हामी बर्षौँ देखि साना बच्चाहरुलाई पढाइरहेका लाई राम्रैसँग र बालबच्चाको पठनपाठनमा सामान्य ध्यान दिने सबैले थाहा पाउने तथ्य हो – सानो उमेरमा राम्रो पढ्ने बच्चाहरु उमेर बढ्दै गएपछि त्यती राम्रोसँग नपढ्ने हुनसक्छन् । वा सानोमा ढिलो बुझ्ने, पढ्दै नपढ्ने बच्चाहरु पनि पछि राम्रोसँग पढ्ने हुनसक्छन् । फरक बौद्धिक क्षमता भएका भन्दा बाहेक अन्य बालबच्चाहरुको पठनपाठन घरपरिवार र अभिभावकले दिएको वातावरण, अभिावकको चासो र लगाव तथा अभिभावकले दिने समय जस्ता कुराहरुले प्रभाव पार्छ । केहि समय निरन्तर अभिभावकले उपयुक्त वातावरण, समय सहित चासो दिएमा पठनपाठनमा कमजोर भनिएका बालबच्चाहरुले राम्रो गर्न सक्छन् भने राम्रो पठनपाठन भएका बालबच्चाहरुलाई केहि समय अभिभावकले राम्रो वातावरण र समय दिन नसके वा कुनै पनि कारणले पठनपाठनको वातावरण बिथोलिए कमजोर हुन सक्छन् ।
picture: google |
जुन बेला सम्म केटाकेटीहरुले पठनपाठनको महत्व थाहा पाउँदैनन् त्यो बेला सम्मको पढाई अभिभावकको र शिक्षकको जबरजस्ती देन मात्र हो । ५ देखि ६ बर्ष उमेरका बच्चाहरुले आफसेआफ राम्रो पढ्ने लेख्ने सम्भावना हुन्न । साथै बालबालिकाको विकासक्रममा कसैको मस्तिष्क छिटो विकास भएको हुन्छ भने कसैको केहि समय ढिलो मात्र हुने हुन्छ । नर्सरी कक्षामा बर्षभरी पढ्दा क वा अंग्रेजी अक्षर ए लेख्न नजान्ने बच्चा एल के जी कक्षामा पुग्दा तुलनात्मक रुपमा धेरै राम्रो पढ्न थाल्छ । प्री प्राईमरी कक्षामा सँधै कक्षामा प्रथम हुने बच्चा कक्षा २ वा ३ मा पुगेपछि बल्लतल्ल उत्तिर्ण मात्रै हुने पनि हुन्छ । कक्षा नर्सरीमा पढ्न शुरु गरेको बच्चाले कक्षा १२ सम्म पुग्दा सँधै एउटै परिणाम प्राप्त गर्न वा पठनपाठनमा एकरुपमा ल्याउने कमै मात्र हुन्छ ।
हामी शिक्षक लगायत सबै सर्वसाधारणलाई थाहा हुने यति सामान्य तथ्य नेपालमा नाम चलेका भनिएका बिद्यालयहरु जस्तै ः सेन्ट जेभियर्स, सेन्ट मेरिज जस्ता बिद्यालयलाई थाहा नहुने पक्कै पनि हुँदैन । तै पनि प्रबेश परीक्षाको नाउँमा ५ देखि ६ बर्षसम्मका हजारौँ साना नानीहरुलाई असफलताको बाटो किन देखाईन्छ ? के ति मिसनरी स्कुलका वा अन्य साना बच्चालाई असक्षमको ठप्पा लगाउने बिद्यालयका संचालकहरुले प्रमाणित गर्न सक्छन् कि उनीहरुले छानेका बालबालिका मात्र उत्कृष्ट हुन् ? उनीहरुले छानेका बालबालिकाहरु बिद्यालय जिवनको अन्तिम सम्म पनि उत्कृष्ट नै राखिरहन् सक्छन् ? नत्र त अभिभावकको लागि पढिदिएका र कतिपय सवालमा मस्तिष्क हुनुपर्ने जति सक्षम नभएका साना नानीहरुलाई असक्षम बनाएर के गर्न खोजेका हुन् ?
त्यस्ता प्रबेश परीक्षा लिएर पठनपाठन गराउने र अधिकांश नानीबाबुहरुलाई असक्षम घोषणा गर्ने बिद्यालयहरुले कि त सबै बिद्यार्थीहरुलाई सक्षम मानेर पठनपाठनमा सामेल गराउन पर्यो । कि लिलाम बढाबढमा बढि शुल्क बुझाउने अभिभावकका नानीबाबुहरुलाई मात्रै पठनपाठन गराउनुपर्यो । नत्र अन्य उपायहरु अपनाउनुपर्यो । तर प्रबेश परिक्षाको नाममा साना नानीबाबुहरुलाई असक्षमताको ठप्पा लाएर फिर्ता गर्नु भने भएन । साना नानीबाबुहरु तत्कालै डाक्टर, ईन्जिनियर, चार्टर एकाउन्टेन वा प्रोफेसर बन्न कक्षा १ मा भर्ना गराउने जाने हैनन् । समयक्रममा बिषयबस्तु प्रति लगाव, घर समाज र देशको वातावरण आदिको प्रभावले समयको क्रममा उस्ले आफ्नो क्षेत्र छनौट गर्दछ । त किन हामी अभिभावक साना नानीबाबुहरुलाई असक्षम घोषणा गराउन लालायीत छौँ ?
र ती गज्जब भनिएका बिद्यालयहरुले कुन र के आधारमा हाम्रा नानीबाबुहरुलाई असक्षम घोषणा गर्छन ? ती बिद्यालयहरुले पनि यो प्रवेश परिक्षा रोकेर सिधा अभिभावकको मोटो खल्ती र बैँक ब्यालेन्स वा पोजिशन पो जाँच गर्ने हो कि ?
सरकार तथा शिक्षामा चासो राख्ने सबै अभिभावकहरुले सोच्नै पर्ने बिषय हो यो ।
No comments:
Post a Comment
Thank You very much. Raj