Saturday, October 15, 2011

"माता !" - एउटा सत्य कथा



“उहाँले त भुत भबिष्य सबै बताउनुहुन्छ ।” – मेरो साथीले भीडको बिचमा मुख खोल्यो ।

“हो, माताले सबै दिनदुखीको रक्षा गर्नुहुन्छ ।” – अर्की एक दुखी देखिने महिलाले भरोसापुर्वक बोलिन् । आशाको फुलहरु फुले मनमा, किनकी मसँग दुखको काँडाहरु थिए । हो ! साँच्चै काँडाका पहाड नै थिए । साथीको कर र आफ्नै रहरमा दुखबाट पार पाउन कालो पलाष्टिकको झोलामा केहि मुठी चामल र केहि पैसा पोको पारेर आएको थिएँ म ।


                                         म नै संसारको सबैभन्दा दुखी हो कि भन्ने सोचाईको बिपरीत त्यहाँको भिडसँग तुलना गर्दा कुनै पनि कोणबाट म दुखी थिईँन । मेरा सोचाई, मेरो बढ्दो महत्वाकांक्षा आदिले मलाई दुखी बनाईरहेको सत्य केहि मात्रामा भएपनि बुझ्न पाएँ त्यहाँ ।

“एउटा छोरा चाहियो नी, मरेपछि पिण्ड दिने ........।” – एकजना महिलाको आवाज तर्फ नजर फ्याकेँ, काखको रहरलाग्दी छोरी आमाको मुखमा ट्वाल्ल हेरिरहेकी थिई, के बुझेर वा के नबुझेर । तर उस्की आमाले आफु पनि छोरी नै भएको बिर्सेकी पो थिईन कि ?

                                         कोहि आफ्नो छोरीलाई कसैले मोहनी लाएको र त्यसलाई हटाउन, कोहि आफ्नो जिन्दगीबाट सौताको निशान मेटाउन, कोहि जेलमा परेका आफन्तलाई छुटाउन, कोहि बिदेश जाने योग हेर्न, कोहि पढाईमा प्रगती माग्न, कोहि ब्यबसायीक मन्दी र असफलता हटाउन, कोहि पेटमा भएकी छोरीलाई छोरा बनाउन यस्तै यस्तै अनगिन्ती समस्या लिएर समाधानको उपाय पत्ता लगाउन वा पाउन अमुल्य समय र र पैसा सक्दै उकुस मुकुस गर्मीमा बाहिर देखि नै लाईन लागेका थिए मान्छेहरू ।

                                           पर्खाईको क्रमसँगै मेरो लाईन पनि मुल ढोका भित्र छिर्‍यो । भित्तामा हामीले फोटोमा देखेका लक्ष्मी जस्तै सजावट भएका केहि तस्बीरहरु थिए । चिने चिने जस्तो लाग्यो ध्यान पुर्वक हेरेँ त्यहाँ लेखिएको नाम र अन्य केहि फोटा हेरे पछि भने मातालाई मैले राम्रोसँग चिनेँ ।

“उहाँ नै हो माता ?” – नजिकैका सबैले एकैपटक हो भनेपछि, बाथरुम जाने बहानामा ढोका भित्र चिहाएर हेरेँ । मेरो शंका शतप्रतिशत सहि थियो । साथीलाई जबर्जस्ती फर्काएर ल्याएँ मैले त्यहाँबाट, उ रिसायो नै ।

                                              हो, उ मेरि दिदी अनि मेरी आमा । बिहा गर्ने बित्तीकै श्रीमानले छोडेर अर्कि ल्याएपछि माईतिमा शरण लिएर बसेकी र माईतिमै एक छोरीलाई जन्म दिएकी । माईतिले पनि असाध्य हेला गरेपछि अर्काको खाली घरमा कुर्न बसेकी । त्यसपछि हाम्रै घरमा बसेर हामीलाई हुर्काउने, खुवाउने र पढाउने काम गर्ने अत्यन्तै माया गर्ने दिदी । किताबका अक्षर बल्ल तल्ल खुट्टयाउन सक्ने दिदी । कसैसँग नडग्ने, समाजका खराब तत्वहरुलाई चप्पल लिएर लघार्न सक्ने र लघार्ने दिदी ।  कालान्तरमा हाम्रो परिबार बिस्थापीत भएर शहर छिरेपछि सँगै आएर गलैँचा बुन्ने दिदी, असमयमै छोरी पोईल गएपछि बौलाहा जस्तै घुमिहिड्ने दिदी, कहिलेकाहीँ भेट्दा चर्का र बेहोश कुरा गर्ने दिदी ।

                                               केहि सम्हालीएपछि, सिन्धुपाल्चोकका कुनै केटालाई छोरा र उस्की स्वास्नीलाई बुहारी बनाएर सबै श्रीसम्पती सुम्पेकी दिदी । अनि त्यही धर्मछोराले भारत घुमाउने बहानामा लागु औषधको झोला बोकाएपछि बित्थामा जेल परेकि दिदी । केहि समयमै जेलबाट निसकेपछि बेपत्ता भएकी दिदी ।

                                                के मेरि दिदीलाई दुख र चोटले नै माता बनायो त ? या समाजसँग ठगीदाँ अनि लुटीदाँ लुटीदाँ दिदीले पनि त्यही समाजसँग बदला लिन लागीन ।

                                                         साँचो भन्नुस न दिदी यो सब के हो ?

                                                                           समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj