Tuesday, September 20, 2011

शुभारम्भ

                                           “किन तिमीले खानेकुरामा अखाद्य पदार्थ मिसाएको ?”
                                          “तिमीलाई मिठाईमा सुगुँरको बोसो मिसाउन, संसारलाई कुहिएको मिठाई खुवाउन, मिती सकेको खाद्यपदार्थ बेच्न, बच्चा देखि बुढासम्मले खाने दुग्ध पदार्थ देखि रक्सी सम्म, दाल, चामल, पानी, तरकारी सबैका मिसावट गर्न अलिकती पनि लाज लागेन ।”

                                           “किन यस्तो खराब काम गरेको ?”


                                           “ के तिमीमा अलिकती पनि मानबता बाँकी रहेन अब ?”

                                           “यो त समाजको लागी कलंक हो । समाजको धमिरा हो यो । यस्ता मान्छे समाजमा रहेसम्म कसैको भलो हुँदैन ।”

                                             “तिम्रै कारणले कति मान्छेलाई असर पर्यो होला कहिले सोचेका छौ ? कति बिरामी भए होलान कतिको मृत्यु भयो होला ?”

                                              “मान्छे मार्ने बेच्नेकोभन्दा तिम्रो यो कसुर धेरै ठुलो छ तिमीले कसैलाई पनि छोडेनौ । बालक, बृद्ध, सुत्केरी, बिरामी, स्वदेशी, बिदेशी कसैलाई छोडेनौ  ।” – हजारौँ मान्छेका प्रतिनीधी प्रश्नहरु बर्सिदैँ थिए । उ चुपचाप थियो केबल चुपचाप । उस्को अनुहारमा पश्चातापका रेखाहरु, डर र लाजका धर्साहरु खोज्न र देख्न चाहेँ तर सब बेकार ।

                                               “तिमीले आज सब बक्नुपर्छ तिम्रा सब गल्ती स्वीकार्नु पर्छ । यो सब किन अनि के का लागी ? किन यस्तो निचता ? कस्को लागी ?” – प्रश्नहरु टुटेका थिएनन् ।

                                                “यो सब मैले मेरा लागी गरेको हैन । मलाई त दुखः सुख दुई छाक खान पाए पुग्छ । सबैका अगाडी स–सम्मान बाँच्न पाए पुग्छ ।”– बोल्यो उ, निकै लामो समयको केराई पछि  ।

                                                “त किन ?” – भिडबाट प्रश्न फ्याँकियो । कुनै ठुलै शक्तिको हात रहेको अनुमान सँगै धेरै जना हच्कीए  भने कतिको लागी ब्रेकिङ न्युज बन्यो ।

                                                  “यो सब तिम्रा लागी, उस्का लागी, त्यस्का लागी अनि .............. अनि तिम्रा समाजका लागी ।”– उ सबैलाई दोष दिईरहेको थियो । भिडमा खैलाबैला मच्चियो ।

                                                  “तैलेँ भन्न खोजेको के ? के सबै खराब काम हाम्रा लागी गरेको रे ?” – निकै रिसाएको आवाज सुनियो ।

                                                    “हो ।” – उस्ले भन्दै गयो । “तिमी अनि तिम्रै बोक्रे समाजको लागी । कसैको पनि ईमान्दारिता, नैतिकता, मानबता केहि बिचार नगरी खाली अग्लो घरसँगै ईज्जत बढ्ने र महङ्गो जिबनशैलिसँग ईज्जत महङ्गिने, राम्रो गाडीसँग ईज्जत राम्रो मान्ने यो समाजले हामी जस्ता ईमान्दार, मेहनती र मानबता भएका सरल मान्छे पनि छन् भन्ने सम्म पनि बिसर्यो । कुन स्थिीतीबाट उठेर कतिजना लाई मारेर, कतिलाई ठगेर अनि कतिलाई लुटेर तिनैका हाड र रगतको महल बनाई बसेको छ सबै बिर्सेर समाजले वाहवाही गर्दा मलाई पनि .........।” – बोल्दा बोल्दै उ रोकिएर छेवैमा राखिएको पानी थोरै पिएर पुनः बोल्न थाल्यो ।
                                                    “हो, यहाँ सामान्य मान्छेलाई सडकमा, घरमा, बाटोमा जहाँ पनि डर । कानुन लाग्ने हामीलाई, बल हामीमै प्रयोग हुने । तिनलाई मान्छे मार्दा पनि कानुन नलाग्ने, हामीलाई बाटोमा हिँड्न सम्म डर । हाम्रो लागी प्रशासन सधैँ बन्द, तिनका लागी २४ सै घण्टा खुल्ला । तिनलाई जेलबाट छुटाउन बाटोमा जुलुस निस्कन्छ, सरकार नै झुक्छ तर सामान्य मान्छेलाई तिनै कार्यालयको पियनले सम्म पनि गन्दैन । हो तिनै बोक्रे र खोक्रे समाजको लागी मैले यो सब गरेको ।” – यो सबै बोलेपछि उ दुबै हातले मुख ढाकेर चुप थियो ।

                                                        “ यहाँ निर्धन अनि सामान्य मान्छे भएर बाँच्नु भनेको अभिसाप हो अनि श्राप हो । जबसम्म समाजले धनको तराजुमा मान्छेको अस्तीत्व, महत्व र ईज्जत जोख्छ । तबसम्म यस्तै कर्महरु दोहोरिरहन्छन् हुनसक्छ मेरो ठाउँमा तपाई वा अरु कोही होलान् तर बिश्वास गर्नुस कोही न कोही हुनेछन् ।” – उस्को आवाज सँगै सब चुप थिए ।

                                                         म पनि समाज हुँ, म समाजकै महत्वपुर्ण अङ्ग हुँ । म पनि दोषी हुँ  हो, म पनि दोषी हुँ । मैले मलाई परिवर्तन गर्नुपर्छ ।  


                                                                                     शुभारम्भ

No comments:

Post a Comment

Thank You very much. Raj