Sunday, June 10, 2012

एउटा संस्मरण – ती दिनहरु


                                             भर्खर – भर्खर राजालाई नागार्जुन पुर्‍याइएको स्थिती थियो । संबिधान सभाको चुनाव भइसकेको थियो । राष्ट्रपतीको रुपमा केहि नामहरु जवरजस्त बाहिर आउँदै थियो । माओवादी अर्थात अहिलेको एकिकृत माओबादीका अध्यक्ष प्रचण्ड अर्थात पुष्पकमल दाहालको नाम राष्ट्रपतीको रुपमा अग्रपंक्तीमा देखिन्थ्यो । 
              देशमा गणतन्त्र आएपछि पहिलो राष्ट्रपतीको रुपमा प्रचण्डको नाम भित्ता भरि देख्न पाइन्थ्यो “गणतन्त्र नेपालको पहिलो राष्ट्रपती कमरेड प्रचण्ड” भनेर । समय क्रममा राजनीतीको खेलमा बाजी मार्दै नेपालको पहिलो राष्ट्रपती बन्न सफल भए रामबरण यादब । 


                                       बाँसको घारी भएर बाँसघारी, डाँडाको गाउँ भएर डाडाँगाउँ, दारी पालेर दारी बुढा अनि लाहुर गएर लाहुरे बनेजस्तै  भित्तामा सिमीत भएका प्रचण्ड जनमानसमा भित्ते राष्ट्रपतीका नामले चिनीन थाले । 

                  यहि समयमा निजी बिद्यालयहरुको एक संस्था फिजमले उपत्यका ब्यापी अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगीता गर्ने भयो । अतिरीक्त क्रियाकलापको संयोजकको नाताले कार्यक्रमको जिम्मा मेरो काँधमा आयो । 

                    प्रश्नहरु निकै संख्यामा चाहिने हुनाले प्रत्येक सहभागी बिद्यालयलाई २०० वटा प्रश्न पठाउन लगाईयो । साँझ बिहान साथी देबी प्रसाद डोटेल र म मिलेर प्रश्न छनौट गर्न थाल्यौँ ।  हु ईज नोन याज वाल प्रेसीडेन्ट अफ  नेपाल ? अर्थात नेपालका भित्ते राष्ट्रपती भनेर कसलाई चिनीन्छ ? यो प्रश्न निकै बिद्यालयबाट प्राप्त भयो । खुल्ला रुपमा भित्ते राष्ट्रपती भनेर भन्न आँट नगरे पनि  भित्र–भित्र खरमा आगो लागे झैँ जन जिब्रोमा झुण्डिसकेको थियो । 

                   हामी पनि त्यही निरीह जनता नै त थियौँ । त्यो बेलामा भित्ते राष्ट्रपती भन्ने आँट गर्नु आफ्नो तन र धनको नोक्सानी गर्नु थियो । तर छान्दा छान्दै पनि एउटा प्रश्न पुगेछ अन्तिम चरणमा अनि त्यही प्रश्न सोधियो पनि । तत्कालको लागी  एउटा गल्ती थियो त्यो,  केहि समयमा भुल्न पनि लागीसकेका थियौँ हामीले । 

             अकस्मात एकदिन हाम्रो अफिसमा केहि ब्यक्ति आएछन्  र आउने बित्तीकै त्यो प्रतियोगीताको बारेमा कुरा भएछ । कुरा अगाडी बढ्दै जाँदा संयोजकको नाताले म दोषी ठहरिएँ । मलाई हाजिर गराउने शर्तमा धम्की दिदैँ उनीहरु गएछन् । साथीहरुको सर्कलमा भुईँचालो गयो मलाई केहि समय भाग्नको लागी सबैले सल्लाह दिन लागे । तर म जान नै कहाँ सक्थेँ र अनि कहिलेसम्म जाने र ?  बेलुकी मलाई फोन आयो वाई सी एलको नाममा निकै धम्कीको भाषामा गालीहरु बहकिए म माथि । म शान्त भएर सुन्दै गएँ त्यो धम्की, बाँच्न मन भए भोलि बिहान १० बजे कोटेश्वर चोकमा आउन उर्दी जारी गरियो । 

                 डराउँदै–डराउँदै भोलिपल्ट म कोटेश्वर चोकमा गएँ । एउटाले कठालो समातेर मलाई तान्दै गाडीमा लगेर राख्यो । गाडीमा राख्ने बित्तीकै आखाँमा कालो पट्टी बाधेँर कतै लगीयो । मलाई अब भोलीसम्म बाँच्ने हो कि हैन पनि शंका लाग्न लाग्यो । मन भरि डर भएर पनि आफुलाई सामान्य बनाउन प्रयास गरिरहेको थिएँ म । उनीहरुले लामो टहराजस्तो भएको ठाउँमा लगेर पट्टी खोलेर घचेड्दै अर्को कोठामा लगे । कुनै सामान्य कार्यालय जस्तो लाग्ने सो कोठामा लाने बित्तीकै उनीहरुको नेता जस्तो लाग्ने एकजनाले मलाई सामान्य आदर गर्दै अगाडीको काठको कुर्सीमा बस्न भने । 

             उनीहरुकै एकजना शिर्ष नेताको नाम लिएर मेरो सम्बन्ध सोधे मैले सामान्य चिनजान भएको बताएँ । जबकी त्यो सत्य थिएन । केहि बेर भित्ते राष्ट्रपती भनेर प्रश्न सोधेको बिषयमा केहि जना बसेर बयान लिए मलाई । मैले झुक्केर सोधिएको प्रष्ट पारेँ । माथिकै सामान्य चिनजान भएका शिर्ष नेता जो समयक्रममा देशका प्रधानमन्त्री नै बने । उनैको हवाला दिदैँ मलाई चिया ख्वाएर स–सम्मान कोटेश्वर ल्याएर छोडे उनीहरुले । 

              पछि थाहा भयो एउटा टेलिभीजनमा न्युज भन्ने एकजना महिला साथीलाई मैले त्यो घटना र मलाई बोलाईएको बारेमा भनेको थिएँ । उनले माओबादीको केहि नेता अनि उनीहरुका निजी सहायकलाई राम्ररी चिनेकोले म कुरा गर्दिन्छु भनेकी थिईन । उनैले बेलैमा कुरा गरिदीएकाले नै हुनु पर्छ मलाई स–सम्मान र सकुशल फिर्ता पठाएका । 

           आज दिनहरु फरक छन्, भित्ते राष्ट्रपती भन्न आँट नगर्नेहरु सबै नेतालाई गाली गर्दैछन् । जनताको नजरमा सबै भासीइसकेका छन् । जनता र कार्यकर्ताहरुको बिश्वास र भरोसामा आगो झोसेर नेताहरुले खरानी बनाइसकेका छन् ।     

                                                                                 समाप्त
  

No comments:

Post a Comment

Thank You very much. Raj