Friday, June 24, 2011

कथा: जस्तो रोप्यो त्यस्तै फल्छ

(  यहाँहरुको प्रतिक्रीया, सुझाव र सल्लाहको आशामा)

                                                      by Raju Dahal on शुक्रबार , जुन 24, 2011 तारिख 12:33बिहान बजे

                                     आईतबार आँगनमा मात्रै टेकेको आईतमायाको बाख्राको पाठोले अधिँयाको आधा भन्दा बढि अलैँची खायो भनेर नचाहिने निहुँ झिकेर कल गरि दुई चार सय हात पारी ।

                                   सोमबार सोभीतेकी स्वास्नीलाई सोभीते त सोमबारे बजार तिर सुराको सुरमा सुसेली हाल्दै सोममायासँग  हिँडेको भन्ने नभएको कुरो लगाएर दुईको झगडा पारी ।

                                   मंगलबार मंगलेको छोरो र मकुन्देको छोरी मकर मेलामा मस्केर म्वाँई खाँदै गरेको हल्ला फिँजाएर मख्ख परि ।

                                     बुधबार बुधेकी बिधुवा स्वास्नीले रातको बार बजे बिर खेलाउँछे भन्दै बुकुने बिरामी भएको दोष लाएर बिहान बिहानै गाँउ बाहिर गरि  ।
                                        परि, नाम त सारै राम्रो र मिठो राखिदिएका थिए बाबुआमाहरुले, मान्छे पनि नाम भन्दा कम त कहाँ हो र ? तर सत्बुद्धि दिने बेला भगवान पनि के पो हेरेर बसे कुन्नि ? गाँउमा झगडा पार्नु, नचाहिने कुरा गर्नु, अरुलाई जुझाउनु बझाउनु उस्का प्रिय काम थिए । कुनै दिन यस्तै अरुलाई सताउने काम गर्न नसके भोक, निद्रा, तीर्खा सबै हराउँथे उस्का ।
                                           एकदिन कुरा हो, उस्ले आफ्नो स्वभाव अनुरुप केहि पनि बिगार गर्न सकिन । गाँउलेहरु पनि उ र उस्को बानी बुझ्न थालीसकेका थिए । उ दिक्क मानेर गाँउबाट नजिकको सहरको छेउको नदिको तिरमा गएर बसी ।
                                                अकस्मात नदिमा कोही बच्चा डुबेको देखेर चिच्याई । सबै मान्छे जम्मा भए, रमितेको के कमि हुन्थ्यो अनि हामी नेपालीलाई कहिले के पो बित्थ्यो र ? खोलाको दुवै किनारमा रमितेको भिड लाग्यो, पुलमाथि मोटरसाईकल, गाडी र साईकल रोकेर हेर्ने को त्यस्तै भिड भयो । भिड थपिईरहेको थियो । भएको के भन्दै एकले अर्कोलाई सोध्थ्यो अर्कोले अर्कोलाई । भिडले गर्दा सडकमा गाडीहरुले बाटो नपाएर टाँई टाँई र टुँई टुँई हर्न बजाउँदा माहोलता झनै भयंकर प्रतित हुन्थ्यो ।
                                                 वास्तवमा के भएको थियो कसैलाई पनि थाहा थिएन । बिभीन्न अड्लबाजी र अफवाह फैलिए भिडमा । “एस. एल. सी. मा फेल भएर कसैले आत्महत्या गरेको होला”–एउटाले सम्भावना जतायो । शायद काभ्रेतिरका दुई किशोरीहरुले एस. एल. सी. को परिक्षामा असफल भएपछिको बिष सेवन गरेको घटना सम्झीरहेको थियो क्यारे ।

 “के भयो दाई ?” –हरेक नवरमितेहरुको दोहोरिरहने प्रश्न थियो ।

“एउटा बच्चा डुब्यो रे ।” –अड्कलबाजीमा जवाफ फर्काउँथे केहि पुराना रमिते ।

“यहिँ डुबेको कि बगाएर ल्याएको ?” – कतिपय असन्तुष्ट नवरमितेको जिज्ञाशा बढ्दै जान्थ्यो ।

“खै” – दिनसक्ने जवाफ नभए पछि एकै अक्षरको यो जवाफ निकै प्रयोग हुँदै थियो भिडमा ।

“कस्को बच्चा होला कठै ।”(  केहि आमाहरुको कठै सुनियो ।

“कतैबाट बगाएर ल्याएको हो कि ?” – शंकालु मनका केहि प्रश्नहरु ।

“कस्ले देखेको रे ?” धेरैको जवाफ रहित जिज्ञासा ।

“ह्या ! नचाहिने कुरो डुबेको भए त केहि न केहि संकेत भईहाल्छ नि ।” – कसैको बिश्वास बोल्यो ।

                                                          वास्तबमा भएको के थियो कसैलाई थाहा भएन । तर बढ्दो रमितेको भिड नाक बन्द गर्दै पुलको तल खोला हेर्दै थियो । यस्तोमा पनि भिड देखि बेमतलब एउटा मान्छे पुलमुनि आनन्दले मस्त सुतिरहेको थियो लाग्थ्यो त्यती ठुलो घटनासँग उसलाई कुनै मतलब छैन, मानौँ त्यत्रो हल्ला उस्ले सुनिरहेकै छैन । बरु उसैसँग सुतेको कुकुर उठेर चनाखो भएर यता उता हेर्दै थियो । शायद यतिबेला उ भन्दा सुखि मान्छे कोही थिएन होला । हुन पनि मान्छेले जति जान्यो, जति संसारको चासो राख्यो त्यती नै दुखि हुन्छ । अमेरिकामा रक्षा बजेट बढोस, जापानमा भुईँचालो आवोस, चिलीको एयरपोर्ट बन्द होस वा ईराकमा आक्रमण होस चासो नराख्ने मान्छेलाई के को चिन्ता र ? तर हामी धेरैलाई सबैको चासो छ र चिन्ता पनि ।

                                               एकैछिनमा दुई जवान ट्राफिक प्रहरी आईपुगे । त्यो भिडमा उनीहरुले गर्न सक्ने केहि थिएन । चुपचाप रमितेको टोलीमा सामेल भए । केहि क्षणमा प्रहरीहरु आईपुगेर भिडमा सोध्न थाले । भिडलाई नै थाहा थिएन बच्चा डुबेको देख्ने को हो भनेर ? पुलिस जवानहरु खोलाको छेउ छाउ गएर अनुसन्धान गर्न थाले ।

                                    अकस्मात सबैको नजर बग्दै आएको कपाल जस्तो देखिने बस्तुमा प¥यो । भिडमा रमितेहरुको खैलाबैला मच्चियो एउटा प्रहरी फालहानेर तान्दा साँच्चै एउटा बच्चाको लास थियो । भिड दुखि भयो र दुखिहरुको संख्या बढ्दै गयो ।

                              परिलाई अचम्म लाग्यो, यो कसरी साँचो हुन सक्छ र ? हुन पनि उस्ले त नचाहिने कुरा गरेको थिई । वास्तवमा त्यहाँ केहि भएको थिएन । उस्को अनुहारमा एउटा चहक आयो, बोलेको पुगेकोमा मख्ख पर्दै प्रहरी र भिडको भित्र गएर भनि “देख्नु भो त मैले भनेको हो कि हो............।” उस्को बोली बिचैमा रोकियो हातको रुमालले त्यो हिलाम्मे बच्चाको मुख सफा गरी र दुवै हातले बच्चा काखमा लिदैँ रुन थाली । “बाबु मेरो बाबु.............. ।” भिड र रमिता दुवै स्तब्ध भयो ।

                                   उस्लाई के थाहा र ? आज आफ्नै बच्चाको हत्या गरेको कुरा, उसैले आफ्नो रमाईलोको लागी जम्मा गरेको भिड र सडक जामले बिद्यालयको बस चल्न नसकेर हिड्दै घर जाँदा देखिएको भिडमा मिसीन आउँदा धकेलाईमा परेर खोलामा खसेको कुरा । केहि माथि अर्को हल्ला थियो एउटा स्कुले बच्चा खोलामा खस्यो भन्ने । केहि मान्छे खोलामा पसेर खोज्दै थिए धेरै रमिता हेर्दै ............................................।।

                                                                      समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj