Saturday, January 28, 2012

कथा शिर्षक “टुल्कुको निबन्ध”

                                              बाबाले भन्नुहुन्छ धेरै पढेर मास्टर बन्नु अनि आमाले भन्नहुन्छ सरकारी जागीर खानु । तर म धेरै पढेर सुकुम्बासी बन्न चाहन्छु, हामीलाई पढाउने सरको आफ्नो साईकल पनि छैन । उहाँले लगाउने कपडा र मेरा बाले लगाउने कपडामा खासै अन्तर छैन । सरकारी जागीर खाने मान्छेहरु पनि हाम्रो गाउँमा धेरै छन्, तल्लाघरे काका हुलाकमा जागीर खान्छन्, माथि गुयँली चौरका ठुल्दाई पनि पुलिस छन् । उनीहरु चाडबाडमा घर आउँदा खासै केहि पनि राम्रो देख्दिन, टिका लगाउन जाँदा १० रुपैँया मात्र दिन्छन् अनि देउसी खेल्दा पनि बढिमा ५० मात्रै हो ।  

                                              तर सुकुम्बासी काकाको भने कुरै बेग्लै हाम्रो गाउँमा सबैभन्दा
ठुलो र राम्रो घर उहाँकै छ । चाडबाड लगायतमा घर आउँदा उहाँ कार चढेर आउनुहुन्छ जुन उहाँकै हो रे । अस्ति आउँदा मलाई पनि एकछिन चढाउनुभएको थियो । दशैँमा अनि तिहारमा सबैभन्दा बढि पैसा उहाँले नै दिनुहुन्छ, उहाँको घरमा ३–४ वटा खसि काटिन्छ दशैँमा । बाहरुले कुरा गरेको बेलामा सुनेको उहाँको काठमाडौँमा २ वटा घर छन् रे, तै पनि उहाँ पाल्चोक हो कि कहाँ हो खोलाको किनारमा सानो घर बनाएर बस्नुभएको छ रे ? मैले पढेको थिएँ मान्छे जति ठुलो भएपनि घमण्ड गर्नु हुँदैन भनेर, ममिले सधैँ भन्नुहुन्छ “सादा जिबन उच्च बिचार” । त्यसको उदाहरण त सुकुम्बासी काका हुनुहुन्छ नी, दुई दुई वटा ठुला घर भएर पनि उहाँ बाग्मती खोलाको किनारमा सानो घर बनाएर बस्नु भएको छ रे ? म पनि ठुलो भएपछि उहाँकै सिको गर्छु । 
त्यसैले म ठुलो भएपछि सुकुम्बासी बन्छु, अनि काकाको जस्तै प्रगती गर्छु । 

                                                                                        टुल्कु प्रसाद
कक्षा ः ६

कक्षा ६ मा पढ्ने टुल्कुको निबन्ध पढेपछि मैले मैले त्यसकै तल थपेँ ः

                बाबु टुल्कु, सुकुम्बासी भनेर घरबार केहि नभएका मानिसलाई भनिन्छ । तिम्रा काकाहरु सुकुम्बासी हैनन् अनि सादा जिबन उच्च बिचार भएर नदिको किनारामा घर बनाएर बसेका पनि हैनन् ती त सुकुम्बासीका नाममा खोलाको किनार मिचेर जबरजस्ती जग्गा हडप्ने वा सरकारलाई दबाब दिएर सित्तैमा जग्गा हात पार्ने जालझेल मात्रै हो । बाबु, तिम्रो हाम्रो गाउँ लगायत नेपालका अन्य धेरै ठाउँमा जग्गाहरु कौडीको मुल्यमा बिक्री हुन्छ । तल गैराघरे ठुलाबाले त्यत्रो डाँडो जम्मा २५ हजारमा बेचेको थाहा छ नि तिमीलाई ? हो त्यस्ता २५ हजारको त यि घरजग्गा नभएका भन्नेहरु मोबाईल नै बोक्छन् । 
                 
                                        लाखौँ पर्ने टी भी हुन्छ यिनीहरुका घरमा अन्य महङ्गा सामानहरु पनि धेरै हुन्छ । के तिनीहरु त्यसमा खर्च गर्ने पैसाले तिम्रा हाम्रा गाउँमा जग्गा किनेर घर बनाएर घरजग्गाको मालिक भएर बस्न सक्दैनन् त ? अथवा मुस्ताङ्ग वा डोल्पातिर खाली रहेको जग्गामा घर खेति गरेर बस्न सक्दैनन् ? किन राजधानीकै जग्गा हड्पेर आफ्नो बनाउन खोज्छन् ? अनि सरकारले किन उनीहरुलाई डोल्पा वा रोल्पातिर जग्गा दिएर जाउ भन्न सक्दैन ?  
 
                                      तिमीलाई थाहा छ तिम्रा काका जस्तै अन्य धेरै सुकुम्बासी छन् जो तिम्रा हाम्रा गाउँमा गएर बसे भने हाम्ले भन्नुपर्नेछ  – “उ त्यो कम्पाउण्डमा गाडी राखेको ठुलो पक्कि घर छ नि हो त्यहि हो सुकुम्बासीको घर ।” त्यसैले बाबु, तिम्रा सुकुम्बासी काका ठग हुन् र तिमी त्यस्तो ठग बन्नुहुन्न ।    
                      
                                           अनि तिमीलाई माओबादी थाहा छनी ? साँच्ची तिम्रा दाजु पनि त गरिबका दिन फिर्छन भनेर लागेका अझै घर आएका छैनन् नी ? हो तिनै गरिबका नेता अहिले देश चलाइरहेका छन् र आज तिनले ति सुकुम्बासीलाई खोलाको किनारबाट हटाएर घरभाडा दिने भनेर निर्णय गरेछन् । तिमी र तिम्रा बा आमा दाजु सम्झेर बेला बेलामा अझै रुन्छौ रे ? अब नरुनु अनि बा आमालाई पनि सम्झाउनु तिम्रा दाईहरुको बलिदान खेर गएको छैन । त्यही पार्टीका अध्यक्ष अहिले करोडौँ पर्ने (पढेको होला नी एक, दश, सय, हजार, दश हजार, लाख, अनि करोड आउँछ..........) भव्य महलमा बस्छन् । अन्य कुराको त लेखाजोखा नै छैन ......। 
                                       ए बाबु टुल्कु, म त लेख्दा लेख्दै बहकिएछु । यो पढ्नु अनि निर्णय गर्नु सुकुम्बासी बन्ने कि नबने भनेर ?
                                    तल्लाघरे दाजु
                                    राजु दहाल

No comments:

Post a Comment

Thank You very much. Raj