Friday, November 25, 2011

यो कस्तो प्रेम भाग २

by Raju Dahal on Sunday, नोभेम्बर 20, 2011 तारिख 7:40pm बजे
                                            हावाको झोक्का सँगै स्थान बदल्नुपर्ने अनि मान्छेका पैतालामा कुल्चीएर रहनुपर्ने, बढ्दो उमेरका पालुवाहरु यीनै बुढा र असहाय पातहरुलाई जिस्काएर हाँसीरहेको भान हुन्थ्यो । तर प्रेमील जोडीहरु तिनै खसेका पातहरुको चकटी र ओछ्यान बनाएर बस्दा र पल्टीदाँ पक्कै पनि ती पातलाई सन्तुष्टि मिल्दो हो अनि नव पालुवाले छिटै बोटबाट झर्ने चाहना गर्दो हो । यी प्रेमी जोडीहरु कति निर्भीक अनि कती मस्त
                             हातमा हात, एकअर्काको साथ
                              गुनगुन बात, अनि यौवनको मात ।


                                     कति भाग्यमानी यीनीहरु जो एकअर्कालाई भेटेर र पाएर प्रेम गर्न सक्छन् । जस्ले यत्रो भिडभाडमा पनि निष्फीक्री एकअर्काको अधरपान गर्न सक्छन् । मैले मेरो जोडी कल्पना गर्न साबधानीपुर्वक केहि जोडीलाई नियालेँ । मजाले हाँसो उठ्यो, समय स्थानलाई ख्याल राखेर मैले हाँसो लुकाएँ । कस्तो नमिलेको जोडी लाग्ने राम्रो केटा नराम्री केटी, नराम्रो केटा राम्री केटी, उमेरमा निकै फरक देखिएका, मोटाईमा धेरै नै अन्तर भएका यस्तै यस्तै । फेरि आफैँले सोचेँ, प्रेमले यी कुनै कुरामा बिश्वास गर्दैन । मेरी उनी पनि त अन्धी वा अपाङ्ग यस्तै केहि हुन सक्छिन् । के मैले उनलाई छोडिदीने त ? तर अर्को मन ढुक्क थियो मेरो सपनाको राजकुमारी हुन् उनी । मेरो चाहना र सपना भन्दा पनि उम्दा हुनेछिन् उनी ।

                                  कसरी भेट्ने ? हाई भन्दै हात हल्लाउने वा सुजु भनेर कराउने वा गएर आई लभ यु भन्दै अगाँलो हाल्ने वा .............. के के ? म एकदमै कन्फ्युज थिएँ । अनि उनले के गर्लिन त ? पशुपतिको मन्दिरमा गएर जोडी बाँधे पश्चात उनलाई म मेरो घर लगेर जाँदा कस्तो अनि के होला ? म धेरै तनाब अनि थोरै रोमाञ्चक थिएँ । रातो साडी, चुरापोते र थाहा भएसम्मका बिबाहका लागी आबश्यक सामग्री जुटाईसकेको थिएँ मैले । पहिलो मिलनको लागी आफ्नै ओछ्यान पनि सजाउन लगाईसकेको थिएँ । मलाई आजको प्रत्येक पलहरु बिशेष र खास बनाउनु पर्ने थियो ।

                                “सुन सुजु, गल्ती मान्छेबाटै हुन्छ । तिमीमात्रै हैन म पनि मान्छे हुँ, मेरा पनि कैयन गल्तीहरु छन् । अबचाहिँ हामीले जानी जानी कुनै गल्ती गर्नु भनेको पाप हो । बिगतका कुरा छोडिदेउ । अब हामीले एकअर्काप्रती इमान्दार र बफादार रहनुपर्छ ।” – उनलाई मैले पटकपटक सम्झाएको थिएँ । उनको जिबनको एकै गल्ती मैले कहिल्यै सुन्न चाहिँन ।

                                “राज, कतै यहि एउटा कुराले हाम्रो जिबनमा भुईँचालो नल्याओस । मेरो तिमी भन्दा बाहेक अरु कोही  छैन संसारमा । मेरो जिबनको आशा, मेरो बाँच्ने भरोशा तिमी नै हौ । बरु म तिम्रो दासी भएर बाँच्न स्वीकार गर्छु । तर प्लीज एकपटक ...........।” – उ अझै उस्का कुरा नै भन्दै थिई ।

                                      “सुजु, अब पनि तिनै गल्तीका कुरा ग¥यौ भने म तिमी सँग साँच्चीनै बोल्दिन ।” – मैले उस्को कुरा बिचमै काटेको थिएँ । तब उनी रुन्चे हाँसो हाँसेकी थिईन् ।

                                        म बाईसधाराको माथिपट्टी उभिएर गेटतर्फ हेर्न लागेँ । हरियो झोला अनि सेतो कुर्तासुरुवाल कतै देखिँन कतै भेटिँन । मेरा नजर बाईसधाराकै अघिल्तीर गुलाबी साडीमा केहि खोजीरहेकी एक युवती तिर प¥यो । हातमा एउटा झोला बोकेकी उ कसैको प्रतिक्षामा वा कसैको खोजाईमा रहेकी प्रष्टै हुन्थ्यो । उचाई एकदम पाँच फिट पाँच ईन्च, तौल पनि त त्यस्तै नै होला । रङ्ग भनेजस्तै, अनि कम्मर सम्म लर्किएको कपाल । सबै बटुवाका एक नजर त्यता लागेकै हुन्थ्यो ।

                                     “कतै मेरै जस्तो योजना बनाएर मेरी सुजु त आएकी हैनन् । हे भगवान, मेरी सुजु यहि भईदिए हुन्थ्यो ।” म बोल्न थालेँ एक्लै । उस्ले आफ्नो नजर चारैतिर लगाई र केहि पाईला पर रहेको बेन्चमा गएर बसि । खै कसरी म पक्का भईसकेको थिएँ उ नै मेरी सुजु हो भनेर ।

                                       अन्तीम निर्णयको खातिर मैले फोन लगाएँ । दुई घण्टि दिएँ, उनले फोन निकालीन् झोलाबाट । उनले कुनै नम्बर डायल गरिन, मेरोमा सुजुको फोन आयो । म झन्डै चिच्याएको खुशीले तर फोन उठाईनँ मैले । पुनः डायल गरेँ फोन उनैले उठाईन मैले केहि नबोली काटिदीएँ ।

                                      मेरी सुजु मेरै अगाडी थिईन केहि मिटर पर, मात्र केहि मिटर पर । अनि हाम्रो मिलन केहि सेकेण्ड पर, मात्रै केहि सेकेण्ड । पहिलो भेट केहि रोमाञ्चक बनाउने योजना मुताबिक उनी बसेको ठाउँ तिर लस्किएँ । मनका भावहरु म सोच्नै सक्दिन । एक दुई तिन चार............ मेरा पाईला लस्किए सुजुकै तिर ।  म चुम्बक झैँ खिचीदैछु निरन्तर – निरन्तर ।

                                      म बिल्कुलै सुजुको दाहिनेतिर केहि पाइलाको दुरीमा छु, मेरी सुजु अगाडी फर्किएर एकतमासले हेरिरहेकि छिन् गुलाबको फुललाई । म सोच्छु मेरी सुजुलाई अँगालोमा लिएर चुमुँ लगातार अनि लगातार  । मेरी सुजुलाई मेरो सम्पुर्ण मायाले नुहाईदिउँ, यतिखेरसम्म साँचेको माया एकैपटक खन्याउँ । मेरी सुजु, मेरी मनकी रानी, मेरो जिन्दगी, मेरो बाँच्ने आधार ....... । म त्यसबेला कुनै पनि नाटक गर्न सक्दीन, न त जिस्काउन न गीत नै गाउन  । मेरो धड्कन दौड्यो, हैन रहेछ सर्टको खल्तीको मोबाइलको भाईब्रेसन रहेछ । हेरेँ, सुजुको फोन । मेरै अगाडी सुजु कानमा फोन टाँसेर मलाई फोन गरिरहेकी थिईन् ।

                               फोन उठाएँ मैले तर छेलिएर ।

                                “राज, प्लीज आज नतड्पाउन । मसँग आज तिमीलाई कुर्ने सामथ्र्य छैन के । म ब्यग्र छु, थोरै ढिलो ग¥यौ भने म त मर्छु बरु ।” – उस्ले अनुनय पुर्वक भनेकि थिई ।

                                “म तिम्रै अगाडी छु सुजु । केहि पाईलाको दुरिमा........।” – म यति बोलेर उस्को अगाडी आएँ । उनी उठेर मलाई हेर्दै थिईन । केहि पाईलाको दुरि थियो हाम्रो भेट हाम्रो मिलनको लागी.... सिर्फ केहि पाईला । म बिस्तारै पाईला चाल्दै उनको अगाडी आएँ उनी मलाई नै एकटक हेर्दै थिइन् ।

                                जब उनको अनुहारमा आखाँ जुध्यो, मेरो पाईला अर्कै तर्फ मोडियो मेरो हात लल्याकलुलुक भएर मेरो मोबाइल त्यहीँ खस्यो । म उनी भएको ठाउँ कटेर लगातार अगाडी बढेँ उनी बोलाउँदै थिईन । मलाई सपना जस्तो लागीरहेको थियो आवाजहरु पनि ....।
                                 म सरासर बाटोमा निस्कीएँ । शहरलाई साँझले छाँद हाल्ने कोशीस गर्दै थियो भने असंख्य बत्तीहरु शहरलाई साँझको छाँदबाट निकाल्ने प्रयास गरिरहेका थिए । म र मेरो मोटरसाईकल लगातार रीङ्गरोडबाट अगाडी बढ्दै थियौँ  बढ्दै थियौँ ....................।।
                            क्रमशः..........................................             

No comments:

Post a Comment

Thank You very much. Raj