ए विर्खे दाई
ए हर्के भाई
ए डाँडाघरे दिदी
ए तल्ला घरे बहिनी
नढाँटी भन् आज,
आशै आशमा अझै कति अधमरो बाँच्छौ ?
भरेको गाँस आशमा
भोलिको बास आशमा
वर्तमानको निराशा पिउँदै
भविष्यको आशामा जिन्दगी डोहोर्याउँदै
खै, कहिले सम्म जिन्दगी लतार्छौ ?
ती गैराघरे माईली दिदी
सन्तान नहुनुको पीडामा सबै मन्दिर धाउँदैछिन होली
माता र पीता सबैको दैलो चाहर्दैछिन होली
तल्लाघरे दाजु जागिरको आशमा
डाँडाघरे कान्छो बिदेशको आशमा
परकी मिठे छोरा निको पार्न
तलका रामजी कमाइ दोब्बर पार्न
सखारै भगवान बनाइ टोपलिएका अनगिन्ती माताका शरण पर्छन
पीताका पाउमा घोप्टन्छन् ।
ए ठुली थाहा छ,
सम्पुर्ण सुखी यो संसारमा कोहि पनि छैन
समुद्रमा उछाल आइरहन्छ, सगरमाथा पनि काँपीरहन्छ
चन्द्रमामा ग्रहण लाग्छ, सुर्यलाई बादलले छेक्छ
तिम्रो दशा कटाउने नाममा, तिम्रो खुशी फर्काउने नाममा
ती माता पीता अचेल शहरमा सुखसयल पिउँदै छन्
तिम्रो रगत चुसेर महलमा जिन्दगी जिउँदै छन् ।
ए पोक्ची दिदी
ए थेप्चे दाई
ए जेठा ए माइला ए साईँला ए ठाईँला
कति बाँच्छौ आशाको अदृश्य त्यान्द्रो समातेर
तिम्रो बालाई डिप्रेसन भएको छ
आमालाई मानसिक रोगले समातेको छ
छोरालाई पौष्टिक पदार्थ पुगेन
छोरीलाई उचित मार्गदर्शन भएन
जति देउ पञ्चबलि, जति चढाएपनि नगद
तिमी आशामा जिन्दगी लतार्नेहरु
भोलि बा र आमाकै गतिमा बाँच्नेछौ ।
ए दाजु ए दिदी
सुन तिमीलाई थाहा छ
तिम्ले नदेखेको दश हजारका हजार गड्डी
तलबका नाममा झ्वाम पार्नेहरु
तिम्रो आशाका पत्थरहरु पुज्छन् ।
अब छोड आशा कम्मर कसेर आउ
हामी तिमी मिलेर एउटा सत्य दुनियाँ बनाउँ ।
सुनेनौ के ?
आउ जम्मै मिलेर एउटा नयाँ बाटो बनाऊँ ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj