राजु दाहाल
शहरमा बाटा धेरै छन् अझ बाटो भन्दा गाडी बढि छन् । शहरमा घर बढि छन् र घर भन्दा मान्छे धेरै छन् । मल छन्, पार्क छन्, सिनेमा घर छन् अनि छन् धेरै खाजा घरहरु तर तुलनात्मक रुपमा अझै गल्लीका भट्टी र चिया पसल बढि छन् ।
मल, पार्क अनि भवनहरुले त के देखे र के सिकाए भन्न मुश्किलै छ < तर प्रष्टै थाहा छ भट्टी अनि चिया पसलले के देखे र के सिकाए भनेर । हरेक परिवर्तनलाई आफ्नै नजरले हेरेको छ चिया पसल अनि भट्टी पसलले । यहाँ भट्टी पसल र चिया दोकानमा देश बन्छ अनि बिग्रन्छ । अघिल्लो दिन खराब भोलिपल्ट सप्रन्छ । अनेकौँ योजनाहरु बन्छन् अनि तुहिन्छन् पनि । हरेक कार्यको योजना अनि तर्जुमा गर्न सक्छन् ती ठाउँ ।
बिडम्बना आजकल ती ठाउँहरुमा युवा पुस्ता कमै देखिन्छन् । लाग्न सक्छ युवापुस्ता सप्रिए, सबै एकजुट भएर देश र समाज विकासका लागी अगाडी बढ्दैछन् । र त उनीहरुलाई चिया पीउन अनि भट्टीमा जुट्न समय छैन । यदि यहि सोच हो भने तपाईँ गलत हुनुहुन्छ । आजकल युवाहरुले समाज र देश विकासको निम्ती चिया पसल र भट्टी छोडेर नयाँ ठाउँ सिर्जना गरेका छन् । आजकल युवाहरु फेसबुक र ट्वीटरमा देश हाँकिरहेका हुन्छन् । समाज परिवर्तन गरिरहेका हुन्छन् । बिना मेहेनत ,बिना पसिना अनि बिना बाधा अवरोध ।
घरमै बसी बसी कल्पनाको सागरमा उड्छन्, गुड्छन् अनि पौडन्छन् । भयंकर चिन्ता छ उनीहरुलाई साना साना बेथिती अनि कुरीतीहरु प्रती । घटनाहरु घट्नै हुन्न, बग्रेल्ती पीर र चिन्ताहरु रगमगाईरहेका हुन्छन् फेसबुक र ट्वीटरको अनुहारभरि ।
लाग्छ हामी संसारकै सबैभन्दा बढि माया गछौँ मातृभुमीलाई । चोकमा फोहोर भयो हामी तत्कालै फोटो खिचेर फेसबुकको अनुहारमा टाँस्छौ अनि ट्वीटरमा झुन्डाउँछौ । कसै प्रति अन्याय भयो हामी आवाज उठाउँछौं तीनै ट्वीटर र फेसबुकमा । हाम्रा हात कुनै विकृती तर्फ उठ्दैन उठे पनि फेटु मार्फतै हो ।
हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ नै । आशा गरौँ भविष्यमा एकदिन यस्तो दिन आउनेछ जहाँ आवाज उठाउनेले मात्रै हैन सुन्न पर्नेले पनि फेसबुक र ट्वीटरबाटै सुन्नेछन् । तर के भन्न सकिन्छ र < चिया र भट्टीको ठाउँ फेसबुक र ट्वीटरले लिए जस्तै अर्कै केहि जन्मिन्छ की <
No comments:
Post a Comment
Thank You very much. Raj