Saturday, October 8, 2011

*******फूलपातीको असर*******

    ‍                                                                       ‘‘के के तयारी गरिस् त हौ साइला ?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौँतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक विल्कुलै स्वस्थ्य सर्त थियो । जो हार्छ ऊ लुकामारीको डुम हुनु पर्ने ।
त्यसमा छोरीको हर्षित मुहार देख्नु बाहेक मेरो कुनै स्वार्थ थिएन । बरु, चिया चोकमा पाङ्दुरे गफ छाट्न भने ढिला हुने गथ्र्यो । यद्धपि, सन्तानको खुशी खातिर भए पनि त्यो धेरै दिन अघिदेखि दोहोरिदै आइरहेको दैनिकी थियो । सत्तमीको दिन थियो । त्यो पनि बडादशैंको । ठ्याक्कै एकसाल पहिलेको । हर्षोल्लासको पारो निरन्तर चढिरहेको थियो । चारैतिर वालसुलभको उपस्थिति देखिन्थ्यो । वसन्तका मन्जरी जस्ता उनीहरु घर आँगन, बाटा, पसल, पिंगहरुमा फक्रिरहेका थिए । 

                                                         छोरीको खुशी निमित्त अनेकौंपटक हार्दा पूर्ण जीतको अनुभूति हुन्थ्यो । जानाजान हारिदिन मजा लाग्थ्यो । तर मलाई हतारो परेको दिन या कामको चटारो थपिएको वेलामा छोरीको जीत सुनिश्चित थिएन । फूलपातीको तयारीमा मलाई समयको चापाचाप महशुस भइरहेको थियो । मैले स्वभाविक जित्नु पथ्र्यो । तर, मामु यानेकी स्नेही श्रीमतीको छलको कारण परिणाम मेरो पक्षमा परेन । छोरीले बाजी जितेकी थिइन् । हल्ला गर्न नमिल्ने, बोलाउदा नबोल्ने । खेलको अनुसासन पालना गर्नै पथ्र्यो । छोरी तलासीमा केन्द्रित मेरो ध्यान अन्तरे काकाले चौपट बनाइदिएका थिए । 

                                                     अन्तरे काका त्यस दिनका विशेष आगन्तुक । उनलाई वेवास्ता गर्नु आफ्नै घुँडामा बन्चरो हान्नु बराबर हुन्थ्यो । फाटेको कमिज, टालेको कालो हापिन, खुइलिएर बेरंग हुन लागेको थोत्रो ढाका टोपी । लाग्थ्यो, उनी दशैंको बिपक्षमा निस्किएका योग्य विरोधकर्ता हुन् । नखौरिएका दाह्री, दीप्तीहीन चेहरा, उदास नयन । सबैका घरभित्र छिरिसकेको दशैंको धज्जी उडाइरहेका प्रतित हुन्थ्यो । बिचरा, बोहनी गरेर मुस्किलले हातमुख जोर्दै आएका उनको यथार्थताप्रति दया जागेर आयो । उनको निन्याउरो मुहार नियाल्दै मैले भने-
            ‘‘के को तयारी गर्नु नि काका? मेलोमेसो केही थाहा छैन । त्यसैले तपाईलाई कुरिरहेको नि ।"
           ‘‘धेत तेरिका, त्यत्तिकै बुढो हुन लाग्नु भो तपाईँ पनि । एसो चूलो सुलो बनाएर पानी तताउँदै गर्दा त हुने थियो नि ।"  उनको बोलीमा हैरानीमात्र थिएन, अभिभावकत्व पनि थियो । उनी हत्तारिए । कस्तो अचम्म, मेरो काम गर्न उनलाई हतारो, मलाई वेवास्ता । आफ्नो अदुरदर्शिताप्रति आफैंलाई लज्जावोध भयो । 

                                                       उम्लिरहेको पानीमा एक मुठ्ठी कलकलाउँदो दूबो ओइराइदिए काकाले । जसरी दशैं नामक चाढमा मनुष्य खुशी पार्न करोडौं पशुपंक्षीले ज्यान आहुति दिनु परेको छ उसरी नै उम्लिरहेको पानीमा दूबोलाई अनाहाकमा तातो पानीभित्र चोबलेर किन सती जान बाध्य पारिन्छ? म जान्न चाहन्थें । मैले मुख फोर्न नपाई धनबहादुरको आवाजले ठाउँ ढाकिहाल्यो-
                                                       ‘‘के के हुँदैछ त यहाँ? यो मुला दशैं नआए पनि हुने । हुनेलाई मात्र रहेछ । नहुनेलाई त दशैदशामात्र । अभागी खप्पर जता गयो उतै ठक्कर ।" उनको बोलीमा नैरास्यताका खात थिए । दयनिय भोगाइले सिकाएको पाठ थियो । बहुसंख्यक गरीबीको प्रतिनिधि गन्ध । नाममात्र धनबहादुर, आर्थिक अवस्था भने सधैं जीर्ण । उनीसितै आएकी उनकी ६ बर्षिया छोरीको आवरणले नै उनको गरीबी झल्काइ रहेको थियो । नांगा पाउ, बेस्याहार केश । छिद्रछिद्र जामाले भित्री अंगहरु छेक्न सकिरहेको थिएन । जामाको साथी दोश्रो कपडा थिएन शरीरमा ।

                                                              धनबहादुरको आगमनले मलाई फुर्सद मिल्यो । उनीहरु दुवैलाई मैले विशेष निमन्त्रणा गरेको थिएँ । आफ्नो स्वार्थ पुर्तिकोलागि । टाटनाको घोर्ले खसीको गुदी-लादी भिन्न भिन्न पारी कराइमा हाल्न योग्य बनाउनको निम्ति । महा सत्तमी भब्यताकासाथ मनाउनकालागि । 
‘‘काका, मेरो थोरै काम छ । म लागें है एकछिन । सबै काम आफ्नै आइडियाले गर्नूहोला‘‘ म जुरुक्क उठें ।
     ‘‘के गर्छौ अन्तरे दाइ! साइलाको बाजेले जस्तै सम्पति छोड्न सकेनन् हाम्रा बाजेले । नत्र त यसरी नै तिम्रा हाम्रा घरमा पनि खसी ढल्थे होला नि । कसैलाई दशैं भन्छन् तिमीहामीलाई दशा । के गर्नु, छोराछोरीको मुख हेर्यो मन मान्दैन । यसपाली पनि ठाइला महाजनसँग तीन हजार ऋण काडेर लुगा हालिदिएँ ।‘‘ धनबहादुरका निर्धन हुनुको पीडा असरल्ल छरिए । उनको खासखुसको ध्येय मेरा कान सम्म नपरुन भन्ने थियो तर मेरा कानका जाली सम्म स्पष्टै ठोकिन आइपुग्यो । हुन पनि हो, लाखौँ साहुलाई वर्खाका लागि सस्ता हली दिलाएको थियो दशैंले, धनबहादुर जस्ता । अनि धेरैलाई धेरैका कमारा-कमारी ।
                                                               मन खिन्न भयो । धनबहादुर दाइको बोली लिसो झैं टास्सियो मगजमा । कोजाग्रात पूर्णिमामा रातभर अनिदो बसेर सारा रुपैँया हारेको जुवाडेको हाल भयो सत्तमीको रौनक । वेलगाम घोडा झैं दिमाग दौडन थाल्यो ।
                                                               भनिन्छ, ‘हुनेलाई दशैं, नहुनेलाई दशा' भुक्तभोगीहरुको बिरक्तिलो अभिव्यक्ति । अझ भनौं जिन्दगीप्रति नै नैरास्यता उत्पन्न भएकाहरुले यदाकदा चित्त बुझाउने मेलो । उक्त उक्ति बुझ्न या बोल्न जो कोहीले सक्दैन । अनुभवको ठूलै चांग हुनु पर्छ । अनेकौ वसन्तका भोटाहरु फटाइसकेको हुनु पर्छ । चाडबाड, अझ भनौं हिन्दुहरुको महान चाडका वेलामा निक्कै प्रचलित र बारम्बार दोहोरिने यो भनाइ कुनै वच्चावच्चीको मुखबाट उच्चारण हुनै सक्दैन । सुगालाई रटाएर ‘गोपी कृष्ण‘ भनाए जस्तो सजिलो अवस्य हुदैन । वालसुलभ तोते बोलीले ज्यान गए बोल्न सक्दैन । यो उनीहरुको उमंग विपरितमात्र होइन, खुशीको सरासर हत्या हो । कुनै पनि सजिव जानाजान आफ्नो हर्षको गला दाब्न चाहँदैन । मानिस त अझ विवेकशिल, सर्वश्रेष्ठ प्राणी । कसरी सकोस्?, यो मानविय भूल हो या अन्तरनीहित गुण? चाहे अरुको अस्तित्व मेट्न किन नपरोस्, आफ्नो खुशीमा धक्का लाग्नु भएन । स्वार्थ मर्नु हुँदैन । सर्वश्रेष्ठताको अमिट परिचय । त्यसैले होला, धनबहादुरलाई दशैंले सोचमग्न बनाए पनि उनकी छोरी खसीको कान पोलीखाने आशमा मजाले हाँसिरहेकी थिई । दशैंमा राम्रा लाउने र मीठो खाने उमंग स्पष्ट झल्किन्थ्यो उसको वाल मुहारमा ।
                                                           मेरो सोचाइमाथि एकाएक आक्रमण भयो । आक्रमणकारी अरु कोही नभएर मेरो व्यग्र खोजाइको बस्तु यानेकी आफ्नै छोरी सफलता थिइन् ।
‘‘बाबा!"- उनले मात्र सम्बोधन गरिन् । लुकामारी खेल नियम बमोजिम ‘बाबा झाप्पा' भनिनु पर्ने थियो । त्यसो नभएकोमा म आश्चर्यमा परें । 
‘छोरी आसपास' - नियमपूर्वक जीत हाँसिल गरेको जानकारी दिएँ मैले । 
‘‘ला...." - उनको लेघ्रो तनाइमा खेल पूर्णतः बिर्सिएको जनाउ पाइन्थ्यो ।
‘‘बाबा, म चाहीँ के काट्नु ?" - हातमा सानो कर्द थियो । उनको तोते बोली अजंगको हाउगुजी जस्तो लाग्यो मलाई । मलाई तर्साउन बनावटी बोली बोले जस्तो लाग्यो । तर, उनको आँखामा बेग्लै चमक थियो, खोजाइमा तिब्रता । मलाई वेवास्ता गर्दै काला, चम्किला आँखा पर-पर हुत्याउन थालिन् ।
‘‘नानु ! तिम्रो बेलन फुट्यो भनेको होइन, हिड जाउँ दोकान । म तिमीलाई सबैथोक किनिदिन्छु । ललिपप, चोकोफन सबै ।" - कसै गरी छोरीलाई मारकाट देख्नबाट टाढा राख्नु थियो मैले, ताकि वाल दिमागमा नकरात्मक असर नपरोस् । कस्तो विरोधाभास, आफ्नै घरमा हिंसा गर्ने अनि घरका सदस्यबाट भने छुपाउन खोज्ने । मैले भएभरको लोभ देखाएर घरबाट बाहिर निकाल्न चाहें । छोरीलाई पसलले आकर्षण गर्न सकिरहेको थिएन । केको छाप पर्यो कुन्नी, मेरो हत्केलाको बन्धन तोडेर भाग्ने असफल चेष्टा गरिरहेकी थिइन् । मेरा सबै फकाउने कोसिस असफल भए । उनले कुखुराको चल्लामाथि जसरी मार हान्ने अडान व्यक्त गरिन् । आजै अहिल्यै । म तीन छक्क परें । वाल दिमाग कहाँबाट सञ्चालित छ?, बुझ्नको लागि आन्तरिक सवाल आफ्सेआफ बाहिरिए- 
‘‘नानू! तिमीलाई कसले भन्यो आजै काट्नु पर्छ भनेर?"
‘‘आमा (हजूरआमा) ले ।"
‘‘नानू! के के भन्नु भयो आमाले ?"
‘‘अनि नि बाबा ! आज खसी, बोका, कुखुरा, भैँसी काटेर भगवानलाई चढाउनु पर्छ रे । अनि नि आज जसलाई काटे पनि पाप लाग्दैन अरे । आमाले त खसी कुखुरा नपाएर घिरौला काट्नु भयो, माथि पूजा कोठामा । अनि नि बाबा ! आज जनावरको रगत चढायो भने काली देवता खुशी हुन्छन् रे अनि हामीलाई जे माग्यो त्यही दिन्छन् रे हो ? अनि नि बाबा ! म पनि चल्ला काटेर देवतालाई डाक्टर बनाइदिनुस् भन्छु ल ।" - छोरीले कुरा सक्दा नसक्दा आमाको बेहोसियारीप्रति झ्वाँक चल्न गयो । आमाकोमात्र के भन्नु र ? अन्धविस्वास अँगाल्दा नै आफूलाई समाजमा इमान्दार, धार्मिक र उच्च व्यक्तित्व सावित गर्न उद्धतहरुमा व्याप्त गलत अवधारणा । जसलाई आदर्श मानेर कलिला वाल वालिकाले केही अनुसरण गर्ने चेष्टा गर्छन् उनीहरुमै यस्तो धारणा भनौं व्यवहार रहेपछि उनीहरुले के सिकुन् र ? सौताको रिस पोइको काखमा फोहोर गरेर पोखे झैं आमामाथिको रिस समाजप्रति पोखेर मन शान्त पार्ने कोसिस गरें । यद्धपि मन बुझ्न सकेन ।
‘‘नानू! आमाले भनेको ठीक होइन । आमाले पढ्नु भएको छैन अनि जान्नु हुन्न । मेरो छोरीलाई त कति धेरै पढ्न आउँछ, सबै कुरा जानेको छ । पढ्न लेख्न जान्नेले पनि अरुलाई काट्नु हुन्छ त ? अनि नि, अरुलाई काट्दा दुख्छ । दुखेपछि रुन्छ । अनि भगवान रिसाउँछन् । काट्दा त पाप पो लाग्छ त ।" - प्रत्यक्ष घिरौलामाथि मार हानेको देखेकी उनले मेरो कुरामा खासै ध्यान दिन मानिनन् । मेरो वाहु बन्धन छुटाउन छट्पटाउन लागिन् । जसरी नि सानो चल्लोमाथि मार हानेर देवतालाई चढाउने अनि डाक्टर बन्ने उनको धृष्टता हटेन । हाँसो उठ्यो । हाँस्नु को माथि ? छोरीको वालापनमाथि, आमाको शिक्षणमाथि वा समाजको दर्शनमाथि? हाँसिरहन सकिनँ ।
                                                              मैले उनको स्वतन्त्रतामाथि बल प्रयोग गर्नु पर्यो । उनको चल्लो काट्ने योजनामाथि हस्तक्षेप गर्नु पर्यो । चक्कु खोसिएकोमा उनका आँखा पिलपिलाउँदा बने । त्यही चक्कुले पोहोर औंला काटेको सम्झना दिलाएँ । खासै प्रभाव पारेन । आमालाई बेहोसियारीप्रति सजग गराएँ । आफूले आस्था राख्ने देवी देवता नै हिंसाप्रिय भएपछि, आलो तातो खूनको भोको भएपछि आमासँग रिसाउनु व्यर्थ थियो । रिसाए झैं गरिन पनि । आफू पनि पानीमाथिको ओभानो कहाँ थिएँ र ? चारवर्ष दाना ख्वाएर पालेको खोरको खसी आफैंले छिनाउने हुकुम दिएको थिएँ ।
                                                                मार हान्ने समय भइसकेको थियो । गलबद्धि गरिरहनु उचित थिएन । घर पछाडीको चोरीबाटो हुँदै दोकान तर्फ लाग्यौं बाबु-छोरी । छोरी मेरो छातीमा टाँस्सिरहेकी थिइन् । उनको वाल दिमागको छाप हटाउनु थियो । मैले भने-
‘नानू! तिमीलाई गौतम बुद्ध थाहा छ ?' - दायाँ बायाँ मुन्टो हल्लाइन् । बुद्धको प्रसंग जोडेर अहिंसाको पाठ सिकाउने मेरो कोसिस तुहिएको अनुभूति भयो ।
‘लर्ड बुद्ध नि ?' - यो पाला तलमाथि टाउको हल्लियो । चिनेको संकेतमा । आफ्नो देशका गहनालाई आफ्नो भाषामा भन्दा अरु नै भाषामा चिनाइने शैक्षिक प्रणाली पनि गज्जबकै लाग्यो । हुन त प्रवृतीको विकास सँगै ब्रम्हाण्ड खुम्चिएर साँघुरो भइरहेको परिवेशमा अन्तराष्ट्रीय मापदण्डको व्यवहारिक शिक्षा नभए पनि कमसेकम भाषाको विकासलाई प्रगति नै मान्नु पर्छ । ममा हर्ष न विस्मातको अवस्था श्रृजना भयो । मैले, बुझे पनि नबुझे पनि भन्न खोज्दै थिएँ, अहिंसाकै दर्शन बाडेर एक नेपाली पुत्र, गौतम बुद्ध भगवान भएका हुन् । भन्नलाई मुख मात्र के उघारेको थिएँ, छोरी नै पहिलो भइहालिन्-
                      ‘‘अनि नि बाबा! आमाले किन घिरौला च्वाट्टै काट्नु भको ?"

                       "आमाले पढ्नु भएको छैन नि त । त्यही भएर, नजानेर ।"
                      ‘‘अनि नि हिजो सदिक्षाको बाबाले किन खसी काट्नु भको ?"
                       "को सदिक्षाको बाबा ?"
                       ‘‘अनि के त, हाम्रो सोसल टिचर" - म अवाक भएँ ।
                    ‘‘अनि नि बाबा! यो के रोएको? अनि किन रोएको?‘‘ गुमाने काकाको घरबाट चिच्याइरहेको सुँगुरको पाठोतिर इंकित थियो उनको सवाल । म उनलाई त्यो देखाउन चाहन्न थिएँ । मूलबाटो छोडेर हिडें । जुन घरको आड लागेर म गुमाने काकाको घरको दृष्य छल्न खोजिरहेको थिएँ, त्यहाँ एक बुढी सुँगुरनी तयार रहिछे । यमदूत स-सस्त्र तयार थिए । हतारमा दगुरें । घरमात्र के काटेको थिएँ बुढी सुँगुरनीको पीडादायी चित्कारले कानको जाली नै च्यातुँला जसो गर्यो । पुनः छोरीका अनेक अनुत्तरित सवालका सामना गर्नु पर्यो मैले । स्याल कराए तरिकाले सँगुरका पाठा चिच्याइले गाउँ फेरो मार्यो । एकपछि अर्को गर्दै । वाल जिज्ञासा उसरी नै चुल्लिए । मेरो उत्तर एकै थियो- मौनता, बुझपचाइ अनि लाचारीपन ।
                                                      चोकमा पुगेर छोरीलाई रोजे जति सबै सामान किनिदिएर आरामको स्वास फेर्ने योजना थियो । सायद त्यो लोकलाई मान्य थिएन । दोकानकै प्राङ्गणमा सनिलाल कत्ती उज्याइरहेको थियो । कालो खसी ईमान्दारसाथ गर्दन थापिरहेको थियो । हत्तपत्त आफूलाई ३६० डिग्रीमा घुमाएँ । छोरीले मेरो उदेश्यको घोर विरोध गरिरहेकी थिइन्, दायाँ बायाँ मुन्टो तन्काएर । हेरें, उनको आँखामा चमक थियो, अधरमा मुस्कान । छिन्दै गरेको खसी देखेर कुनै डर थिएन ।
                  ‘‘बाबा! चिची लैजाउँ है‘‘ उनको वालसुलभताप्रति दया जागेर आयो । यद्धपि, आफ्नै घरमा खसी काटेको कुरा भन्न सकिन । आफ्नै ढोँगीपनले लोप्पा ख्वाए झैं लाग्यो ।
                                                           पसलको सामानले भन्दा खसी टुक्रा टुक्रा पारेको दृष्यले लोभ्याइरहेको थियो उनलाई । मासुको स्वादले निरन्तर उनको कलिलो जिब्रो  -याल निल्न बाध्य थियो । घरमै सहयोग नगरेर अनेक छलकासाथ भागिरहेको थिएँ । जेबाट दूर भएको त्यही दृष्यको बाध्यात्मक दर्शक बन्नु पर्दा मनमा पश्चाताप भयो । आफ्नो नाटकप्रति हाँसो उठ्यो । सोचें, हिंसाप्रेमी देवी देवता पुजिन्छन् भने वाल वालिकामा अहिंसात्मक शिक्षा दिनु असम्भव रहेछ । कसरी पो सम्भव होला र ? जन्तु वध गर्न नपाए, लौका घिरौला छिनाएरै काली खुशी पार्ने अभिष्टमा लाग्छन् ठूलाबडाहरु, जान्ने बुझ्ने भनाउँदाहरु भने । यद्धपि, वधशाला वालवालिकाको पहुँच बाहिर राख्न सके.... ।
                              ‘‘अनि नि बाबा! यिनीहरुलाई पनि काट्ने हो ?" - छोरीको मसिनो बोलीले मेरो सोचाइको लहरो चुँडाइदियो । हेरें, चारओटा जखमले खसी झुण्ड्याइएको केरा पातमा तँछाड मछाड गरिरहेका थिए । सायद, दिनभरको लागि पेट टम्म भर्न चाहन्थे । बिचरा पालो आइसकेको थाहै थिएन ।
                         "होइन छोरी" - झूटको सहारा लिन बाध्य थियो, लाचार थियो मेरो बाबु मन । चीलले चल्ला टिपे पाराले टपक्क छोरी काधमा उठाएँ अनि वाल सवाल ग्रहण गर्दै बाटो तताएँ । छोरीको सवाल, मेरो ढाकछोप चलिनै रहेको थियो...................शायद चलिरहनेछ निरन्तर । तर कहिलेसम्म...........।
                                                                          समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj