Tuesday, June 28, 2011

नजितीने युद्धहरु

by Raju Dahal on मंगलवार , जुन 28, 2011 तारिख 7:24साँझ बजे
                                   
                                                           हरेक साँझ जस्तै म आजपनि थाकिसकेको छु दिनभरको युद्धले । बिहान उठ्यो अघिल्लो दिन दिनभर हसुरेको खाली पार्ने युद्ध, हुन पनि नुन खाए पनि सुन खाए पनि सबै फ्याँक्नै पर्ने कस्तो नियती । जुन युद्धमा हार्नु अर्थात पछाडी हुनु भनेको सबैभन्दा पिडादायी हुन्थ्यो र अझ बिजेता घरबेटि परे भने त हारको पिडा बयान गर्नै गारो हुने गर्थ्यो । मान्छे सुःख र शान्ती फेला पार्न नसकेर जंगल देखि बंगला सम्म पुग्छन् । कोहि कचौरा बोकेर माग्छन् त कोही कचौरा चोरेर भाग्छन्, कोहि मर्छन त कोहि मार्छन । सुखःको खोजमा मान्छे जिन्दगी भर दुखः भोग्छन् ।          


                                                     यस्तै अझ यो भन्दा कैयौँ उच्चकोटीको सुखः मेरा बिहानका प्रत्येक हारसँग अनुभव गरेको छु मैले । हुन त हार्नु मेरो लक्ष्य कदापी रहने गर्दैन तर ईच्छाले के गर्ने रहेछ र ? कम्तिमा आधा घण्टा पेट समातेर भित्तामा अडेस लागेर बल्लतल्ल रोकेको मलमुत्र जसोतसो अड्याएर बाथरुम छिरेर त्याग गरेको बेलाको आनन्द शब्दमा ब्यक्त गर्नु भनेको असम्भव कुरा नै हो । कैयौँ जोगी अनि भोगीहरुले अनुभव गर्न नसकेको आनन्द म त्यसबेला पाउने गर्दछु ।     

                                                       महाभारत युद्ध पनि १८ बर्षमा सकियो रे तर बाँचुन्जेल कहिल्यै नटुङ्गिने दोस्रो युद्ध भनेको पानी लिने लाईन हुने गर्दथ्यो । युद्धमा भाग लिन आउनेहरु सबै शस्त्रास्त्रले भरिपूर्ण भएका हुने । अमोघ बाण भन्दा पनि शक्तिशाली वाक् बाण, फिर्ता गर्न नसक्नेहरु र लडाँईमा नभिजेका हरुलाई त एकैपटकमा तिन चीत खुवाउने सामर्थ्य राख्थ्यो । बाँणका प्रत्येक कण मानिसका दिल दिमाग छेड्ने प्रकारले बनेको अझै हातको पोजीसन छड्के (धारे)बनाएर प्रहार गरेको बाँणको त के कुरा गर्नु र ? कैयौँ दिन डब्लु डब्लु एफमा सम्म पनि देख्न नपाको जगल्टा लुछ्याँई यता तिर देख्न पाईन्थ्यो । कहिल्यै पनि शान्तीसँग पानी भरेर ल्याएको सम्झना छैन मलाई । कोहि एक मिनेट पर्खन तयार नहुने सबैलाई हतार, प्रतित हुन्थ्यो सबैको लागी यो नै अन्तिम युद्ध हो सबै यो युद्ध जित्न चाहन्छन् । यो जित पछि संसार सबै बिजेताकै हुने छ । माया, आदर, मुल्य, मान्यता, दया सबै ब्यर्थ रहन्छन् यहाँ । कोहि बिरामी होस, कसैलाई आपत परोस, कोहीलाई हतार होस केहि फरक पर्दैन यो रणभुमिमा । बच्चा, बृद्ध, अशक्त केहि भन्दैनन युद्धका सहभागी, लक्ष्य सिर्फ बिजेता मात्र बिजेता ।                                                       

                                                        युद्ध नं ३ “नखाउँ त दिनभरको शिकार, खाँउ भने कान्छा बाको अनुहार” – भनेझैँ खान पनि आनन्दले नसकिने छोड्न पनि नमिल्ने एउटा जा–गिर खान जानै पर्ने । त्यही पुरानो पाईन्ट र फुटपाथाँ किनेको सर्ट ट्याँस्स टाँस्दै घाँटीमा एउटा दाम्लो बानेर, जबरजस्ती अडिएको जुत्ता भिरेर थोत्रा मोत्रा गाडीको प्वाले बाटोमा पुगेपछि महायुद्ध शुरु । कालो न कालो धुँवा फ्याँक्दै ठस–ठस कन्दै आएको आधुनिक रथमा घुस्ने युद्धमा भाग लिन चोक–चोक अझ आँगन–आँगना तम्तयार लडाकुहरुलाई लडाउँदै र हराउँदै रथारोहण नगरे जागिरको जा हटेर गिर मात्रै बाँकी रहने ।       


                                                          अहो ! रथको के कुरा र ? जादुको भाँडो जस्तो, जति हाले पनि अट्ने, जहाँबाट हाले पनि हुने, जसरी हाले पनि हुने । अगाडी बसेका चालक देब र ढोकामा बसेका बालक देबको कृपा भए पाईला –पाईलामा ठ्याँस्स–ठ्याँस्स बिश्राम गर्दै टयाँस्स टयाँस्स झर्न र उत्रन मिल्ने । नियम कानुन केहि छैन न रथलाई न त रथका देउतालाई न रथका आरोहि लाई नै ?।  पैदलै जाँदा पन्ध्र मिनेटको बाटो रथारोहण गर्दा पैँतिस मिनेट लागेपनि कसलाई के मतलब ? को हिँडोस ब्यर्थै ? अझ बाबा ! कस्तो समानता यी रथहरुमा जहाँ बुढाबुढी, केटोकेटी, महिलापुरुष केहि भेदभाव हुँदैन । चालक देबले सुस्त हाँकेको रथमा बालक देबले तानेर ढोकामा कोच्याएपछि सब सरोबरी ।  सडकमा उत्रेपछि रथमा चढेसम्मको चढ्ने  युद्ध, रथको आरोहणको बेला अड्ने युद्ध, गन्तव्यमा पुगेपछि झर्ने युद्ध ।                                                                 


                                                           योद्धाहरुले कहिले पछाडी फर्केर हेर्दैनन् । अर्को रथ पनि आँउछ कि भन्ने मनमा पनि लिदैँनन, पंक्तीमा बसेर रथारोहण गर्नु भनेको त युद्धनितीको बर्खिलाप हो । युद्धमा नियम केहि हुँदैन । झर्ने, चढ्ने, बस्ने, उठ्ने सब चातुर्याईँ र बलको भरमा हुनुपर्छ र हुन्छ । सबैले सोच्नुपर्छ र सोच्छन कि यो नै अन्तिम युद्ध हो । यो जित पछि अब अर्को लडाईँ लड्नु पर्ने हुन्न र हारीयो भने संसार यहि सकिन्छ अनि रितीन्छ । सबको लक्ष्य बिजेता मात्र बिजेता ।


                                                                    पैसा तिरेर सामान किन्दा वा फुटपाथाँ हिन्दा, मट्टीतेल पेट्रोलको लाईनमा वा हाकिम साबको साईनमा , मन्दिर जाँदा होस वा सेकुवा खाँदा, स्कुल कलेज छिर्दा वा हात हेराउँदा,  पासपोर्ट लिन वा नागरीकता लिन, बैँकको पैसा दिन वा लिन, फिल्म हेर्दा वा स्वाद फेर्दा, चितामा पोल्न वा माईकाँ बोल्न लगायतका यावत कामलाई हरेक पटक युद्ध बनाउने गर्दछौँ हामी । लाग्छ यो नै सबैको अन्तिम युद्ध हो । तर प्रतिफल के त ? भोलिपल्टको स्थिीती अझ भयाबह हुँदै जान्छ कारण युद्ध मन नपराउनेहरु पनि जबरजस्ती युद्धमा होमीन्छन् अनि नयाँ नयाँ लडाकुहरु पनि थपिदैँ जान्छन् । लडाकुहरुमा मानवता दया माया रित्तीदैँ जान्छ र जित्ने नशा थपिदैँ जान्छ । त युद्ध झनै बढ्दोरुपमा फैलिन्छ ।


                                    कहिले नजितीने युद्ध , कहिले नसिद्धीने युद्ध,  बिना प्रतिफलको युद्ध र कसैले नजित्ने युद्ध ।   

                                                 बन्द गर युद्ध.............. दुई मिनेट पर्ख बरु । ओहो ! १२ बजिसकेछ । भोलि त दक्षिणकालीमा युद्ध गर्न जानुछ त्यसभन्दा पहिले बसपार्कमा अर्को भर्यकर युद्ध,  मतलब दक्षिणकालीको लाईन र बसपार्कको भिडमा बस चढ्नु पर्ने ........ .............................। उफ् कहिल्यै नजितीने युद्ध...........हे युद्ध

No comments:

Post a Comment

Thank You very much. Raj