Sunday, January 23, 2011

लघु कथा <<"पैसा">>

                        "लौ ! ए गज्जब छ, भाग्यमानी छ । ओहो ! राजा हुनु पर्ने मान्छे ...........?? यस्पालि अलिक नराम्रो छ, अँ ! राहु सा ....... " ज्योतिष बाको कुरो बिचैमा काटेर आगन्तुकले बिस्तारै बोले - "उ त बितेको ४ महिना भैसक्यो।"

                        ज्योतिष बा निहुरियर चिनाको गोलो तिर घोरिए, औंला गने किन हो ? केहिबेरमा चिना देखाउँदै " यी क्या त ! येस्पाली ठुलो खड्गो रैछ । मैले भनेकै थिएँ नी येस्पाली ग्रहदशा अलिक बिग्रेका छन् भनेर ।" आगन्तुकले चिनातिर हेर्यो अनी टाउको हल्लायो कति बुझ्यो, कति बुझेन, अनी के बुझ्यो, के बुझेन ? केही क्षण ज्योतिष बाले आकाश पाताल जोडेर आफ्नो बिध्दता दर्शाए (राजाको चिना हेरे, झन्डै मन्त्री भए, करोडौँ रुपैयाँ जानाजान गुमाए, संसार घुमे, अनेकौ चमत्कारी भुत र भबिष्य बताए ।)। आगन्तुक मख्ख सुनिरह्यो टाउको हल्लाउँदै ।
                       केही क्षणपछी आगन्तुक फर्कने बेलामा ज्योतिष बाले मौका मिलाएर केही दिनमै आफु काशी जाने अनी मृतआत्माको चिना त्यहीँ लगेर बगाइदिने कुरा ब्यक्त गरे सो बापत केही पैसो कुम्ल्याए पनि अनिच्छापुर्बक पैसा भुइँमै राखे । आगन्तुक पाऊ पर्दै फर्के, ढोका पनि कट्न नपाउँदै ज्योतिष बा कुर्लिए "उमेश ! ए केटा यहाँ आइज ।" केटो दौडेर आयो । "हजुर ! ? ?" "ला यो चिना त्यो मनोहरामा बगाएर आइजो । मरेको मान्छे को चिना घरमा राख्न हुन्न, अलच्छिन लाग्छ ।"
                  केटो चिना समातेर मनोहरा तिर लम्क्यो । ज्योतिष बाले पैसा टिपेर कोटको भित्री खल्तिमा राखे अनी मुस्काउँदै उठे "हरे राम ! हरे राम !!" ज्योतिष बाको आवाज गुन्जदैँ थियो ।

No comments:

Post a Comment

Thank You very much. Raj