Sunday, September 25, 2011

प्रेमको अवसान

                           आज चौथो दिनको साँझ, हप्ता दिनको परिक्षा । ओहो मात्र तिन दिन बाँकी, अनी त ।
                                                  “तिमी बिनाको जिबन सोच्न पनि म सक्दिन................. ।”– अकस्मात, फोन बज्यो उनकै लागी राखेको टोन सहित, म खुशीले रमाएँ । फोन उनकै थियो । मेरी उनी सिर्फ मेरी । मोबाईलमै एक चुम्मा जडिदीएँ । मुटुको ढुकढुकी सम्हाल्दै मोबाईलमा बोलेँ –“हे.... हेल्लो ।”



                                                “हेलो राज, म बोलेको म प्रेम ........।” – आवाज मेरो साथीको । म अनपेक्षित रुपमा बजारिएँ ।

                                                “अँ, भन यार । अनि उन्को मोबाईल कसरी...............।”– मेरो आवाज पुरा हुनै पाएन ।

                                                 “यार हामी नगरकोटमा छौँ, आज यतै बस्छौँ । केटी चालु रैछे । तर मलाई अप्ठ्यारो लागीराछ यार,  तेरो निस्वार्थ माया र प्रेम ......? । तँ भन्छस् भने अहिल्यै केहि निहुँ पारेर त्यसैको घरमा लगेर छोडिदिन्छु । भन म के गरुँ ?” – उस्ले केहि सहानुभुति राख्यो म माथि ।     

                                                 हो म उनलाई माया गर्न लागेको थिएँ । साँच्चै, ५ बर्षको समय लामो हुन्छ, निकै लामो । बितेका ५ बर्षका धेरै घटना सम्झीन्छु म अनी उनी सम्मीलीत । उनले मलाई मन पराउँथिन, बेहिसाब ।  मेरो नजरमा पर्न, अनि मेरो सामु आउन उनले गरेको अथक प्रयासको परिणाम मैले जतिसुकै आँखा चिम्लीएँ पनि अबका दिनमा मेरा आखाँभरि उनीनै छाउन लागेकी थिईन् । उनको निस्वार्थ र कोमल मायाको अघिल्तीर जतिसुकै कठोर मन बनाए पनि एकदिन पग्लीनु थियो पग्लेँ म, छताछुल्ल  ।

                                                मनभरि उनकै चाहना अनि मुटुभरि माया बोकेर पनि म उनलाई राम्ररी हेर्ने आँट पनि गर्न सक्दैनथेँ । हो, म कमजोर थिएँ । उनीसँग छुटेपछि छाल जस्तो मनभरि उठ्ने निराशा अनि त्यससँगै पलाउने फेरि भेट्ने आशा यस्तै थिए मेरा दिनहरु, मेरा पलहरु । एकान्त रातसँगै कल्पनामा अनि निँदसँगै सपनामा उनलाई भेट्नु मेरो दिनचर्या थियो । कल्पनामा उनको साथ पाएर म गगन चुम्दथेँ उनीसगैँ झुम्दथेँ । बिपनीमा उनको सामु बोली मन्द हुन्थ्यो, सास बन्द हुन्थ्यो ।

                                            अनेकौँ प्रयासको बाबजुद पनि मैले मेरा मनमा पलाएका मायाका फुलहरु उनको सामुन्ने देखाउन सकिँन । न त केहि भन्न नै । सहारा लिनु थियो कसैको लिएँ, मेरो साथी प्रेम । नामै अनुसारको काम भनेझैँ थियो मेरो साथी, माया प्रेम उस्को लागी खेल थियो समय बिताउने, अनि मन बहकाउने । अचम्म उसैको अघिपछी कति मायाप्रेमका भोका थिए, सबैको भोक शान्त पार्न तम्सीन्थ्यो उ । सफल रहन्थ्यो अनि अचम्म सधैँ खुशी रहन्थ्यो ।

                                           उसैको अर्थात प्रेमकै मध्यस्थतामा भेटियौँ हामी । मेरा झुकेका नजर, रोकिएको बोली अनि कामेको शरीर । चुपचाप म, उ बोल्दै गयो सँगसँगै उनी । मेरो आजलाई केहि नभन्ने चुप भन्ने ईशारासँगै छुटियौँ हामी र उनी । मेरो मन, माया र अवस्था बुझ्दा बुझ्दै प्रेमले आरोप लगायो उनीमाथि – चालु । सहन सकेन घायल मनले, टुटेको शिशा जस्तै बजारियो प्रेममाथि । हप्ता दिनको समय माग्यो उस्ले । मेरो माया, मेरो भावना अनि मेरो प्रेमको परिक्षा जम्मा हप्ता दिन स्वीकारेँ । मलाई बिश्वास थियो ममा, बितेका ५ बर्षमा अनि मेरी उनीमा ।

                                              तर–तर आज .......?? आँखा भरिएर आए, मुटु फुट्नै लाग्यो, मुख र घाँटी सुकिसकेको थियो । जबरजस्ती कतै नेपथ्य झैँ लाग्ने आवाज निस्क्यो– “मलाई मेरो माया चाँहिदैन, मलाई चाहिदैँन ।” फोन काटिईसकेको थियो सँगसँगै मन पनि..................... ।              

                                                                     समाप्त             

No comments:

Post a Comment

Thank You very much. Raj