२०८३ को भदौ ८ गते

जिवनका कतिपय दिन यस्ता हुन्छन् की जुन चाहेरै पनि भुल्न वा बिर्सन सकिँदैन । कतिपय दिनहरुले यती धेरै शिक्षा दिएका हुन्छन् की त्यो दिन भुल्नु भनेको त्यसले दिने शिक्षा पनि भुल्नु हो । 

आज सोमबारको ब्रत । साउनको पहिलो र दोस्रो सोमबार कुनै ग्रह अस्त भएकोले साउनको ब्रत सक्नको लागि भदौ महिनाको दुइवटा सोमबार ब्रत बस्न पर्ने रहेछ । बिहान नुहाएर पूजापाठ पश्चात साँढे ६ बजे कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई अतिरिक्त कक्षा पढाउन विद्यालयको कक्षाकोठामा छिरेँ । एउटा सामान्य मानिस र शिक्षकले शनिबार र आइतबार दुई दिन पछाडि विद्यालय आएका विद्यार्थीहरुमा जोश, जाँगर र कौतुहलता बोकेर आएका होलान् भन्ने आशा गर्नु सामान्य हो । तर केहि वर्षबाट समय फेरिएको छ, विद्यार्थीहरु छुट्टीका दिनहरु पश्चात आलस्य, पुरा नभएको वा नगरेको गृहकार्य बोकेर विद्यालय आउँछन् । बिहानै निदाउँछन् वा निदाउन खोज्छन् । कौतुहलता जिज्ञासाको कुनै धर्का समेत भेटिदैँनन् उनीहरुमा । 


एउटा शिक्षकको रुपमा विद्यालय छुट्टी हुने दिन सबै विद्यार्थीहरुलाई अनुरोध गरेको थिएँ : दुई दिन बिदामा ४८ घण्टा हुन्छ । दिनको १० घण्टा सुत्यौ भने पनि २० घण्टा सुत्ने समय हुन्छ । बाँकी रहेको समय २८ घण्टा त्यसमा दिनको १० घण्टा मोबाइल हेर्ने, खेल्ने गर्यौ भने पनि दिनको ४ घण्टा बाँकी रहन्छ । त्यो समय अध्ययनमा दिनु । तर अचेल शिक्षकको कुरा कस्ले सुन्ने र ? 

शिक्षक अहिले समाजको लागि एउटा निरिह, हेपिएको र चेपिएको पात्र भएको छ । आर्थिक रुपमा जे जस्तो भएपनि शिक्षकलाई समाजले सम्मान गर्न सक्दैन भने त्यो समाज बस्न र रहन लायक बन्दैन् । हाम्रो देश पनि त्यही बाटोलाई निरन्तरता दिदैँछ । हाम्रो देश बस्न लायक नरहेको देखिँदैछ । शिक्षकहरुले पनि लगातार तलब र सुविधाको आन्दोलन गर्नुभन्दा सम्मानको आन्दोलन गर्नुपर्ने देखिन्छ । समाज र समाजमा रहेका अभिभावकहरुले शिक्षकलाई सम्मान गर्ने, शिक्षकले भनेको सुन्ने गरे विद्यार्थीहरुले पनि शिक्षकहरुलाई सुन्ने, उहाँहरुले भनेको मान्ने गर्दथे होलान् ।

अनि गृहकार्य जाँच गर्ने क्रममा कक्षा ८ मा रहेका २५ जना मध्ये जम्मा दुई जनाले गृहकार्य गरेर आएका रहेछन् त्यो पनि २ दिनको बिदा पछाडि । नचाहेरै पनि उनीहरुसँगै माफी माग्दै गृहकार्य नगर्ने सबैलाई बस्ने गालामा सानो लठ्ठी लगाएँ । अप्ठेरो, डर, लाज, शरम सबै लाग्दा लाग्दै पनि एउटा शिक्षकको रुपमा अरु उपाय पनि त थिएन । कक्षामा जो कमजोर छन्, जस्ले गृहकार्य गर्दैनन् उनीहरुका अभिभावकहरुलाई बोलाएर पनि छलफल त गरेकै हो । विद्यार्थी अभिभावक र शिक्षकहरु एकै ठाउँमा बसेर सरसल्लाह पनि गरेकै हो । तर त्यसको परिणाम जम्मा जम्मी केहि दिन हो की जस्तो देखिन्छ त्यस पछाडि रहदैँन । 

कक्षा १० मा पढ्ने एउटा केटा जो मानसिक रुपमा बिरामी भएर ठिक भएको थियो । ऊ आफुभन्दा साना विद्यार्थीको झोलामा गाँजा राख्ने, कक्षा–बाथरुम–खेलमैदानमा अश्लिल शब्दहरु बोल्ने गरेको पटक पटक गुनासोहरु आएका थिए । बिहानै उस्ले आफुभन्दा साना भाइबहिनीहरु भएको बेलामा अश्लिल शब्द बोलेको सुनेको थिएँ । पढाउँदै गर्दा केहि भन्न ऊ म भएको छेउमा आएको थियो । मैले उसलाई राम्रोसँग ः तिमी घर जाउ । तिम्रो धेरै कुरा सुनिसकेको छु । तिम्रो अभिभावकसँग कुरा गरेर मात्र अतिरिक्त कक्षामा राख्छु । भनेर घर पठाइदिएँ । सँधै आफैँ आउने जाने र १७ बर्षको एउटा केटालाई घर जानेबेलामा खासै ध्यान दिनु जरुरी थिएन । 

“बाइ बाइ सर ।” भन्दै उ घर गयो । मैले बाइ बाइ भनेर उत्तर फर्काएँ । साँढे आठ बजे तिर उसको घरबाट फोन आयो । ऊ खाना खान घरमा गएन रे । साँढे नौ बजेतिर उसका अभिभावकहरु विद्यालयमा नै आइपुगे साँढे बनेर । क्यामेरा हेरेपश्चात र आफ्नो छोरालाई विद्यालयले गरेको व्यवहारहरु सम्झेर उहाँहरु मत्थर त हुनुभयो । तर पटक पटक विद्यालयले एकपटक फोन गरिदिनु पथ्र्यो भन्ने कुरा आइरह्यो । आफ्नो बच्चा १७ बर्षको, एन्जाइटी जस्ता रोगहरुको औषधी सेवन गरिरहेको कुराहरु उहाँहरुले सम्झनु भयो कि भएन थाहा भएन । 

अभिभावक र म आँफै पनि विद्यालय नजिकका पार्क, बाटो, मन्दिर, मनोहरा खोला चारैतिर खोज्न गयौँ दिनभर पटक–पटक । हराएको विद्यार्थी भए भेटिन्छ तर हराउन खोजेको नवयुवा किन पो भेटिन्थ्यो । मैले पटक पटक अभिभावकहरुलाई आफन्तहरुकोमा खोज्न र बुझ्न अनुरोध गरेँ । तर उहाँहरुले कतै नजाने र गए पनि आफन्तहरुले खबर गर्नुहुन्छ भन्नुभयो । विद्यार्थीको तस्विर लिएर पटक–पटक खोज्दा पनि नभेटाए पछि प्रहरिमा खबर गर्ने निधो भयो । 


एउटा एन्जाइटी भएको, औषधी खाइरहेको, १७–१८ बर्ष भइसकेको विद्यार्थी हराउनु भन्दा बढि कक्षा १० को विद्यार्थीहरु सम्बन्धमा थाहा भएका कुराहरु थियो । जे जति थाहा भयो म भित्र भएको शिक्षक र गुरु नराम्रोसँग घायल भयो । म भित्र रहेको विश्वास नराम्रोसँग जल्यो । मेरो शिक्षक हुनुप्रतिको आत्मसम्मान नराम्रोसँग झुक्यो । शायद सबै ठिक हुन धेरै समय लाग्ला वा चोटहरु बल्झिरहलान् । मैले विद्यार्थीहरुलाई गरेको माया, विश्वास र दिएको जिम्मेवारी सबै धराशायी भयो । विद्यालयको क्याप्टेन बनाएर गरेको विश्वास, गुनासो समितिको सदस्यको रुपमा गरेको आशा अनि ठूला कक्षाका हुनुको नाताले गरेको माया र सम्मान सबै एकै क्षणमा चकनाचुर भए । उनीहरुले गरेको कार्यहरु पत्याउनै नसकिने थिए । तिनीहरुकै कारणले विद्यालय छोडेर एकबर्ष पढ्नै नसकेकी र नपाएकी अर्की विद्यार्थीलाई सम्झेँ । र त्यही बाटो तिर पठाउँदै गरेका तिनीहरु देखेँ ।

ब्रतको दिनभरको भोको, विद्यालयमा विद्यार्थीहरुबाट पाएको निराशाले बेलाबेलामा खुट्टा समेत नटेकिएला कि जस्तो भयो । तर बेलुकी भयो । आत्तिएका अभिभावकहरुलाई प्रहरी प्रभाग बोलाएर म पनि गएँ । निवेदन दियौँ । प्रभागका प्रहरी प्रमुख आएर तत्काल अभिभावक सहितको टिम परिचालन गर्नुभयो । विद्यार्थीको फोटो चारैतिर सर्कुलेट गर्नुभयो । 

गह््रौँ खुट्टा लिएर हराएको विद्यार्थीको आमालाई उहाँको घर नजिकै छोडेर म घर फर्किएँ । फर्कँदा कतै भेटिएला कि भनेर नजिकैको फिक्कल पार्क हुँदै चारैतिर हेर्दै फर्किएँ । केहि बेरमै उहाँको फोन आयो ऊ भेटियो भनेर । सानीमा र ज्वाइँले भेट्नुभयो भनेर । मैले बुझेँ उ दिनभर सानिमाकोमा गएर बसेको रहेछ । अभिभावकले दिनभरको तनाव र उसलाई गर्ने माया बिर्सेर दारा किट्दै भन्नुभयो : त्यसलाई पूजा गर्छु म आज । कसरी पूजा गर्ने होला ? 

“अहिले दुइ चार दिन केहि नगर्नुस । केहि नभन्नुस् । दुई चार दिन पछि त्यसलाई सम्झाउँला ।” फेरि म भित्रको शिक्षक जाग्यो । 


No comments:

Post a Comment

Thank You very much. Raj