Sunday, July 15, 2012

(ह्यान्डिप्लाष्ट) टेप महात्म्य

        “बिचरा घाउ भएछ ?” – मलाई उ देखेर दया लाग्यो । अझै कुठाउँमा घाउ भाकोले त दया एक पाउ जति नै थपियो । बिचरा ह्यान्डीप्लाष्ट (जस्लाई अब यो लेखभरि टेप भनेर नै लेखिनेछ) लाउन अप्ठेरो भएर बाहिरै बाट टाँसेछ । शायद कपडै प्वाल पर्‍यो होला र त टेप लगाउन सकियो । 

सोचाई गलत भएछ बिना चोटपटक नै घुँडामा, हातमा, छातीमा कपडा माथि बाटै टेप टाँस्न थालेछन् । कति खोजी गर्दा पनि त्यसो किन गर्छन पत्तै लाउन सकेन यो बालकले । सोध्ने बिचार पनि नआएको कहाँ हो र ? तर टेप लगाउने वालाहरुको चुरिफुरी देखेर आँ सम्म गरे पनि अगाडी बोल्ने हिम्मत पटक्कै भएन यस्को ।
   
निकै सोच बिचार पछि मनमा ट्वाक्क फुर्‍यो यो बालकको । छाला च्यातीए पछि टेप लगाए जस्तै कपडा च्यातिएपछि पनि टेप नै लगाका होलान् झ्यापे ट्यापेहरुले । दुई चार दिन त यो बालक आफुले आविष्कार गरेको सत्य मनन् गरेरै मखलेल रह्यो फेरि बाटा चौबाटोमा भेटिएका झ्यापे ट्यापेहरुले नयाँ कपडा मै ट्वाक्क टेप टाँसेको देखेर यस अदनाको सत्य पत्ता लगाएको चुरिफुरी भुर्रै उड्यो हल्का हावाको झोकासँगै । अझ बेला बेलामा त झ्यापी ट्यापीहरुले पनि फ्रक र सर्टमै टेप टाँसेको देखेर कहिले मख्खै त कहिले छक्कै परिरह्यो यो । 

   हुन त टेप उत्पादन गर्ने कम्पनीहरुलाई फाईदा नै भएको होला । अझ मिले र सके त एउटा दुईटा बिज्ञापन नै बनाउँदा हुन् टेपका कम्पनीहरुले । 

“कपडामा टेप टाँस्नुस, आधुनीक बन्नुस् ।
सबैको नजरमा नपरे हामीलाई भन्नुस् ।” – यस्तै यस्तै नारा दिएर । 

         साँच्चै, छदाँ खाँदाको कपडामा किन टेप टाँस्छन् होला मान्छे ? मन दुख्दा छातीको सर्टमा,  टाउको दुख्दा टाउकोको टोपीमा अनि खुट्टा दुख्दा पाईन्टमा टाँस्न मिल्ने पो हो की ?   
हे प्रभो ! सबैको जय होस् । 
समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj