Tuesday, September 27, 2011

पसले

                                                   उ मेरो सानैदेखिको साथी करिब ५ बर्ष जति अमेरिका बसेर यसपाली दशैँ मनाउन आएको । आज टीकाको दिन मलाई भेट्न आउँदैथियो तसर्थ म खुशीले फुलेल थिएँ । म न त अमेरिका जान सकेँ न त अरब तिर नै , एउटा सामान्य किराना पसल गरेर जिबीकोपार्जन गर्दैथेँ । खुशी थिएँ, यसर्थमा कि राम्रै चल्दथ्यो । पसल राम्रो चलेकै कारणले पनि म भबिष्यका सुखः कल्पीन लागीसकेको थिएँ ।


                                                    उ आयो, निकै लामो गफ भयो । मैले उसबाट पसलमा नअल्मीन  निशुल्क सल्लाह पाएँ,  मन खिन्न भयो ।

                                                    “के गर्ने यार हेर न जिन्दगी राम्रै चल्दैछ । पसल गरेर नी के भो र ? यसमा राम्रो भबिष्य छ यार, त्यती धेरै धपेडी पनि छैन । भोली पसल राम्रो भएपछि सँगसँगै अरु केहि गर्नपर्ला नी ।” – मैले आफ्नो कुरा राखेँ ।

                                                    “गरिस्, खाक गरिस । जिन्दगी भर अल्झेर मर्छस त्यसैमा । साला, टिकाको दिनमा पनि पसलमा बसिराछ ।”– उस्ले निकै रिसाएर बोल्यो ।

                                                    “अँ, सबै पसलेहरु त मरिराछन् नी । यसपाला त्यस्तै भो र ? अब अर्को साल देखि बन्द गर्छु चाडबाडमा ।” – मैले पनि झन्किएरै जवाफ फर्काएँ ।

                                                    “ह्या गफ दिन्छ । ल याँ सुन राम्ररी । त्यो मेरो घर अगाडीको किराना पसल छ नि ।” – मैले टाउको हल्लाएँ । “हो, त्यो पसले बुढाकोमा म ५–६ बर्षको हुँदा यहि टीकाको दिनमा टीका लगाएर पाएको एक सुका, एक मोहोर बोकेर चक्लेट किन्न जान्थेँ, त्यतीखेर पनि उ पसलमा बसेर सामानहरु बेचिरहेको हुन्थ्यो । आज यत्रो बर्ष पछि टीका लगाउने बित्तीकै पसलमा छिरेको त त्यही बुढो नै पसलमा बसेर सामान बेचिराकोछ । फरक यत्तीमात्रै कि अब उसको कपाल सेतो भएछ अनि अलि दाँत पनि झरेछ । ल भन अब उस्ले जिन्दगी कति बुझ्यो अनि जिबनमा कति रमायो होला त । चाडपर्ब नभनी – नभनी उस्ले कस्को लागी काम गर्‍यो अनि के का लागी कमायो त ? तँ आफैँ सोच ।” – उ अरु पनि बकबक गर्दैथियो ।


          म आफुलाई दाँत झरेको, कपाल सेता भएको अनि सकिनसकि पसलमा सामान बेचेर बसेको देखिरहेको थिएँ ।     


                                                                                    समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj